गुडबाइ ईशारा ! निकै नै मार्मिक कथा

[sharethis-inline-buttons]
Leaderboard Banner

पुस १, २०७१त्यसदिन म अफ मुडमा थिएँ । नेपाल जाने नियमित उडान रद्द भएकाले कतारको दोहा एयरपोर्टमा अलमलिँदै बसेको थिएँ । घरी सुनका महँगा गहना, घरी अत्तरको सुगन्ध, घरी रेड र ब्ल्याक लेबलका बोतलहरू नियाल्दै समय काटिरहेको थिएँ । सुरक्षाका लागि खटिएका एकजना नेपाली दाइ भेटिए । चिनजान भयो, कुराकानी पनि लामै भयो । उनको तलबदेखि नेपालको ठेगानासम्म सोध्न भ्याएँ । कुरा सकिएपछि म पहिलो तलातिर उक्लिएँ । लिफ्टको अन्तिम खुट्किला उत्रिसकेर केही पाइला मात्र के हिँडेको थिएँ पछाडिबाट कसैले मेरो हात समात्यो । जगत दाइ होइन ? मुन्टो पछाडि फर्काउने क्रममा छोरीमान्छेको स्वर सुनियो । हो, अनायासै बोलें ।
अनि तपाईं ? मेरो प्रश्न थियो ।

‘अरे मलाई चिन्नु भएन, म ईशारा क्या ।’

ओ, ईशारा, नीराजन सरकी छोरी होइन ?

हो, दाइ ।

ईशारा, मेरी भावनात्मक बहिनी, निस्तेज, उदास अनुहारमा मेरो अगाडि थिइन् । पहिलेको धपक्क बल्ने उनको अनुहार अहिले तेल सकिएको बत्ती निभ्न लागेको प्रतीत हुन्थ्यो । ईशाराको अनुहारलाई मैले जति पटक हेरंे, त्यति नै पटक मनमा नमीठो तरङ्ग बग्यो । उनका दुई साथीसहित चारजना खाजा खान माथिल्लो तलामा उक्लियौं । खाजा खाई नसक्दै ईशाराले आफू धेरै थाकेको कुरा, धेरै दिनदेखि राम्रोसँग सुत्न नपाएको कुरा खोलिन् । भित्रैदेखि मायाको भाव उर्लेर आयो । हामी उड्ने जहाजको कुनै ठेगान थिएन । त्यसैले आराम कक्षमा लिएर गएँ । थकाइ र निद्राले सताइएकी ईशारा केही छिनमै निदाइन्् तर म अतीततर्फ फर्किएँ ।

दशक वर्षअघिको कुरा हो । म क्याम्पस पढ्न काठमाडौं पुगेको थिएँ । कलेज पढाइका ती दिन मेरो जीवनका लागि दु:खका पाठ सिक्ने दिन थिए । घरबाट आउने खर्च सकिएपछि धेरै टाढाको बाटो पनि पैदल हिँडें । होस्टलभित्रको बसाइ जीवनकै अनौठो मोड थियो मेरो लागि । कलेजको होस्टलमा हामी धेरै थरिका धेरै मान्छे थियांै । विकट ठाउँबाट आएका हामीहरू बसाइ पनि विकट नै थियो । यस्तैमा एकदिन होस्टल वार्डनले मलाई ‘कसैको घरमा गएर होम ट्युसन पढाउने हो ?’ भनेर सोध्नुभयो । मैले सोच्दै नसोची हुन्छ भनें । त्यही सिलसिलामा एकदिन एकजना मानिस मलाई लिन होस्टलमा आए । पुरानो हिरो होन्डा बाइकको पछाडि बसेर म उनको घरमा पुगेको थिएँ । हामी गेटबाट छिर्दा ईशारा गमलामा पानी हालिरहेकी थिइन् । तिनले मलाई उनको छेउमै पुर्‍याएर भनेका थिए, ‘छोरी, तिम्रा नयाँ गणित शिक्षक ।’ नीराजन सरको घरमा जहिलेदेखि जान थालें, म कहिल्यै खाली मुख फर्किन । कहिले खाजा, कहिले खाना, कहिले चिसो, कहिले तातो, कहिले फलफूल आदि । एक किसिमले म त्यो परिवारसँग खुब झिम्मिएँ । ईशारा पनि खुब झिम्मिइन् मसँग । उनी त्यतिबेला ९ कक्षामा पढ्थिन् । उनको भाइ प्रमेश अलि सानै थियो । सुभद्रा आन्टी -ईशाराकी ममी) ले पनि मलाई खुब माया गर्नुहुन्थ्यो । आफ्नै जस्तो लाग्न थालेको थियो मलाई त्यो घर । एउटा दसैं र तिहारको छट्टीभरि म घर गइन । त्यो बिदाको समयले मलाई ईशाराको परिवारसँग अझ नजिक बनायो । दसैंमा दिनहुँजसो म त्यो घरमा पुगें अनि तिहारमा त ईशाराले मलाई टीकाका लागि निम्तो नै दिइन् । त्यसपछि त्यो परिवार मेरो पनि परिवारजस्तै भयो । अध्ययनको एक अध्याय सकिएपछि म गाउँ फर्किएँ । गाउँबाट नीराजन सरको परिवारसँग सम्पर्क टुट्दै गयो । समयले मलाई लाहुरे बनायो । लाहुरे भएको पनि थुप्रै समय बितिसकेछ । अचानक ईशारालाई भेट्दा अतीत पल्टियो । यस्तैमा नेपाल जान ढिला भएको कतार एयरवेजको उडानका लागि यात्रीहरूलाई सूचना जारी भयो । ईशारालाई ब्युँझाएर हामी बोर्डिङ पासको गेटतिर लाग्यौं ।

प्लेन यात्रीहरूले टनाटन भरिएको थियो । एयर होस्टेजलाई भनेर ईशारा र मैले एउटै ठाउँमा बस्ने प्रबन्ध मिलायौं । हामी छुट्टएिको पनि धेरै भएछ, मैले कुराको थालनी गरें ।

हो नि दाइ, भाग्य दरो रहेछ आज मेरो । ईशाराले भनिन् ।

बहिनी तिमी आज कसरी यो अवस्थामा ? मैले जिज्ञासा तेस्र्याएँ ।

दाइ, यो छोटो जिन्दगीको कथा साह्रै लामो छ । के तपाईं सुन्न तयार हुनुहुन्छ र ?

