हो म पनि जनआन्दोलन पीडित हुं, एक सत्य घटनामा आधारित दर्दनाक घटना

[sharethis-inline-buttons]
Leaderboard Banner
लेखक – सोम शर्मा

म यो सत्य घटना यसकारणले लेख्दै छु कि हामीले कुनै पनि कुरा लुकाएर डराएर गुम्स्याउनुहुंदैन, यदि  कसैबाट अन्यायमा परेको छ भने त्यस्लाई कसैको डर नमानी हामी निर्धक्क भएर आफ्ना कुराहरु राख्न सक्नुपर्छ, यो घटना मेरै घरको हो, जुन बेला नेपालमा जनयुद्द चलेको थियो,  बागलुङ बजार नजिक रहेको गाउं रातामाटाको धबिमाबी स्कुल नजिकै घटेको घटना हो जहाँ त्यही स्कुलको एक क्वाटरमा हामीले आफ्नो घर बनाएर बसेका थियौं ।

मिती २०६० भाद्र ३१

भालेको डांकोसंगै पारी डांडामा पनि केहि घामको झुल्कोले बास बास्न थालेको थियो होला त्यो समय,हाम्री आमालाई बिहान बिहानै उठ्नै पर्ने बाध्यता नै थियो किनकी उनै थिइन हाम्रो सबै चार जना परिवारको उत्तरदायित्व, सायद हाम्रो घरमा कुनै छोरी मान्छे नभएकै कारणले पनि होला घरको चुलो चौकोको सबै जिम्मेवारी उन्कै कांधमा पर्थ्यो, त्यो दिन पनि आमा बिहानै उठेर घरमा लिपपोत गर्दै हुनुहुन्थ्यो हामी दुइ भाइ र बाबा पनि एकै कोठामा थियौं, निद्राले छोड्ने बेला अझै भएको थिएन्,त्यसैले हामी सबै सुतिरहेका थियौं,आमाले घर बढारेको सर्याक सुरुक आबाजले केहि निद्रा भंग त भएकै थियो, हामी सुत्ने कोठा अर्कै कोठा थियो र हाम्रो सानो पसल पनि थियो त्यो कोठा चाही अर्को कोठामा थियो, त्यसैले पनि खासै आवाज त आउंदैनाथ्यो तैपनी केहि न केहि भएपनी डिस्टर्ब त हुन्थ्यो नै । पसलतिरको रुम सफा गरेर ममी धारामा पानी लिन जाने बेला हुन्छ हामिलाई बोलाउंदै “ल म पानी लिन गएं है उता पसलतिर पनि हेर्नु है” भन्दै जानुभयो, ल ल भन्दै हामी चाहिं सुत्नमै मस्त रहेउं, ममी केहि कपडा धुन भन्दै बांटामा केहि कपडा र पानी लिनको लागी गाग्री लिएर धारातिर लाग्नुभयो धारा केहि तल थियो, हामी सदाझैं सुतिरहेका थियौं, केहिबेरमा ममी हस्याङ र फस्याङ गर्दै धाराबाट गागृभरी पानी लिएर त फर्किभयो तर उहांको अनुहारमा त्यो दिन एकदम डर र त्रासको भाब स्पस्ट छचल्किएको थियो,ममिले गागृलाई उस्को ठाउंमा राखेर हामिमाझ आएर एकदमै कहालीलाग्दो स्वरमा ओए उठ त सबैजना उठ त भन्न थाल्नुहुन्छ, बाबा पनि के भो र ? भन्दै जुरुक्क उठ्नुहुन्छ हामी दुइ भाइ पनि उठ्छौं, ममी एक तमासले बोल्न थाल्नुहुन्छ ” तल!!!तल !!! तल !!! नि तल नि !!! ” म सोधिहाल्छु “के तल ममी के भयो र तल ? “, रातो र पिरो भएको मेरी आमा बोल्न थाल्नुहुन्छ, धारामा माओबादी छन्, ३ जना माओबादिहरुले हातमा बन्दुक लिएर बसेका छन्, लौ आज के हुने हो कुन्नी ? मलाई नि हेर्नुस हामी यहाँ छौं भनेर कसैलाई भन्नुभयो भने तपाइको सबै परिवारलाई मार्दिन्छौं पानी त भरेर जानुस तर याद राख्नुस यदी यो बारेमा कसैलाई भन्नुभयो भने तपाइको सबै परिवार सखाप, ममिको त होस हवास नै उडेछ,ममिले मात्र “हुन्छ” मात्र भन्न सक्नुभएछ र त्यो धुन लागेको कपडा फर्काएर लेउनुभएछ र त्यो धारा माथी को चौरमा लिएर राख्नुभएछ अनि मात्र गागृमा पानी मात्र लिएर आउनुभएछ उनिहरु त्यहाँ त्यसरि आउनुको कारण थियो त्यो धाराभन्दा केहि तल रहेको सरस्वती मन्दिरमा सैनिक चेक पोस्ट थियो,बिहान ८ बजेतिर मात्र सैनिक हरु त्यहाँ आउने गर्थे तसर्थ उक्त पोस्टमा आक्रमण गर्ने उद्देस्यका साथमा केहि माओबादिहरु त्यो धारामा बिहानैबाट आएर बसेका रैछन्, हामी सबै परिवार आत्तीन थालेउं अब के हुने हो,अब के हुने हो भन्ने अन्योलतामा हामी बसिरहेका थियौं, बाबाले पसलतिरको ढोका र हामी सुतेको रुमको ढोका पनि लगाउनुभयो र हामी डराउंदै र मुटु काम्दै कोठामा बसिरहेउं केहि बेरमा एकदम कहालीलाग्दो आवाज आयो “डुम्म,डुम्म” हाम्रो डरले झनै नेटो काट्यो, ममी बर्बराउन थाल्नुभयो, लौ कस्लाई हाने गोलि, कुन्लाई मारे आज, तल चेक्पोस्ट मा आउने