सन्दर्भ स्थानिय निर्वाचन, सम्बन्ध रेणु, रञ्जु र रेखा

रुपनी जि.एम

मैले सुनें,–“रेनु दाहाललाई किन माओबादीले टिकट दिएको होला है ? न बोल्ने ढङ्ग छ नत विकास गर्ने कुनै क्षमता नै छ । हुन्थ्यो भने त बनेको संरचना भत्काएर हिंडदैनथी । बिर्सेको छ र हामीले ? उनीहरुकै कारणले आज यो यी हाल भाको छ । घरबार छोडेर सडक पेटीमा बस्नु परेको छ ।”

पल्तिर पट्टिबाट अर्कीले थपिन्–“जे भएनी उ एउटी महिला हो है । उस्ले त्यतिबेला जे गरी त्यो त्यही समयको आवश्यकता अनुसार नै गरी । बिचरी….मलाई त माया लाग्छ पो । अहिले सबैले उस्को खेदो खनेको देख्दा साँच्चै मलाई चैं मन परेको छैन है । तिमीहरु जे सुकै पो भन ।” उनले फेरी थपिन्–“जम्मैले देवी ज्ञावलीले यति ल्याए देवी ज्ञावली उति ल्याए । ल्याउन त रेनुले नी ल्याएकी छन् है । खै त उनको बारेमा कसैले राम्रो लेखेको ? छोरा मान्छेसंग प्रतिस्पर्धा गरेर त्यतिका मत ल्याउनु पनि जातिबिति धेरै हो के ।”

बडो अचम्मको सम्बाद थियो यो । समय साँझको थियो । म अफिसबाट ईण्डिएन एम्बेसी हुँदै घर फर्कदै थिएँ । बाटोको छेउमा थुपै्र व्यापारिहरु विभिन्न खाले तरकारी बेचिरहेका थिए । साँझको समय भएर होला मान्छेहरुको चहलपहल अलि बाक्लो थियो । त्यही छेउँमा लस्करै ३/४ जना दिदीहरु मकै पोल्दै बेचिरहेका थिए । मेरा कानले उनीहरुको सम्बाद सुन्न पुग्यो र म पनि मकै खाने निहुँ पारेर त्यो कपुरधारा नपुग्दैको ओरालोमा रोकिएँ ।

मैले मकै किनेर पैसा दिंदै गर्दाको समयसम्म उनीहरु यसरी नै एकआपसमा गफिदै थिए । उनीहरुलाई कसैको मतलब थिएन । कोहीले कम्मरमा पटुकी बाँधेका, लुङ्गि र ब्लाउज पहिएर फुलि बुलाँकिले अनुहारलाई सजाएका भने कोहीले कुर्ता एउटा रङ्गको र सुरुवाल अर्काे रङ्गको लगाएका । कोही आफ्नै चप्पल ओछ्याएर बसेका त कोही मकै बोकेकै बोरा ओच्छ्याएर बसेका ।


“हैन कस्तो अचम्म हो ? रेखा थापाले छोटो कपडा लाउँदा पनि पत्रकारहरुलाई नपच्नि लामो लुगा लगाएर राजनीति गर्न खोज्दा नि यी पत्रकारहरुलाई नपच्नि ? कि राम्रो लेखुन् । कि लेख्दै नलेखुन् । नराम्रो लेख्नु भन्दा त हामीले जस्तै सडकपेटीमा मकै पोलेर बेचे हुन्छ है । हैन र ?”

झट्ट हेर्दा लाग्थ्यो उनीहरु पढेलेखेका होईनन् । तर उनीहरुले राजनीतिक विषयमा छेडखानी गरेको सुनिरहंदा भने मलाई मेरै मुल्याङ्कनमा लाज लाग्योे । हुन त अनुहार र पहिरन हेरेर कसैको क्षमतालाई मापन गर्न सकिंदैन र मिल्दैन पनि । तर त्यतिबेला मैले आफ्नै परिकल्पनामा अशिक्षित होलान भन्ने उनीहरुको मानचित्र बनाएँ । र म फेल पनि भएँ । र साथै लज्जित पनि ।

