केपी ओलीलाई गम्भीर प्रश्न र आरोपसहित प्रदेशको खाडिबाट एक युवाको खुल्ला पत्र

सर्वप्रथम केपी ओली कमरेड अभिवादन छ ।
तपाईंले नेपाली वामपन्थी राजनीति लामो योगदान गर्नु भएको छ । एमाले पार्टीमा तपाईंले जस्तो साम दाम दण्ड भेद अपनाएर भए पनि जनताहरुबाट पछिल्लो मत राम्रो लिन सक्नु भएको छ । निवर्तमान सफल प्रधानमन्त्री प्रचण्ड कमरेडले भन्नु भएको जस्तै माओवादी केन्द्रले ४ हजार सिसिएम (केन्द्रिय सदस्य) भएर पनि चामल बेच्न सकेन तर तपाईं एक्लैले पिठो पनि चामल भनेर बेच्नु भयो ।

पछिल्लो स्थानीय निकायको चुनावी परिणाम अनुसार पहिलो दल भएकोमा शुभकामना पनि व्यक्त गर्दछु । साथै तपाईंको स्वस्थ्यलाभको कामना पनि गर्छु । अब पछिल्लो समयमा भएको मिर्गौला प्रकरणमा तपाईंको बोली बाहिर आएन मानौं एमाले पार्टीको धारणा मौन समर्थन जस्तै देखिन्छ । नेपाली राजनीतिमा कमिला घाइते हुँदा पनि तपाईंले ठट्टेउली गाउले चलनचल्तीमा रहेको उखान टुक्का झटारो हानेर टिप्पणी गर्नुहुन्थ्यो । वैदेशिक रोजगारीका सिलसिलामा एक साल अघि साउदी अरबबाट स्वदेश फिरेका नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको मनमोहन मेमोरियल अस्पतालमा मिर्गौला पथरीको अप्रेसन गर्ने भनेर मिर्गौला निकालिएको छ । यो कस्तो निन्दनीय बिडम्बना हो ? तपाई पनि कुनै बेला मिर्गौला पीडित हुनुहुन्थ्यो तर भाग्यवस तपाईंलाई मिर्गौला मिल्यो भारत गएर झुन्डिएर आउनुभएकोछ ।

जसको फलस्वरूप आज नेपाली जनताले तपाईंको बिकासे नारा, उखान टुक्का सुनेर पनि स्वस्थ हुनु पाएकाछन । राष्ट्रवादी भन्न पाएकाछन । बिकासको सिन्को नभाचिए पनि सुलुलु चल्ने बिद्युतीय रेल चलाउने, पानी जहाज चलाउने, घरघरमा पाइपबाट ग्यास बितरण गर्ने हावाबाट बिजुली निकाल्ने बिकासे नारा सपना बाडेर पनि अस्थिर राजनीतिले पिल्सिएका जनतालाई ओहो केही गर्छ कि भन्ने आश भरोशा मिलेको छ । केही समय अघि तपाईंले भन्नुभएको थियो एमालेको कारण नेपालमा मिर्गौला र मुटु रोग कम भएको छ । हाल आएर नेपाली बजारमा मनमोहन मेमोरियल अस्पताल एमालेको विभिन्न २५ सासदहरुको लगानीमा सञ्चालित पत्थरीको उपचार गराउँदा मिर्गौला गायब भएको समाचार आएपछि कसरी घटेको रहेछ प्रष्ट भयो भनेर सामाजिक संजालमा झटारो हानिरहेकाछन ।
यतिबेला यतिमात्र होईन आस गरेकी नेतृ रामकुमारी झाक्रीले कांग्रेस समर्थक शिक्षकलाई फोन कलमा हातखुट्टा भाची दिउ ! भनेर गाली गरेको कुरा सामाजिक संजालमा भाईरल बनिरहेका छन् । भने साउदी अरबमा बिमार भएका पत्थरी पीडितको उपचार एमालेको लगानीमा संञ्चालित मनमोहन मेमोरियल अस्पतालमा भने मिर्गौला गायब हुन्छ यो कस्तो सङ्केत हो ?