केहि आर्मिहरु हाम्रो पसलामा खाजा खान पनि आउने हुनाले केहि आर्मिहरुसंग हामी नजिक थियौं हामिलाई डर थियो कतै ति नै आर्मिहरु त परेनन । हामी एक्दमै आत्तिदैं र डराउंदै थियौं, हामी सबै त्यही कोठामा कुक्रुक्क भएर बसेका थियौं, गोली पड्केको केहि मिनेटमा नै हामी बसेको कोठाको ढोका ढक-ढक गरेको आवज आयो, हाम्रो मुटुको ढड्कन यसै त बढिरहेको थियो झन त्यो ढक ढक्ले अति नै मुटु फुल्न थाल्यो, “ओ ढोका खोल्नुस्, को हुनुहुन्छ छिटो ढोका खोल्नुस्” बाबाले पनि बिस्तारै गएर ढोका खोल्नुहुन्छ म महसुस गर्न सक्थे कि त्यो बेलामा बाबाको हात कती कांपेको थियो त्यो ढोका खोल्दा,बाबाले ढोका खोल्न पाको छैन बाहिर मुखभरी र्याल चुहांउदै,रातो र पिरो भएर मुखमा  केहि कालो दलेका कम्ब्याट कपडा र हातमा बन्दुक तेर्साउंदै आएका आर्मिले झन थर्काउन थाले किन ढोका खोल्न ढिला हं, के गरेर बसेको हो हं, बाबाले पनि हैन सुतेर उठ्दै थियौं कपडा लगाउन लागेकोले बेर भएको हो, उताबाट झन जर्किंदो स्वर आउन थाल्यो- “ए तिमीहरुलाई यत्रो ठुलो बम पड्किंदा पनि निद्रा लाग्यो हैन”, पख तिमीहरुलाई भन्दै सबैलाई बाहिर बोलायो, हामी सबै बाहिर निस्केउं, बिचरा बाबाले जांगे पनि लगाउन पाउनुभएको थिएन म पाइट लगाउंछु है भन्दा पनि ए तलाई पाइट लगाउनेपर्ने भन्दै बाहिर लतार्न थाल्यो त्यो हुलको एक आर्मिले, बिचरा बाबा माथी स्यान्डो र तल मात्र झाडन बेर्नुभएको थियो, उनिहरुले पाइट लगाउन पनि नदिइकन बाहिर लतारे, हामी दुइ भाइ सानो थियौं, हामी त्यो बेलासम्म त रुन पनि सकेका थिएनौं रुंदा पनि गाली गर्छन कि भन्ने डर लागिरहेको थियो, हामी मात्र सुक्क-सुक्क मात्र गरिरहेउं, बाबा अनि ममिलाई त्यसरि थर्काइरहंदा हामी मात्र चुप चाप थियौं, सबै जना बाहिर निस्केपछी त्यो कोठाको र उता अर्को पसलतिरको कोठाको चाबी लगाएर त्यस्को सांचो आंफुले राख्यो, र बाबा ममिलाई एक तमासले प्रश्नको बर्षात गर्न थाले पालई पालो उनिहरुले, तिमीहरुले यत्रो बम पड्काएको पनि नसुन्ने हैन, भन तिमीहरुले कतिजना माओबादिहरुलाई पालेर बसेका छौ ? हिंजो कहाँ सुतायौ ? कती जना थिए ? कती जनालाई खाना खुवायौ ? साला माओबादिहरुलाई पाल्ने अनि अहिले थाहा पाइन भन्ने, उनिहरुले मुखबाट एक्दमै अपशब्द बोल्दै एकतमासले गाली गरिरहे ममी र बाबालाई, हामी दुइ भाइ बिचरा मात्र एक टलकले सुन्नु बाहेक केहि गर्न सकेनौं, कतिखेर त सानो भएपनी उनिहरुको त्यो चरित्र देख्दा लाग्थ्यो कि त्यही उनिहरुले समातेको बन्दुक खोसेर उनिहरुलाई पड्काइदिउं, तर त्यो गर्ने साहस जुटाउन सकिन म, भाइ सानै थियो उ मेरै अगाडी बसेर दाइ दाइ भन्दै रुन्थ्यो मात्र, म आंफै शोकाकुल थिएं उस्लाई कसरी सम्झाउन सक्थें र म, ति आर्मिहरु बाबा ममिलाई सोध्न थाले, तैंले माओबादिहरुलाई कहाँ राखिस त्यो बन्दुक पड्काएर कता भागे छि्टो भन्, त्यहाँ नारिप्रतिको कुनै सम्मान र आदर कत्ती पनि थिएन मात्र थियो त सबै रिस र राक्षसरुपी ब्यबहार,एउटी नारिलाई पनि उनिहरुले तुछ्छ भाषा प्रयोग गरेर प्रश्न सोधिरहेका थिए, ममिले र बाबाले पनि खै हामिलाई केहि पनि थाहा छैन, बिचरा हाम्रा बाबा ममिहरु चपेटामा थिए बिहानको सत्य कुरा भन्दिउं त उता माओबादिले आएर मार्छन कि भन्ने पिर र यता फेरी आर्मिहरुले हिंड तीनिहरुलाई देखाइ भने भने कहाँबाट देखाउने, त्यसैले उहांहरुले खै हामिले त कतिबेला पनि देखेनौं,हामिलाई केहि पनि थाहा छैन, कहाँबाट आए कहाँ बसे अनि कहाँ गए केहि थाहा छैन,उनिहरुलाई त्यतिले चित्त बुझेन र एउटा मेजरले आंफुसंग भएको बन्दुक कक गर्दै बाबाको छातिमा तेर्सायो र भन्न थाल्यो “साला सांचो सांचो भन तैले देखेको छस कि छैनस् “, त्यो बेलामा ममी बेजोडले रुन थाल्नुभयो,  ममिको त्यो चिच्यावटले हामी साना लालाबालाको झन कती मन कुंडिएको होला, हामी ममिलाई समातेर मुटु फुट्नेगरी