मकै बेच्दै गरेका दिदीहरु मध्यकी अन्तिममा बसेकी दिदीले पल्लो छेउबाट निधार खुम्च्याउँदै रेखा थापाको राजनीतिलाई जोडेर विभिन्न चर्चा परिचर्चा गरी लेखिएको विषयमा विभिन्न पत्रपत्रिका र पत्रकारहरुलाई धारे हात तेर्साउँदै यसरी गालि गरिन्–“हैन कस्तो अचम्म हो ? रेखा थापाले छोटो कपडा लाउँदा पनि पत्रकारहरुलाई नपच्नि लामो लुगा लगाएर राजनीति गर्न खोज्दा नि यी पत्रकारहरुलाई नपच्नि ? कि राम्रो लेखुन् । कि लेख्दै नलेखुन् । नराम्रो लेख्नु भन्दा त हामीले जस्तै सडकपेटीमा मकै पोलेर बेचे हुन्छ है । हैन र ?”

एकछिन त लाग्यो उनले मलाई नै धारेहात तेर्साउँदै गालि गरेकी हुन् । तर पछि सोचें मैले त त्यस्तो केही लेखेकी छैन । त्यसैले म ढुक्क भएँ उनको यो गालि मेरो लागि हैन भन्नेमा । उनको कुरा सुनेर त्याहाँ भएका अन्य मानिसहरु खितितित्त हाँसे । म पनि हाँसिदिएँ । उनलाई भने फरक परेन । उनी आफ्नै सुरमा मकै पोल्दै बेचि रहीन् । उनले रेखा थापाको प्रशसङ्ग निकालेपछि म भने कुरा गर्नलाई उनी तिरै लम्किएँ ।

घर नुवाकोट । नाम कनीमाया काफ्ले । काठमाण्डौमा मकै पोलेर बेच्न लागेको करिब एक दशक हुन लागेछ । उनीसंगै कुरा गर्दा पो थाहा पाएँ त उनी सबैखाले पत्रपत्रिकाको पाठक रहेछिन् । कक्षा ८ सम्म पढेर बीचैमा पढाई छाडेकी कनीमायाले पत्रपत्रिकामा विषेश गरि महिलाका कुरालाई पढ्दी रहिछन् । उनको बारेमा यति बुझेपछि मैले सजिलै अनुमान लगाउन सकें कि कनीमायालाई काठमाण्डौबाट प्रकाशित हुने सबैखाले पत्रपत्रिकाको बारेमा रामै्र ज्ञान रहेछ भन्ने ।

कुराकानी कै शिलशिलामा मकै पोल्दै उनले सुनाईन्–“राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्ति मगरको कति राम्रो समाचार छापिएको थियो । उहाँहरुको समाचार पढ्दा पनि कति आनन्द लाग्थ्यो । पत्रकार भएपछि त यस्तै राम्रा कुरा छाप्ने हो नि त । जहिले महिलाले लगाउने लुगा फाटाको कुरा छापेछ, महिलाहरुको चरित्र उथुलपुथुल पारेको छ । बेकामीहरु ।” उनको रिस त्यो खुम्चिएको निधारमा प्रष्टै देखिन्थ्यो ।


ए राम हो । मसंग आएर कोही पत्रकारले सोधुन न कुनै दिन त्यतिबेला मैले सुझाव मात्रै दिएर पठाउने थिएँ । के गर्नु र हामी जस्तालाई सोध्न को पो आउँछन् र ।”

कनीमायाको कुरामा कुरा मिसाउँदै अलि बीचको लाईनबाट अर्की दिदीले आफ्ना कुरा यसरी सुनाईन्–“हिजो आज त्यो रञ्जु दर्शनाको खेदो खनेका देखेका छैनौं र तिमीहरुले ? कसैले बच्चि अरे, कसैले भर्खरै सिक्दैछिन् नानीले अरे, कसैले चैं जित्न त जित्दिनन् चर्चामा भने आउने भईन्, हँुदाहुँदा यतिले मात्र नपुगेर रञ्जुले राजनीति गर्ने पैसा विदेशी डलर हो भन्दै खेदो खनेको । ए राम हो । मसंग आएर कोही पत्रकारले सोधुन न कुनै दिन त्यतिबेला मैले सुझाव मात्रै दिएर पठाउने थिएँ । के गर्नु र हामी जस्तालाई सोध्न को पो आउँछन् र ।” गुम्सुमिएको मनको पिडालाई कनकनाउँदै गुनासोमा व्यक्त गरिन् उनले । म भने सुनेको सुनेई भएँ ।

