नाटक ‘लाटीको छोरो’ आवाजविहीनको यथार्थपरक कथा

काठमाडौँ, २९ भदौ – समाजमा अहिले पनि आवाजविहीनहरुको जीवन सुरक्षित छैन । समाजमा न्यायको ठेक्का लिएका नेता, शिक्षित, हुनेखाने र धर्मको मर्म बेचेर खाने अधर्मीको कमी छैन ।

विकास, उन्नति र सुन्दर भविष्यको सपना बाँडेर समाजका गाडी हाँक्नेले समाजको बाटोमा हिँडिरहेका आवाज र श्रवण खोसिएकालाई कसरी ठक्कर दिएर घाइते बनाइरहेका छन् भन्ने कसैले लेखाजोखा राखेको छैन । आखिर तिनीहरुलाई घाइते बनाइएकामा न्याय दिने फेरि तिनै समाजका ड्राइभर नै न्यायमूर्ति बन्छन् । जसले घाइतेलाई अझ गम्भीर बनाई समाजबाट बहिष्कार गरी आफैँलाई मात्र न्याय गरिरहेका हुन्छन् । आजसम्म कसले पो अन्याय गरेबापत् आफैँलाई दोषी भनी सजाय दिएको छ र ?

अझै पनि हाम्रो समाजमा बस्दै आएको डोम समुदाय, त्यहाँका गन्नेमान्ने ठरिएका व्यक्ति, अन्याय भएको देखेर पनि मुखमा आवाज ल्याउन नसक्नेहरुको अन्तर जस्ताकोतस्तै छ । त्यही समुदायकी आवाज गुमाएकी युवती ‘लाटी’ को कथा समेटेर मण्डला थिएटरमा चलिरहेको छ नाटक ‘लाटीको छोरो’ सुन्दरबजार जहाँ हरेक मानिसको बसोबास छ । पूर्वी तराईतिरको यो बस्तीमा नेता विषनाथ, शिक्षक रामप्रसाद शर्मा, असई प्रेमबहादुर थापा, हवल्दार बच्चु यादव, व्यापारी सीताराम अग्रवाल, पुनित, मिठालाल यादव, नाई अनि डोम समुदाय नाटकका प्रतिनिधि पात्र । त्यही बस्छे कथा कि नायिका लाटी ।

लाटी ऊ न सुन्न न बोल्न सक्छे । ऊ मानसिक अपांगता भएकी युवती हो । लाटी सुन्दर छे । प्लटु पढ्दै गरेको युवा पुनितको मन लाटीका लागि कारुणिक बन्छ । उसलाई समाजले बहिष्कार गरिएकीे पवित्रा भाउजूकहाँ राख्छ । पवित्रा भाउजू जो श्रीमान्को मृत्युपछि परिवारबाट बहित्कृत छिन् । पुनित गाउँकै ठूलो व्यापारी सीताराम अग्रवालको छोरो हो । उसले लाटीलाई केही भए व्यहोर्ने नैतिक जिम्मेवारी लिएको छ ।

दिनहरु बित्दै जाँदा पवित्रा भाउजूसँग बसिरहेकी लाटीले आफूभित्र अर्को संसार हुर्काइरहेछ । समाजका ती प्रभुत्व व्यक्तिहरुले त्यो संसारको जिम्मा लिए पनि सार्वजनिकरुपमा प्रतिष्ठा बचाइदिन नेता विषनाथ कहाँ पुगेर गुहार गर्छन् । आखिर लाटीको कोखमा हुर्किरहेको संसार कसको थियो । लाटीको आवाज त मनभित्रै मात्र छ ।

उसका आँखाले त भन्छन् यिनै व्यक्तिहरु हुन् जसले उसलाई अझ लाचार बनाएका थिए । तर उसले भन्न कहाँ सक्छे । सक्ने भए ऊ लाटी किन हुन्थी । सुन्दरबजारमा लाटीको कोखमा बढिरहेको मासुमको टुंगो लगाउन आज सुन्दर बजारमा पञ्चायत बसिरहेको छ । पञ्चायतका नाइके उनै विषनाथ हुन् । बजारमा हल्ला छ लाटीको बच्चा पुनितको हो । किनकि हरसमय पुनित हो उसलाई ख्याल गर्छ ।