रोयौं तर ति पिचासहरुले हामिलाई रुन पनि स्वतन्त्र दिएका थिएनन्, “ओए किन रोको चुप” हामिलाई त्यो शब्दले हामिभित्रको पिडालाई दबायो र डरले बास जमायो र हामी चुप हुन थालेउं, उता बाबाले अब मारे मार्नुस तनी तर हामिलाई केहि थाहा छैन कसरी के भनउं तनी भन्दै भनेपछी त्यो आर्मिले आफ्नो बन्दुक बाबाको छातिबाट हटायो, उनिहरु अब तिमीहरु यही बस भन्दै माथी गाउंतिर जान थाले, हाम्रो घरमाथी पनि एउटा बिजय मामाको घर थियो त्यहाँ गएर पनि त्यहाँको टिन ठटाउंदै बन्दुक तेर्साउंदै थर्काइरहेका थिए, त्यो मामालाई त अझा लात्ताले लात्ताले हान्दै झपारिरहेको थियो, हामी त्यही घरमा नै थियौं, त्यहाँ एउटा आर्मिलाई छोडेर उनिहरुको त्यो दैत्य चरित्र देखाउन हाम्रो घरमाथी मामाको गाउं मुस्यास्वर भन्ने ठाउंतिर लागे, ममिले यता अघी बिहान छोडेको लुगाको बांटा जुन धारा माथी को चौरमा राख्नुभएको थियो त्यो लिन जानुभयो, तर त्यहाँ तैनाथ रहेको एक आर्मिले त्यो बांटा ल्याउन दिन मानेन, ममिले प्लिज प्लिज त्यो बांटा त लेउन दिनु भन्दै गिडगिडाउन थाल्नुभयो तर उस्ले त्यो बांटा लिन दिएन, उस्ले त्यो बाटा ल्याउन नदिएपछी हामी त्यही घरमै बसेका थियौं केहिबेरमा अघी गएको त्यो राक्षसरुपी हुलले माथी गाउंमा गएर निकै दैत्य, दानबिय कृयाकलाप गरेर्,कसैको भकारी फोरेर,कसैको ढोका फोरेर,कसैलाई मुखमा आको बोलेर र कसैलाई हातपात गरेर आउंछन्, हाम्रो घरतिर झर्दै गर्दा अघी ममिले धारामा कपडा धुन लगेको बांटामा उनिहरुको नजर पर्छ, त्यो कमान्डरले त्यो कस्को बांटा भनेर सोध्छ, हामी एकैछिन त केहि बोल्दैनौं, तर केहिबेरमा निकै निन्दनिय गाली बर्सेपछी ममिले “त्यो बांटा मेरो हो, बिहान कपडा धुन लगेकी थिएं त्यहिं छोडेर आएको हुं”  भन्न के पाउनुभको थ्यो, उस्ले आफ्नो बन्दुक तेर्साउंदै भन्न थाल्यो “ए तैले बिहान कपडा धुन जांदा त्यहाँ बसेका माओबादिहरुलाई देखिनेस हैन, अब थाहा भयो बल्ल तैले साचिकै माओबादिलाई पालेर राखेकी रैछेस्, ए केटाहो जा यो घर सबै खोजेर हेर कता कता बन्दुक लुकाएर राखेका छन कि, अरु के के छन्,त्यो हुलका केहि आर्मिहरु घरभित्र पसे र जतततै खोज्न थाले, उनिहरुले खोज्ने प्रकृया पनि कुनै मुसाले दुलो खोलेजस्तो थियो, सामान जताततै यत्रतत्र छरालेर कुनै मत्लब नै नगरि खोजिरहेका थिए, त्यो हुलले केहि बेर सबै सामान अस्तव्यस्त पार्दै बाहिर आयो र आफ्नो पिचास बोसलाई उत्तर दियो “केहि छैन सर”,ममिलाई सोधिरह्यो “भन कहाँ गए ति माओबादिहरु नत्र तलाई गोलिले हान्दिन्छु” ममिले एक्दमै हतासिंदै उनिहरुको त्यो प्रश्नको आबेग सहन नसकेर एक्कासी “उ त्यततिर गएका थिए” भन्दिनुभयो बास्तबमा उहाले कता गएका थिए केहि देख्नुभएको थिएन मात्र बिहान धारामा देख्नुभएको थियो, उहाको त्यो उत्तरले त्यो नरपिचासको राक्षसपन छर्लङ्ग देखाउंदै आफ्नो बुट बजार्दै ममिलाई एक संबेदनहिन र नारी सहिश्णुताको ख्याल नै नगरि नारी अस्तित्वको ख्याल नै नगरि ममिको गालामा एक थप्प्ड हान्न पुग्छ, बिचरा हाम्रो बाबा त्यसरि गैर पुरुषले त्यसरि आफ्नि अर्धांगिनिलाई पिट्दा पनि कुनै चुक्क बोल्न सक्नुभएन्,उहांको मनमा कतिसम्म पिडा बल्झिएको होला त्यो समयमा,बाध्यता र त्रासको भुमरिमा फसेर उहाले त्यो कर्तुतलाई हेरेरै बस्नु बाहेक अरु कुनै उपाय थिएन, त्यसरि आफ्नो आमालाई कसैले ज्याजती गरिरंदा हामी पनि त्यो डरभित्रको पिडालाई रोक्न सकेनौ र एक्कासी ममी ममी भन्दै ममिको हात समाउन पुगेउ दुबै भाइ, आफ्नि आमाको पिडामा पनि हामिलाई धेरै समय रुन सम्म पनि दिइएन त्यहाँ, एक थोपा आंसु पनि चुहाउन दिइएको थिइएन त्यहाँ तैपनी साहस गरेर हामी दुइ भाइ ममिको हात समाउन पुगेउ र ममिसंग टांसिन थालेउं, ममी-ममी भन्दै बेजोडले रुन थालेउं, भाइले एउटा हात समातेको थियो भने मैले अर्को हात समातेको थिएं ममिले बिचरा  आफ्नो पिर र पिडा भुलेर बाबु नरोउ नरोउ ममिलाई केहि भको छैन भनिरहनुभकोथ्यो, तर हामी बच्चा नै भएपनी ममिको त्यती पिडा त सहजै बुझेका थियौं उताबाट बाघ गर्जेझै ओए फुच्चेहरु “चुप-चुप” भन्दै हामी दुबै भाइहरुलाई ममिको हातबाट टाढा लग्ने कोसिस गरिरहेका थिए, हामी अब ति दानबरुपी ब्यक्ती हरुको अगाडी हात फैलाउंदै ममी र बाबालाई केहिनी नगर्नुस भन्न बिबस भैसकेको थियौं, रोएकै आबाजमा भन्न थालें म” प्लिज ,प्लिज अंकल हाम्रो बाबा र ममिलाई केहिनी नगर्नुस न प्लिज….