एकथरी मान्छे भनिरहेका छन झाक्रीले केटा लगाएर हातखुट्टा भाच्ने र मनमोहन मेमोरियल अस्पतालले उपचार गर्ने नाममा मिर्गौला निकाल्ने काम पो हुने भयो भनेर सामाजिक संजालको भित्ता पोत्ने तथा चिया पसलको गफ्फिने संयोग मिलेको छ । खैर यथार्थ जे सुकै होस ।
मिर्गौला निकालेर परिवारलाई जानकारी दिदै पीडितको श्रीमती रन्जु रिमालको अनुसार अस्पतालले जवर्जस्ती ६ बुदामा सम्झौता गर्न लगाउने यो कस्तो लोकतन्त्र हो ? पीडित रिमाल परिवारले अस्पताल स्रोतले डर र धम्की देखाएर ६ बुँदे सम्झौता गर्न बाध्य पारेको बताएको छ । अस्पतालले अप्रेसन गर्ने क्रममा मिर्गौलाबाट रक्तश्राप भएको र रक्तश्राप नियन्त्रण नभएपछि मिर्गौला निकालिएको हो भन्ने कुरा उल्लेख गरी सम्झौतापत्र बनाएको बनाएर जवरजस्ती हस्ताक्षर गराएको कुरा छताछुल्ल छ । जसलाई पारिवारिक स्रोतले अज्ञानता र धम्कीका कारण हस्ताक्षर गरेको बताएको छ । यद्यपी यो अस्पताल अरुनै पार्टी दल बिशेषको लगानी भएको भए तपाईंको कस्तो प्रतिक्रिया कति छिटो मिल्ने थियो ? त्यो आम जनताले मुल्यांङ्कन गरिसकेका छन् । एमाले पार्टीको लगानीमा सञ्चालित अस्पताल मानेर जिल्ला प्रशासन कार्यालयले मनमोहन मेडिकल कलेजविरुद्ध उजुरी दर्ता गर्न नमानेको पीडित परिवारले बताएको छ ।

पत्थरीको अपरेसन गर्ने क्रममा मिर्गौला निकालिएकाले न्याय खोज्दै प्रहरी प्रशासनसम्म पुगेको रिमाल परिवारको उजुरी दर्ता गर्न प्रहरीले उजुरी दर्ता गर्न नमान्नुमा शक्तिको दुरुपयोग त भएको छैन ? रिमाल परिवारका अनुसार आफूहरुलाई यस विषयमा कुनै जानकारी नभएको भन्दै उजुरी लिन नमानिएको हो । एमाले निकट अस्पताल भएकाले प्रहरीलाई ठूलै नेताको दबाब रहेको स्रोत बताएको कुरा बाहिर आएको छ । सर्वसाधरण जनताले स्वदेशमा पनि उपचार गर्न नपाउनु ? तपाईंले त भारत, थाइल्यान्डमा उपचार गरिरहनु भएको छ । सर्वसाधारण जनताको औकात छैन जसरी तपाईंले १७ करोड ६६ लाख ६७ हजार ४०२ रुपैयाँ राज्यको ढुकुटीबाट उपचार खर्च लिएर स्वास्थलाभ लिनुभएको छ ।
हो तपाईं राजनेता हुनुहुन्छ समाजका एक तप्का तपाईंको लागि फासिमा झुन्डिन पनि तयारछन । अर्को तप्काका मान्छेहरु तपाईंको बिरोधि पनि छन् । राजनीति गर्नेहरुले बिशिस्ट, गरिबीको नाममा करोडौं दोहन गरेर उपचार सेवा लिन पाउने तर सर्वसाधारण जनताले अस्पतालमा गएर उपचार गर्दा पनि मिर्गौला चोरी हुने ? यो कस्तो बिडम्बना हो कमरेड ! जनताले एउटा सिटामोलसम्म खान नपाई कयौंले जीवन गुमाउनु परेको छ । एक क्याप्सुल सिटामोल लिन जानको लागि ३ घन्टा हिंड्नुपर्छ । कयौं महिला दिदीबहिनीले प्रसव पिडामा अस्पतालको अनुहार देख्न नपाई छटपटाएर परिवारसित साथ छुट्नुपरेको छ । कति निर्दयी रहेछ नि यहाँ बिशिस्ट व्यक्तिहरुको मन ?