तीदिदी त्यसरी बोल्दा यता म कनीमायाको छेवैमा बसेर मकै खाईरहेकी थिएँ । मैले कनीमायालाई सुटुक्क सोधें । ती दिदीको नाम के हो तपाँईलाई थाहा छ ? उनले नाम मात्र भन्नुको साटो उनको बारेमा वारवार्ति भनि दिईन्–“दुख पाकी छे बिचरीले । लोग्ने विदेश गएर लापत्ता भएपछि गाउँमा साउले क्रण माग्न थालेछन् रे । अनि त उस्को पालो दुई बहिनी छोरी र एक भाई छोरा बोकेर सिन्धुलीबाट काठमाण्डौ आईछे । जनजाति हो के त्यो त । दरी पो छे है । नाम चंै गीता थापा हो । महिलालाई हेप्न हुन्न है कसैले पनि भन्छे याँ हामिलाई पनि ।”

मैले नसोध्दै उनले गीताको बारेमा अझंै थपिन्–“यस्ले त एस.एल.सी सम्म पढेकी पनि छे । काठमाण्डौमा आएर एउटा कुन चैं हो कुन्नी अफिसमा कुचो लाउने काम पनि पाएकी रैछ तर त्याँ चित्त नबुझेर अहिले मकै पोलेर बेच्छे । त्यो कुचो लाउने काम भन्दा त मकैबाट धेरै कमाउँछे । तपाँई के सोध्नु हुन्छ त्यसको बारेमा ? यस्का कुरा सुन्नु भयो भने त तपाँई छक्क पर्नु हुन्छ । हामी त छक्क पर्छाैं ।”


वास्तवमै हामी कस्तो पत्रकारीता गरिरहेका छौं ? के हामीले पाठकहरुबाट हाम्रा निम्ति राय र सुझावहरु कहिल्यै सुनेका छौं ? पक्कै छैनौं सायद सुन्थ्यौ भने आज यसरी यी दिदीहरुको नजरमा हामी पत्रकारहरु नराम्रा बन्दैनथ्यौ ।

यस्ता छक्क पार्ने खालका कुरा केवल कनीमाया र गीताले मात्रै हैन त्यस ठाउँमा मकै पोलेर बेच्न बसेका झापाकी धनसरी र रुकुमकी बाला पनि छिन् । कनीमायाको मुखबाट मैले गीताको कुरा सुनेपछि सँच्चै यो लेखिका छक्क मात्र परिन सोच्न बाध्य समेत भई ।

वास्तवमै हामी कस्तो पत्रकारीता गरिरहेका छौं ? के हामीले पाठकहरुबाट हाम्रा निम्ति राय र सुझावहरु कहिल्यै सुनेका छौं ? पक्कै छैनौं सायद सुन्थ्यौ भने आज यसरी यी दिदीहरुको नजरमा हामी पत्रकारहरु नराम्रा बन्दैनथ्यांै । निष्पक्ष भएर गरिने पत्रकारीताको मूलमन्त्र हराउँदै गएको बेला यी दिदीहरुले यो कुरालाई सम्झाई दिएका छन् । स्थानिय निकायको चुनावले स्थानिय तहलाई मात्रै हैन पत्रकारीताको आचारसंहितामा रहेर पत्रकारीता गर्नमा जनता जागेका होउन् । जस्ले हाम्रो पत्रकारीताको शैलीलाई पनि परिवर्तन गर्न सकेकोहोस् ।

(लेखिका काठमाडौँमा क्रियाशील पत्रकार हुन् । उनी लाइट नेपाल डटकममा आबद्ध छिन् । सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।) 

प्रकाशित : बुधबार, जेठ १०, २०७४१३:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

स्थानीय निर्वाचनमा तालमेलको समस्या