अंकल” तर त्यो बिनयले उनिहरुलाई कुनै मत्लब राखेन उनिहरुले हामिलाई ममिको साथबाट फुस्काएर केहि पर फालिदिए, र यो गर्दा सम्म सायद बाबा चाही पितृस्नेहबाट अब भने चुप रहन सक्नुभएन र केहि बोल्ने कोसिस गर्नुभयो” हैन यि बच्चाको के दोश यिनिहरुलाई केहिनी नगर्नुस न” त्यती के भन्नुभकोथ्यो अर्को उताबाट आएर बाबाको छातिमा लात्ताले हानेर बाबालाई भुइंमा पछार्यो,यो सबै हेर्दा हामी लालाबालाले अब होश गुमाइसकेको थियौं, अब हाम्रो मुखबाट सुंक्क सुंक्क पनि आउन छोडेको थियो सायद, हामिभित्र आफ्न त्यो दर्दनक पिडा भन्दा पनि अब ति आर्मिहरुको डरले अधिक डेरा जमाइसकेको थियो, अचानक म बाबालाई “बाबा,बाबा उठ्नुस न” भन्दै बाबालाई उठाउन गएं, बाबा भुइंबाट बिस्तारै उठ्नुभयो, उताबाट अर्को आवाज गर्जिन थाल्यो” ओए केटाहो सलाई ले त सालाहरुको घर आज आगो लगाएर खरानी पार्दिन्छु, धन्न सायद त्यो बेलामा कसैले पनि सलाई दिएनन नत्र त्यो कमान्डरले हाम्रो घरलाई पनि खरानी पार्ने थियो होला सायद, त्यस्पछी ममी र बाबालाई तल त्यो कपडा भएको बांटातिर लागे र बिभिन्न अपसब्द बोल्दै ममिको कपाल समाउंदै र बाबालाई पनि तथानाम गाली गर्दै त्यो बांटामा भएका कपडाहरुलाई लात्ताले हानेर यत्रतत्र छरिलिदिए, उनिहरुको ज्याजतिले नेटो काटेको थियो,ममिलाई उनिहरु पिटिरहन्थे, बाबालाई त झन धेरै पिटिरहेका थिए, हामी सब टुलुटुली हेर्नु सिबाय अरु केहि गर्न सकिरहेका थियनौं,मात्र यत्ती भन्थेउं कि ” बाबा… ममि….” “प्लिज हाम्रो बाबा ममिलाई नपिट्नुस न प्लिज,, अंकल प्लिज,,,” तर हाम्रो त्यो चित्कारले उनिहरुको मनको अलिकती पनि टुप्पो बिझाउन सकेन उल्टै हामिलाई दबाब दिदिरहन्थे कि नरोइ भनेर, केहिबेरको ज्याजतिपछी हामिलाई अझै ठुलो बज्रपात पर्‍यो जब उनिहरुले अब तिमीहरुलाई आर्मी क्याम्पमा लगेर ठिक पार्छौं भनेर समातेर लगे, हामी तब बेजोडले चिच्याउन थालेउं “बाबा ममी कहाँ जान लागेको हामिलाई छोडेर !!!!! ” , “अंकल हाम्रो बाबा ममिलाई नलग्नुस न हामी कहाँ बस्ने” , हाम्रो चित्कार त्यो बेलामा उत्कर्षमा पुगेको थियो,बाबा ममिलाई त्यो हाम्रो आंफुले पाएको पिडा भन्दा पनि हाम्रो त्यो चिच्यावटले र हाम्रो आंशुले मन एक्दमै थाम्न सक्नुभएन र रुंदै बाबाले मलाई भन्नुहुन्छ “बाबु भाइलाई लगेर मामाकोमा गएर बस है हामी चांडै नै आउंछौ, नआत्तिकन बसे है छोराहरु, हामी छिटै आउंछौ, हामी उहांसंग छुटिन मानेका थिएनौं ” नाइ बाबा नाइ ममी हामिलाई छोडेर नजानुस प्लिज बाबा नजानुस,,,,,,” तर हामिलाई हाम्रो चित्कारले कास मेरा बाबा ममिलाई छोडिदिएको भए तर उनिहरुले लगे हाम्रो बाबा ममिलाई, बाबालाई पाइट लगाउन भने र अन्तमा हाम्रो लाख अनुनय बिनय पछी पनि बाबा र ममिलाई लगेरै छोडे, हामी त्यही भुइंमा थुचुक्क बसेर रोयौं, र केहिबेरमा बाबाले भनेजस्तै भाइ र म मामा घरको तिर लागेउं,बाटोमा चिच्याउंदै गएका थियौ सबै के भो ? के भो ? भने सोधिरहन्थे म मात्र बाबा ममिलाई लगे मात्र भन्थे अरु म केहि बोल्न सक्दैन थें, बाटोमा रुंदै रुंदै हामी मामा घरसम्म पुगेउं र त्यहाँ रहेको चौरमा एक्कासी पल्टेर रुन थालेउं ,हामी दुबै भाइ बेजोडले ममी-बाबा भन्दै रोइरहेउं, वरपरका सबै आए र सोधे के भयो ? भनेर, आर्मिले हाम्रो बाबा र ममिलाई लाग्यो मामा भन्दै म मेरो कान्छा मामाको काखमा बसेर रुन थालें, हाम्रो कान्छो मामा र जेठो मामा अनि फुपुको घर एउटै गाउंमा थियो ।