मनमोहन मेमोरियल अस्पताल पूर्वप्रधानमन्त्री एवं एमाले नेता स्व. मनमोहन अधिकारीको नामबाट खोलिएको मनमोहन मेडिकल कलेज एमालेकै नेताहरुको स्वार्थमा खोलिएको मेडिकल कलेज हो । यस मेडिकल कलेजमा लगानी गर्ने एमालेका नेताहरु नै संसदीय समितिका सदस्य छन् । जसकारण उनीहरुले यसअघि नै यसलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विद्येयक ल्याएका थिए । यथार्थ सिद्ध पहिलेको दस्तावेजले यसै भनिरहेको छ । यस मेडिकल कलेजमा लगानी गर्नेमध्ये २५ जना एमाले सांसद छन् । एमाले नेता राजेन्द्र पाण्डे अध्यक्ष र अर्का सांसद वंशीधर यसका प्रमुख प्रवर्तक हुन् । यसको सहकारीमा एमाले नेता माधवकुमार नेपाल, भरतमोहन अधिकारी, केदारप्रसाद सञ्जेल, आनन्दप्रसाद पोखरेल, गौरीप्रसाद कोइराला, आदित्य कसौधन, महेन्द्र पाण्डे, यच्छाराज तामाङ, चुडामणी जंगली, हरि उप्रेती, श्रीमाया थकाली, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, सोमनाथ पाण्डे, पशुपति चौलागाईं, जनार्दन ढकाल, प्रकाश ज्वाला, केशव बडाल लगायतका नेताको लगानी छ । यी सबै एमाले तपाईंको दलको कार्यकर्ताहरुको लगानी भएको अस्पतालमा पत्थरीको उपचारका नाममा मिर्गौला तस्करी त भएको छैन आज यो प्रश्न एमाले पार्टी प्रति तेर्साएको छ !

आखिर मिर्गौला केका लागि कस्का लागि कुन प्रयोजनको लागि के आधारमा मिर्गौला निकालिएको हो ? कमरेड अब यी डाक्टर, मनमोहन मेमोरियल अस्पताललाई कानुनी कार्वाही हुने कि नहुने ? कि एमालेको लगानी भएको , एमाले नेताको नाममा खोलिएको अस्पताल भनेर सोर्स्फिर्स , शक्तिको आधारमा कार्वाही नगर्ने ? आज यो कुराको निर्धारण गर्न तपाईंको महत्त्वपूर्ण भूमिकाको जरुरी छ । न्याय कानुन सबैलाई बराबर समान हो भने पीडितलाई उचित क्षतिपूर्ति दिएर कानुनी कार्वाही भोग्नुपर्छ । ताकी अबको दोस्रो पटक अन्यत्र उपचारको नाममा सर्वसाधारण जनताको मुटु, कलेजो, मिर्गौला, हड्डी, हात खुट्टा नचोरिउन । अन्य अस्पतालहरुको मनमोहन मेमोरियल अस्पताल जस्तो हिम्मत नहोस् जसरी पत्थरीको अप्रेसन गर्न गएको बिमारीको मिर्गौला नै निकालियो । यसअघि चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमले मेडिकल कलेज सञ्चालनका लागि स्वीकृति नदिने भएपछि (ओली सरकार) तपाईंको नेतृत्वको सरकारका पालामा चोर बाटोबाट सो विद्येयक संसदको महिला बालबालिका तथा जेष्ठ नागरिक समितिमा लगिएको थियो । जुन समितिमा एमाले सांसदकै हालिमुहाली छ । सो विद्येयक प्रचण्ड नेतृत्वको सरकारको पालामा फिर्ता ल्याइएको थियो । तर, एमाले पार्टीको बैठक नै बसेर विद्येयक फिर्ता लिने निर्णयको विरोध गरेको थियो ।

