काठमाडौँ, असार ३१ – हिन्दु परम्परा अनुसार साउन महिनालाई भगवान शिवको पुजा आरधाना गर्न राम्रो महिना मान्ने गरिन्छ । यस समय हिन्दु धर्मावलम्वीहरुले शिवालयमा गई जल अर्पण गर्ने, उपवास बस्ने, सात्विक भोजन लिने प्रचलन पनि रही आएको छ ।
श्रावण मास शिव आरधानाको लागि सबैभन्दा पवित्र महिना र श्रावण मासको सोमबार विशेष धार्मिक महत्व हुन्छ । यसपाली दुर्लभ संयोग जुरेको छ, साउनको महिना सोमबारबाटै प्रारम्भ हुँदैछ र समापन पनि । यसलाई अत्यन्तै दुर्लभ संयोग मानिन्छ, जुन केहि बर्षको अन्तरालमा मात्र जुर्ने गर्छ ।
अर्को महत्वपूर्ण पक्ष त के भने, यसपाली साउनमा पाँच वटा सोमबार परेको छ । साथै चन्द्र मास र सूर्य मास दुबैको गणना अनुसार श्रावणमा पाँच सोमबार हुनु पनि एकदमै दुर्लभ संयोग मानिन्छ । यस किसिमको संयोगबाट राम्रो प्रतिफल मिल्ने ठूलो धार्मिक आस्था र विश्वास पनि विधमान रहेको छ ।