उहाहरु सबै आएर हामिलाई सम्झाउन थाल्नुभयो, नरोउ नरोउ तिम्रो बाबा ममिलाई केहि नि हुंदैन नरोउ , हामी हाम्रो बाबा ममिलाई अब भेट्न पाउने आशा गुमाइसकेका  थियौं किनकी हामिले सुनेका थियौं आर्मिले त एक्दमै पिट्छन्, लगेर कडा भन्दा कडा यातना दिन्छन्, सायद हाम्रो बाबा ममिलाई पनि त्यसै गरेर हाम्रो बाबा ममिलाई पनि मार्दिने पो हुन कि ? हाम्रो दिमाखमा यही डर थियो जस्ले गर्दा हामिले अरु केहि सोच्नै सकेको थियनौं मात्र हामिलाई बाबा ममी चाहियो र हामिलाई बाबा ममिसंग छिटो भेट गराइदिनु भन्दै हात जोडिहरेउं मामाहरुलाई, कान्छो मामा(हरी प्रसाद सापकोटा)ले पनि भान्जा टेन्सन नलेउ भान्जा म मेरा दिदी भिनाजुलाई केहिपनी हुन दिन्न भन्दै मलाई काखमा राख्दै सुम्सुम्याउन थाल्नुभयो, उता भाइलाई भने सायद गिताफुपुले सम्झाइरहनुभएको थियो, एकैछिनमा हामिलाई रुंदै-रुंदै बल्ल-बल्ल तल कान्छा मामाकोमा ल्याइयो, कान्छी माइजुले पनि भान्जा केहि खानुस भोक लागेको छ होला भन्नुहुन्थ्यो “हैन माइजु मलाई केहि चाहिएन मलाई मेरो बाबा र ममी चाहियो मात्र ” भनेर रोइरहन्थें एकैछिनमा हामी दुबै भाइको चिच्यावट केहि कम भयो, माइजुले भान्जा लौनु तपाइलाई मन पर्ने खिर भन्दै लेइदिनुभको थियो बिचरा माइजुले भान्जालाई मन पर्ने खिर लेइदिनुभयो तर मलाई त्यो खिर त के जे सुकै चौरासी ब्यन्जन पनि खान सक्नेथिइन होला, मलाई मात्र जती सक्दो चांडो ममी र बाबालाई भेट्नु छ भनेर मामा माइजुलाई गडगडाइरहन्थे, मामा केहिबेरमा ममी र बाबाको रिहाइको लागी भनेर तत्कालई बजारमा जानुभयो, हामी दुबै भाइ त्यही बसेउं,माइजुले घरी टिभी हेर्न भन्नुहुन्थ्यो घरी के लेइदिनुहुन्थ्यो घरी के भनेर फकाउन खोज्नुहुन्थ्यो तर अहं मन कुनै पनि हालतमा मान्ने वाला नै थिएन्, त्यही रहेको भगबानको पोस्टरमा हात जोड्दै प्लिज भगबान हाम्रो बाबा ममिलाई छिटो लेइदेउ, छिटो उनिहरुसंग भेट गराइदेउ भनेर दुइ हात जोड्दै बिन्ती गरिरहन्थें, केहिबेरमा हामि केहि शान्त भयौं र खान मन पटक्क थिएन तैपनी माइजुले जबरजस्ती गर्दै हामिलाई थोरै थोरै भएपनी खाना खुवाउन सफल हुनुभयो । मलाई केहि बेरमा एक्कासी अगि ति आर्मिहरुले बिहान ममिले लगेको कपडाको बांटा फालेको याद आयो र म त्यो सबै कपडा उठाउन जान्छु भन्दै अटेर गदै गएं, माइजुले भान्जा नजानुस त्यहाँ, त्यहाँ फेरी आर्मिहरु बसेका होलान फेरी तिमीलाई पनि लईजान्छन भन्दा पनि म त्यहाँ अटेर गरेरै गएं,लुगाहरु यत्रतत्र छरपस्ट थिए, म रुंदै-रुंदै ति सबै कपडा उठाएं र घरको छानोमाथी राखेर फेरी मामाकोमा नै गएं । म ममी र बाबासंग छिटो भेट होस भन्दै हरेक समय भगबानसंग प्राथना गरिरहन्थे, सायद त्यसैको फलले होला भोलिपल्ट बाबालाई छोडिदिएको थियो आर्मिहरुले,हामी माथी फुपुकोमा थियौं दुबै भाइ, बाबा आएको खबरले हतार हतार गर्दै दुबै भाइ तल कान्छो मामाकोमा गयौं,त्यहाँ थुप्रै मान्छेहरु बाबालाई हेर्न र भेट्न पनि आउनुभएको थियो, बाबाको छातिमा गालामा, मुखमा र कन्नामा लठ्ठिका डामहरु थिए, म बाबालाई देख्नासाथ झम्टेर रुन थालें, ममिलाई यताउती हेरे तर देखिन ” बाबा ममी खै त ?” छोटो प्रश्न सोधिहालें, छोरा ममी त्यहिं छ ममी पनि चांडै नै आउछे पिर नगर छोरा, “बाबा ममिसंग छिटो भेट्न लाग्दिनु न” मैले कर गर्न थालें हुन्छ छोरा हुन्छ आज मिल्दैन भोली जाउंला है भनेर उहांले टारिदिनुभयो, बाबालाई खास दोशी नदेखेपछी भोलिपल्टै छोडिदिएका थिए रे, तर ममिले पहिला “देखिन” र पछी डरको बाबजुत “देखे” भनेको हुनाले केहि दिन सोध्पुछको लागी राखेको रे, त्यही कुरा चल्दै थियो त्यो भिडमा, त्यो रात बाबा आएपछी केहि शान्त त भयो तैपनी अझै ममिलाई देख्ने अत्यासले मन अझै आत्तिरहेको थियो कहिले भोली आउला जस्तो भएको