प्रध्यावक डा. गोविन्द केसी पनि सो विद्येयकको विरोधमा अनसन बसेका थिए । मनमोहन–एमाले कनेक्सन पूर्वप्रधानमन्त्री एवं एमाले नेता स्व. मनमोहन अधिकारीको नामबाट खोलिएको मनमोहन मेडिकल कलेजमा एमाले तपाईंको दलको कुनै न कुनै हिसाबले कनेक्सन देखिन्छ । जसकारण उनीहरुले यसअघि नै यसलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विद्येयक ल्याएका थिए । डा केसिले आफ्नो ज्यान जोखिममा राखेर कयौं पटक अनशन बस्नुभएको छ तर यो मिर्गौला प्रकरणमा भने मौन बस्न कतै गडबड त छैन भनेर सर्वसाधारण जनताले गाईगुई कुरा गर्ने बिषय नबनेको होइन तर सरकार, सम्बन्धित निकायले यो घोर निन्दनीय कार्यको निरुत्साहित गर्ने दोषीलाई कार्वाही पीडितलाई न्याय दिने काम गर्नुपर्छ ।
मनमोहन मेमोरियल अस्पतालका डा.गुणराज श्रेष्ठ नेतृत्वको चिकित्सक टोलीले रिमालको पत्थरी अप्रेसन गर्ने क्रममा देब्रेपट्टिको मिर्गौला निकालेका हुन् । अहिले पीडितबाट मिर्गौला निकालिएको छ । एउटा सामान्य जनताले त आफ्नो उपचार पनि गर्न नपाउने भए होईन ! तपाईंहरु जस्तै बिशिस्ट व्यक्तिको नाममा महँगो एअर एम्बुलेन्स चार्टर गरेर दिल्ली, बैङ्कक, अमेरिका, लन्डन अस्पतालमा बिदेशी डाक्टर साबहरुलाई उपचार गराउन सर्वसाधारण जनता असमर्थ छन । विकसित मुलुकमा हेल्थ इन्स्योरेन्स हुन्छ ।

मलेसियामा १ रिङ्गेटमा टिकट लिए पछि सारा उपचार निशुल्क सरकारले उपलब्ध गराउछ । अन्यत्र मुलुकमा हेल्थ इन्स्योरेन्स मार्फत उपचार हुन्छ तर हाम्रो नेपालमा भने उपचार जस्तो सरकारले उपलब्ध गराउनुपर्ने आधारभुत कुरामा पनि जनताले तपाईंहरुको पार्टी कार्यकर्ताहरुको निजि अस्पतालहरुमा महङ्गो पैसा तिरेर स्वस्थ सेवा लिनुपर्ने अवस्था आखिर कहिले सम्म ? उपचारको नाममा मान्छेको शरीरमा भएको अङ्ग नै निकालेर तस्करी हुन्छ भने अब कसरी उपचारको लागि अस्पतालमा आम सर्वसाधारण जनताहरु जानू ? कमरेड एउटा जिम्मेवार बिशिस्ट व्यक्ति, मिर्गौला पीडित भएको व्यक्ति पीडा कस्तो हुन्छ ? भन्ने राम्रोसँग जानकार भएको व्यक्ति यो प्रश्न आज पीडित रिमालले मात्रै होइन तपाईंलाई मत दिने ३ करोड जनताले सोधिरहेकाछन । न्याय समान्ता कानुन कस्को लागी हो ? जो गरिब छ, जो कमजोर छ, जो बोल्न सक्तैन, जो आफ्नो शक्ति छैन, जसको सम्पत्ति छैन उसलाई मात्रै लाग्ने हो ? कानुन सबैलाई समान हो भने किन एमालेको कार्यकर्ताको लगानीमा चलेको मनमोहन मेमोरियल अस्पताल मिर्गौला चोरी काण्डमा प्रहरी प्रसासन रिपोर्ट दर्ता गर्न डराउछन ? डराउनुको कारण के छ ? कतै शक्तिको दुरुपयोग त गर्नुभएको छैन ? यदि यो केशमा तपाईंको मिर्गौला मनमोहन अस्पतालले झिकिएको भए के हुन्थ्यो ? केहि आत्ममनन गर्नु सक्नुहुन्छ ? पीडितलाई न्याय दिने काममा तपाईंको पनि साथ सहयोगको आवस्यकता छ । राजनीतिक दलहरूले धेरै राष्ट्रको सम्पत्ति बेचेका छन ।