नेपालमा अहिले पनि माथिल्लो पहुँच भएका वर्गले आफ्ना गल्ती निमुखा, पहुँचविहीनलाई आफ्ना कुकर्मको भारी बोकाइदिने गर्छन् । अहिले पनि समाजको न्यायको तिनै व्यक्तिका हातमा छ, तिनै व्यक्तिले अन्यायको जालो बनाएका छन् । यही विषय नाटक लाटीको छोरोमा छ । गाउँ पञ्चायतले लाटीको बढेको कोखको दोषी गाउँकै सुर्जा डोमलाई ठहराउँछ । सुर्जाले विरोध गर्छ । उसको विरोध, विलाप सुन्ने कोही छैन ।

पञ्जायतले फैसला सुनायो, लाटी र सुर्जाको बिहे गराउने, अनि गाउँबाट पवित्रा भाउजू, लाटीलाई परै राख्ने । लाटीको छोरोको लालनपालन र शिक्षादीक्षाका लागि तिनै पञ्चायतले रकम दिने निर्णय ग¥यो । लाटी गाउँ आएदेखि डोमलाई दोषी बनाउनेसम्मको षडयन्त्र गाउँकै नाईले देखेको हुन्छ । तर उसले लाटी र सुर्जालाई भएको अन्यायको विरोधमा आवाज निकाल्ने आँट गर्दैैन ।

नाटक निर्देशक सुलक्षण भारती भन्नुहुन्छ, “लाटीको छोरो नाटक एउटा उदाहरण हो, हाम्रो समाजमा हुने यस्ता धेरै अन्याय, अत्याचारबारे हामी किन बोल्दैनौँ, लाटी त बोल्न सक्दिन तर नाई बोल्न सक्ने भएर पनि आफ्नो आवाजलाई भित्रै किन दबाएको छ, आँखा अगाडि अन्याय हुँदा पनि हामी किन विरोध गर्दैनौँ भन्ने नै समग्रको नाटकको सार हो ।”

करिब डेढ घण्टा नाटक हेरिरहँदा हाम्रै समाजमा भइरहेको घटना हो भन्ने लाग्छ । किनकि अझै पनि श्रीमान्को मृत्यु भएमा त्यसको दोष बुहारीलाई दिएर अनेक लाञ्छना लगाएर घर निकाला गर्ने, महिला आफ्नै समाजका पुरुषसँग सुरक्षित छैनन् भन्ने तीतो सत्यलाई फेरि सम्झाउँछ ।

दश वर्षपछि आज लाटीको छोरो स्कुल जाने भइसकेको छ । गाउँमा धेरै परिवर्तन भएका छन् । तर समाजमा अझै यस्तै पात्र छन् । अन्यायको हातमा समाजको साँचो छ । न्यायका लागि निमुखाका आवाज ओठभित्रै दबेका छन् । आखिर कहिलेसम्म ? यही प्रश्नको बिनाउत्तर सकिएको छ नाटक ‘लाटीको छोरो ।’ समाज केहीले नेता, प्रहरी, शिक्षक, व्यापारी, पण्डित जे जस्तो पदवी धारण गरे पनि तिनै समाजको भित्री धमिराजस्तो भित्रभित्रै सिध्याएका छन् भन्ने निर्देशक भारतीले नाटकमा देखाउन खोजेका छन् ।

भदौ २० देखि असोज ८ गतेसम्म मण्डला थिएटरमा चलिरहेको यो नाटकबाटै ३६ वर्षपछि कलाकार टीका पहारी रंगमञ्चमा फर्किएका छन् । नेता विषनाथको भूमिका रहेका पहारीले लामो समयको अन्तरमा थिएटरमा आउँदा नयाँ पुस्तासँग काम गर्दा आनन्द र नयाँ अनुभूति भएको अनुभव सुनाउनुभयो । श्याम साहको कृति नाटक ‘लाटीको छोरो’ सफर पोखरेल, जिया लामा र अनिष न्यौपानेले निर्माण गर्नुभएको हो ।

नाटकमा लाटीको भूमिका केनिपा सिंह, पवित्रा भाउजू पशुपति राई, शिक्षक सन्देश लामिछाने, असई रियर राई, हवल्दार बच्चुप्रकाश दाहाल, पण्डित रोशन सुवेदी, व्यापारी राजन काफ्ले, पुनित सुदीप खतिवडा, मिठालाल यादव, नाई मिलन कार्की लाटीको छोरो अर्विन खड्का डोमिन्हरु अर्चना पन्थी र सपना कुमारी चौधरीको अभिनय रहेको छ ।

कल्पना पौडेल/रासस

प्रकाशित : बिहिबार, भदौ २९, २०७४१३:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मदन पुरस्कार’ कँडेल र ‘जगदम्बाश्री’ वात्सायनलाई