थियो, कान्छो मामाको अथक प्रयास तथा बिभिन्न मानबाधिकारबादी र बाग्लुङ्का केहि भद्रभलादमिहरुको बिशेश पहल मा भोलिपल्ट ममिलाई उपल्लाचौरको ब्यारेकबाट जिल्ला प्रहरी कार्यालयमा सारिएको रैछ, त्यही हुनाले मामाले भान्जा आज तिमी र म ममिलाई खाना लगेर जाने है अनि ममिलाई घर लिएर आउंला है भन्दै हामी जिल्ला प्रहरी कार्यालयमा पुगेउं, केहिबेरको पर्खाइपछी खाना दिने पालो आयो, ममिलाई राखेको थुनुवा कोठा बाहिर कतिखेर ममिलाई देख्न पाउंछु होला भनेर ढोकातिर टुलु-टुलु हेरिरहेंको थिएं तर त्यहाँ रहेको प्रहरिले मलाई भेट्न स्विकृत दिइएन म ममिलाई भेटेभने ममी र मेरो मन एक्दम थामिनसक्नेगरी पिडामा हुन्छ भनेर त्यसो गरेका रे, आंफुले लगेको भात मलाई चाख्न लगाइ त्यो खाना भित्र ममिलाई लागिदिए ति प्रहरिले, र प्रहरिलाई यो पनि भनें कि “अंकल ममिलाई धेरै सम्झेको छु भन्दिनु न है”, उहाले पनि हुन्छ बाबु म भन्दिन्छु भन्दै त्यो खाना लागिदिए ।बाहिर मामा केहि ब्यक्ती हरुसंग ममिलाई छुटाउनको लागी अनेक प्रयत्न गरिरहनुभएको थियो, केहि बेरको कुरापछी त्यो दिन पनि ममिलाई त्यहाँबाट ननीकाल्ने कुरा भए छ, ममिलाई भेट्ने अपुरो इक्षा लिंदै म पनि मामासंगै मामाकै घर आएं ।हामी दुइ भाइ कहिले कान्छो मामाकोमा कहिले जेठो मामाकोमा त कहिले गिता फुपुको बस्दै आमाको रिहाइको प्राथना गरिरहन्थेउ, बाबा कान्छा मामाकोमा नै बस्नुभएको थियो,एक दिन हामी गाउंका केहि साथिहरु भएर नजिकैको कुवामा नुहाउन गएका थियौं, म नुहाउंदै थिए अचानक एक जना मेरो साथी आएर भन्न थाल्यो “ओए तेरो ममिलाई ल्याएका छन छिटो आइजा रे”, ओहो मेरो खुशीको सिमा रहेन म मनमनै भगबानलाई धन्यबाद दिंदै शरिरमा लगाएको साबुन पनि राम्रोसंग नपखाली कपडा लगेर टाप कसें ममिलाई भेट्न, यसरि दौंडे कि मानौ कुनै रेसमा दौडेको छु, मेरो पछी पछी ति सबै साथिहरु आएका थिए, “ओए बिस्तारै दौडी है लोट्लास” ह्या लोटेलोट्छु आखिर म ममिलाई देख्न त पाउंछु नि भन्दै गएं ममी भएको ठाउंमा, ठुला मामाको तलपट्टी एउटा चौर थियो,त्यहाँ थुप्रै मान्छे जम्मा भएका थिए,ममिलाई त देखिन त्यसैले बिस्तारै बिस्तारै त्यो भिड पन्छाउंदै भित्र छिर्न थालें, छोरो आयो भन्दै मलाई सबैले बाटो पनि छोडिदिए, जब भित्र पुग्छु एउटा गुन्द्री माथी मेरो ममिलाई सुताइएको थियो,उहांको आंखा बन्द थियो,केहि बोल्नुभएको थिएन्,यता सबै सुंक्क-सुंक्क गरिरहेका थिए, मलाई एक्दमै डर लाग्यो, नजिकै कान्छो मामा पनि हुनुहुन्थ्यो “मामा मेरो ममिलाई के भयो र ?’ प्रश्न सोधिहालें, भान्जा ममी बेहोस हुनुहुन्छ,उहांलाई लेउंदा पनि स्ट्रेचरमा लिएर आएको हो,घरी होस खुलिहाल्छ फेरी बेहोस भैहाल्नुहुन्छ, टेन्सन नगर भान्जा ममिलाई ठिक हुन्छ, म एक टलकले मामाको त्यो उत्तर पाएछी ममिलाई हेर्न थालें,कती राती हुनुभको थियो, गलेर एक्दम सानी हुनुभको, हड्डी मात्र देखिन्थ्यो त्यो हातमा र अनुहारमा, म मात्र “ममी आंखा खोल्नुस न ममी आंखा खोल्नुस न” भन्न सकें, ममिको छातिमा बसेर बलिन्धारा आंशुका ढिकाहरु खसालिरहें “ममी ममी हेर्नु त म आइसकें अब त आंखा खोल्नुस न ममी ममि” यही भन्दै बर्बाराउन थालें, केहिबेरमा ममी जुरुक्क उठ्नुभयो म खुशी हुन थालें, “ममी ममी” के भन्न थालेंको थिएं उहाको मुखबाट केहि शब्द अनायासै आउन थाल्यो  “”लौ लौ मलाई मार्छन का, मलाई मार्नेभए का मलाई बचाउ मलाई बचाउ”” त्यो शब्द भन्नासाथ फेरी ममी बेहोस हुनुभयो, त्यहाँ कोलाहल मच्चिन थाल्यो, त्यहाँ रहेका हरेकको आंखा रसाउन थाले, मेरो हालतको त कुनै बर्णन गर्न सक्दिन म, म ममिको अनुहार मुसार्दै “ममी तपाइलाई केहि हुंदैन हामी छौं नि, ममी तपाइलाई कसैले मार्दैन उठ्नुस न ममी यि तपाइको छोरा पनि आएको छ अब त आंखा खोल्नुस न” म यती भनिरहंदा डांको छोडेर रोइरहेको थिएं, उता भाइ पनि ममी ममी उठ्नुस न भन्दै डांको