महाकाली, टनकपुर, कोशी, माथिल्लो कर्णाली, भएको खोलानालाहरु बिचेकाछन । आज हुँदाहुदै आफ्नो नागरिकको मिर्गौला (किड्नी) मुटु, कलेजो, फोक्सो, हातखुट्टा, हड्डी भए भरको सबै बेचिन थाल्यो भने भबिस्यको नेपाल र आम नेपाली सर्वसाधारण जनताको हबिगत कस्तो होला ? आज बेलैमा यो घटनाबाट चेतना हुनुपर्छ । अस्पताल निजीकरण गरेर लाखौं करोडौं त कुम्लाउने काम भएको छ आम नागरिकलाई भने झन गरिबीको रेखामुनि धकेल्ने काम भएको छ । मुठ्ठी भरको शासकहरुले आज जनताको नैसर्गिक हक अधिकार माथी कुठाराघात गरेर झनै आर्थिक, सामाजिक, सास्कृतिक हिसाबले गरिब बनाउने काम भैरहेको छ । यदि जनता, मुलुकको हितमा सोच्ने हो भने ओलि कमरेडलाई ३ करोड जनताको अनुरोध छ । स्वस्थ सेवा सरकारले फ्रीमा उपलब्ध गराउने तर्फ जाओस् । स्वस्थ बिमा गरेर, निजि अस्पताल, क्लिनिकहरु बन्द गरेर सरकारले नागरिकको जनधनको सुरक्षा दिने काम गरोस् । यो देशका सारा सर्वसाधारण जनता तपाईं जस्तै प्रधानमन्त्री बन्न योग्य छैनन् ।

तपाईंले पाको जस्तो दक्षिण एसियाली सबैभन्दा महङ्गो स्वस्थ सेवा पाउने छैनन् । तर तिनै गरिब, आर्थिक हिसाबले पिछडिएका जनसमुदायको प्रतिनिधि पक्कै तपाईं पनि हो । उनीहरुको एक एक गाँस बाट तिरेको करले आज तपाईंले स्वस्थ लाभ लिनु पाउनुभयो । भबिस्यमा पनि निरन्तर रहला । साथै प्रधानमन्त्री जस्तो बिशिस्ट पदमा पुग्नको लागी सबै बिशिस्ट व्यक्तिहरुले तपाईंलाई मतदान गरेको छैनन् । बिहान के खाउ बेलुका के खाउ भन्ने सर्वसाधारण जनताले तपाईंलाई मतदान दिएर चिल्लो गाडीमा आज सरर झण्डा हल्लाउँदै हिड्ने सम्म बनाएका थिए अझै पनि बनाउने छन । हिजो राजधानी छिर्दा चप्पल पट्काएर छिर्ने नेता कार्यकर्ताहरु सुकिला मुकिला भएका छन करोडौंको घरबार जोडेका छन । आफ्नो छोराछोरी युरोप अमेरिका अस्ट्रेलियाको प्रठिष्ठित, महङ्गो बिधालय अध्ययन गरेकाछन । अनउत्पादित क्षेत्र राजनीति गरेर यो सम्पत्ति बिलासिता कहाँ बाट आयो ? जनताले सोध्ने अधिकार छैन तर मनमा धेरै प्रश्न तपाईंहरु जस्तै बिशिस्ट महानुभावमा जनजनको मनमा छ । हवस् त अभिवादन । मनमा भएको वेदनालाई पत्र मार्फत तपाईं सामु पोख्ने कोसिस गरेको छु । भुल भए माफी चाहान्छु ।

भवदिए,  हेम चन्द्र राई
युएई

(यो लेखकको नितान्त नीजि बिचार हो ।)

प्रकाशित : शनिबार, असार २४, २०७४१७:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

स्मार्ट गाउँ र नगर कसरी बनाउँने ?