छोडेर रोइरहेको थियो, मामाको आंखामा पनि आंसु टिलपिल गरिरहेको थियो मात्र झार्न सक्नुभएको थिएन्, त्यहाँ एक्दमै बिरक्तको र बिरहको अवस्था सुरु भयो,बाबा पनि त्यही हुनुहुन्थ्यो बाबा केहि बोल्नै सक्नुभएको थिएन्, उहांलाई त्यो अवस्थाले भित्र भित्रै मारिसकेको थियो, म घरी ममिलाई पानी खुवाउंथे घरी ममिको टाउको मुसार्दिन्थें,घरी टाउकोमा पानी हालिदिन्थे तर ममिको होश खुल्न सकेन, म घुंक्क-घुंक्क गर्दै मात्र मुखबाट ममिको नाम लिइरहन्थे, “सायद यहाँ गर्मी भएर होला अझै होस खुल्न सकेको छैन, खै-खै सबै यस्सो उत्ता जानुस त अब तल घर लगौं र सलाईन लगाइंदिउं सायद ठिक हुनुहुन्छ कि” हाम्रो कान्छो मामाले भन्नुभयो, उहांको आफ्नै औषधी पसल थियो,उहालाई यससम्बन्धी  हरेक जानकारी हुने नै भयो त्यसैले उहांले भनेपछी स्ट्रेचरमा राखेर आफ्नै घर लगेर जानुभयो,पछी पछी हामी पनि गएका थियौं,पिंढिको खाटमा नै राखेर ममिलाई सलाईन दिनुभयो कान्छो मामाले, हामी ममिको नजिक नै बसेका थियौं,कतिखेर ममिलाई होस आउंछ र उहांको त्यो ममतामयि काखमा लुटुपुटिउंला भनेर त्यो समय पर्खेर बसेको थिएं म, ममिलाई कस्तो छ र के भको होला भन्दै भेट हुन आउनेको निकै घुइंचो थियो कान्छो मामाको घरमा, केहिबेरमा ममिलाई हल्का हल्का होश त आउंछ तर उहां पुर्ण रुपबाट होशमा आउनुभएको हुंदैन, हामिलाई देखेर झन रुनुहोला र झन स्ट्रेसमा जानुहुन्छ कि भनेर हामिलाई केहिबेर त ममिबाट केहि पर राखियो, केहिबेरमा ममी आंफैले नै खै मेरा छोराहरु भनेर बोलानुभएछ र हामिलाई त्यहाँ लागियो, हतारिंदै हतारिंदै ममिको काखमा गएर लुटपुटिन थालेउं, त्यत्रो ४ दिनको जुन स्नेह थियो, आखिर त्यो सबै स्नेह आमाकै काखमा बसेर मेटाउनुथियो त्यसैले धेरै बेरसम्म ममी ममी भन्दै खुशीका आंसुका ढिका खसाल्दै आमाकै ककाखमा बसिरहेउं, सायद धेरै समयपछी त्यसरि खुशी भएको देखेर सबै जना खुशी नै थिए,आखिर एउटा बच्चा केहि कतिदिनसम्म पो आफ्नो मातृस्नेहाबाट टाढा रहन सक्ला र है, त्यो दिन हामी सबै मिलेर केहि खुशी र दुखका पलहरु साटेरै बितायौं,  ममिलाई दिन प्रतिदिन गर्दै ठिक त हुंदै गयो तर ममिको मनमा जुन डर थियो त्यो कहिलेपनी निको हुन सकेन, उहालाई शारिरिक र मानसिक रुपबाट गहिरो पिडा दिइएको थियो, उहाको गाला रातै थियो, कानबाट बेला बेलामा रगत बगिरहन्थ्यो, बेलाबेलामा राती झस्किनुहुन्थ्यो, हामी केहि समय त त्यही कान्छा मामाको घरमा नै बसेउं, केहि हप्तापछिको सामान्य रेस्ट पछी ममी अलि-अलि हिंड्डुल गर्न थाल्नुभयो, र दिनभरी त्यसरि मामाकोमा बस्न झ्याउ लाग्यो भन्दै पसल खोल्न जाने अडान गर्नुभयो हामिले सुरु सुरुमा त इन्कार गरेउं तर एउटा साथी लगेर जाने भएपछी उहांलाई फ्रेस पनि हुन्छ होला भनेर उहालाई पसल जान रोकेनौं तर उहांलाई एक्लई जान दिने थिएनौं कहिले म कहिले भाइ, कहिले कान्चा मामाको छोरी कहिले जेठो मामाको छोरिलाई संगै लगेर जानुहुन्थ्यो ।हामी पनि केहि समयमा स्कुललाइ निरन्तर दिन थालेउं,स्कुल पसलकै नजिक भएकोले हामिलाई स्कुल जान र ममिलाई हेर्न पनि सहज हुन्थ्यो,दिन बितेपनी ममिको शारिरिक र मानसिक पिडाको दर्दनाक अवस्था थियो त्यो बेलामा र बाबाको शारिरिक पिडा पनि उत्तिकै थियो, हाम्रो परिबार त्यो युद्दसंग तर्सिंदै र थप त्रासबाट मुक्त हुनको लागी दिउंसो पसल खोल्न त्यहाँ आएतापनी बेलुका भने सुत्न कहिले मामाकोमा कहिले कस्कोमा कहिले कस्कोमा गरेर दिनहरु काटिरहेउं,ममिलाई त केहि समयसम्म आर्मी देख्दा पनि मुटुको ठाउं छोडेको महसुस हुन्थ्यो,त्यो घटनापछी त्यस ठाउंमा आर्मिको अझै बढी चाहलपहल हुन थाल्यो, बाटोमा हिंड्ने यस्सो फरक मान्छेलाई पनि आर्मिले सोधपुछ गरिहाल्थ्यो तसर्थ त्यस्पछी त्यो बाटो हिंड्ने मान्छे नै हुन छाडे त्यस्को बिकल्पको रुपमा बाग्लुङ बजार जान र फर्किन चौलानी खोलाको बाटो या पानी ट्यांकिको बाटो हिंड्न थाले त्यस्पछी बिस्तारै सबैले त्यही बाटो हिंड्न थाले र त्यो बाटो अहिले पनि सुनसान नै हुन थालेको छ,त्यसैगरी ममिलाई बेलाबेलामा हस्पिटल भर्ना र घरकै आरामले केहि हल्का भएको महसुस हुन थाल्छ तर उहांलाई त्यसरि निर्घात रुपमा कुटेपछी कानको जाली फुटेकोले कान कम सुन्ने हुन थाल्नुभयो,र बेला बेलामा बर्बराउने डराउने समस्या त जिउंको तिउं नै थियो र बाबालाई पनि बेला-बेलामा ढाड दुख्ने समस्याले ग्रस्त बनाएको थियो,समय बित्दै जान्छ जनआन्दोलनको उपलब्धिस्वरुप नेपाल मा राज्य पक्ष र बिद्रोही पक्षले शान्ती सम्झौता गर्दै युद्द बिरामको आब्वान गर्छन्,र केहि समयपछी जन-आन्दोलन तथा युद्द्कालिन समयमा मृत्यु, घाइते, बेपत्ता, अंग भंग भएकालाई क्षतिपुर्ती दिने ब्यबस्था ल्यायो,फलस्वरुप हाम्रो परिवारलाई केहि सामान्य राहत उपलब्ध भयो र ममिको कानको उपचार पनि निशुल्क ब्यबस्था गरियो,बिभिन्न समयमा काठ्मान्डु गएर उपचार गरेर फर्केपनी ममिको कानको पुर्णरुपमा उपचार हुन सकेको छैन्,केहि सामान्य उपचार त भएको थियो तर अझै पनि त्यस्को असर जिउको तिउ छ, सरकार ले दिएको राहतले केहि छिट्फुट काम त भएका होलान तर त्यो बेलामा हामिले भोगेको त्यो पिडाको, दुइ छोराहरु मातृस्नेहबाट टाढिंदा पाएको पिडाको, बिचरा ति बाबा आमाले पाएका अनेक शारिरिक र मानसिक पिडाको, र ति दुइ लालाबालाको मस्तिष्कमा बसेको तितो घटनाको कत्तिपनी मलम लगाउने सफल भएन, सानैमा आंशुका दस धारा चुहाउंदै आमाको रिहाइको निम्ती टुक्रेको मनमा कत्तिपनी मलम लगाउन सकेन त्यो राहतले, आमा !!! आमा !!! बाबा !!! बाबा !!! र बाबु !!! बाबु !!!. भन्दै गरिएका चित्कारको कत्तिपनी प्रतिनिधित्व गर्न सकेन त्यो राहतले ।

यो त एउटा प्रतीनिधी घटना मात्र हो,धन्न हाम्रो बाबा र ममी त आज हाम्रो साथमा हुनुहुन्छ तर कतिपएका त न बाबा ममिको अत्तोपत्तो छ न आफ्ना छोराछोरिको, ति तमाम ब्यक्तीहरुको हालत झन कस्तो भएको होला, राती सपनामा आफ्ना आमा बाबा छोरा छोरिलाई देख्दै तर्सिंदाहुन र चिच्याउंदाहुन्, कती त आफ्नै अगाडी आफ्नो मान्छेको बिभात्स हत्या भएको देख्दा अझै पनि होस हवास नै गुमाएर बसेका हुंदाहुन, कतिको बुढेसकालको सहारा छिनियो, कतिको जिन्दगी देखाउने मार्गदर्सक छिनिए, कतिका जबानी छिनिए, कतिका इज्जत छिनिए, कतिका कलकलाउंदो बैंश छिनिए, कतिका टाउको छिनिए, कतिका खुट्टा छिनिए, कतिका हात छिनिए, कतिका के छिनिए कतिका के छिनिए, त्यो भनिसाध्य पनि छैन यदी हाम्रो पनि त्यो बेलामा हाम्रा मामाहरु,फुपुहरु र ति तमाम गाउंलेहरु नहुंदाहुन त हाम्रो बास र गास  नै छिनिएको थियो, त्यस्तै भुमरिमा फसेका कती बच्चा हुंदाहुन खै त के ति निहरु सबैको पहिचान भएर उचित क्षतिपुर्ती पाएकै छन त ?  के सबै घाइते,सहिद परिवार्,बेपत्ता परिवार अंगभंगले उचित राहत पाएकै छन त ?  राहत त के उनिहरुको कुरा पनि सुनिएको छैन होला , आखिर कहिलेसम्म चुप बस्छ हाम्रो राज्य,किन ति तमाम पिडितहरुको आवाजलाई यसरि हावामा उडाउन दिन्छ ? किन ति तमाम पिडितको चित्कारको मजाक गरिरहन्छ यो सरकार ?

हो यस्तै धेरै प्रश्नहरु सोध्दै युद्द्कालिन र द्वन्दकालिन समयका मुटुनै सिरिंग हुने अनगिन्ती बास्तबिक कथाहरु धेरै बोलिए धेरै लेखिए र धेरै सुनाइए पनि, यस्ता कथा धेरै कोरिए तर जेस्को लागी कोरिए त्यस्को कुनै मुल्य भएन्, यस्ता कथा मात्र सुन्न र पढ्नको लागी मात्र बनाइए तर ति कथाका पिडित पात्रहरु संधै बेवास्ता भैरहे, न सरकारले सुनिदिन्छ न अरु कसैले नै । खै कती गुनासो गरौं हाम्रो सरकारलाई पनि उ त आफ्नै पिडामा छ कहिले मेरो कुर्ची फुत्केला भन्ने पिडामा । ।

लेखक – सोम शर्मा

इमेल[email protected]

प्रकाशित : सोमबार, भदौ १९, २०७४१२:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कथाः’हाकिमकी श्रीमतीसंग एक पटक’