मैले स्वीकृतिको मुन्टो हल्लाएँ । उनले कुरा गर्न थालिन्-‘दाइ, मेरो सम्झना भएसम्म, तपाईं गाउँ फर्किएको साल नै हो क्यारे मैले कलेज सुरु गरेको । कलेजको पहिलो वर्ष रमाइलोसँग बित्यो । दोस्रो वर्षको मध्यतिर बाबाको सरुवा बुटवलमा भयो । अब हाम्रो परिवार दुईतिर बाँडियो । म काठमाडौंंमा, बाबाआमा र भाइ बुटवलमा । त्यसै सालको दसैं मनाउन सपरिवार काठमाडौमा भेट हुने योजना बन्यो । आमाबाबा र भाइलाई भेट्ने उत्साहले मन प्रफुल्लित थियो । त्यो दिन अझै मलाई सम्झना छ, म घडी हेर्दै समय बिताइरहेकी थिएँ । दिन ढल्यो र साँझ पर्‍यो तर आमाबाबा र भाइ आएनन्, रात छिप्पियो, म रातभर जागै रहें । मनलाई अज्ञात भयले छोयो । उज्यालो हुन लाग्दा पनि कोही आएनन् । बुटवलमा फोन सम्पर्क गर्दा पनि कुनै जानकारी पाउन सकिएन । एकाबिहानै घरबाहिर गाडीको हर्न बज्यो । म हतारमा बाहिर निस्किएँ । तर बाहिर एम्बुलेन्स बत्ती बालेर बसिरहेको थियो । मेरो मुटु अचानक जोडले ढकढकियो । नीराजन सरको घर होइन ? कोही बोल्यो । हजुर हो, मैले भनें । तपाईं उहाँकी छोरी हो ? -फेरि प्रश्न तेर्सियो । हजुर, अनि तपाईं नि त ? मैले प्रश्न फर्काएँ । ए म तपाईंलाई शिक्षण अस्पतालबाट लिन आएको कर्मचारी । तपाईंको परिवार हिजो दुर्घटनामा परेछ । अस्पतालमा उपचार हुँदैछ । तपाईं चाँडै जानुपर्‍यो । उक्त कुरा सुनेर म जमिनमुनि भासिएझैं भएँ । मेरो गोडाहरू थरर्र कामे । म बेहोसीमै अस्पताल पुगें । त्यसपछि मलाई आईसीयुमा पुर्‍याइयो । जहाँ मेरो भाइ अचेतावस्थामा लडिरहेको थियो । थाहा पाएँ उसको एउटा खुट्टामा हेर्नै नसक्ने डरलाग्दो चोट लागेको रहेछ । त्यसपछि मलाई भित्री कोठामा पुर्‍याइयो । मेरी आमा भेन्टिलेटरमा सास अल्झाइरहनुभएको थियो । आमाको छाती र टाउकोमा लागेको चोट देखेर मैले केही सोच्नै सकिन । म आफै यो सब के भैरहेको छ बुझ्न सकिरहेकी थिइन । यत्तिकैमा कसैले मलाई बाबाको घटनास्थलमै देहान्त भएको जानकारी दियो । मलाई सपनाझैं लाग्यो । मेरो आवाज हरायो । म कहालिएर रुन पनि सकिन । म लाटी भएँ, एकदम लाटी ।’ प्लेनले भुइँ छोडेर अघि नै आकासिसकेको थियो । सँगै ईशाराको जीवन कहानी पनि गहिरिँदै थियो । ईशारा भन्दै गइन्, ‘दाइ, त्यो ठूलो दुर्घटनाबाट आमा पनि बाँच्न सक्नुभएन । भाइ बच्यो तर उसको एउटा खुट्टा बचेन । हामी बेसहारा बन्यौं । भाग्यमाथि त्यत्रो ठूलो चट्याङ पर्दा सहयोग गर्ने कोही भएन, आफन्तहरू नै आँधी बनेर आए । बाबाले कमाएर बनाएको घरलाई समेत अंकलले आफ्नो भनेर दाबी गर्नुभयो । दाइ, बाँच्न साह्रै अप्ठ्यारो रहेछ । मेरो पढाइ पनि बिगि्रयो । जीवन भताभुङ्ग भएको बेलामा अरू कुरा सप्रने त कुरै भएन । गहिरो शोक त छँदै थियो अर्कातिर अभावले यसरी गाँज्यो कि भाइ र म कति दिन त भोकै पनि बस्यौं । जागिर खोज्दै जाँदा एउटा मेन पावर कम्पनीले मलाई रिसेप्सनमा काम दियो । त्यो जागिर नै भाइ र मेरो बाँच्ने सहारा भयो । केही वर्ष त्यहाँ काम गरेपछि विदेश जाने सोच आयो । भाइको पढाइलाई खर्चसमेत जुटाउन सक्छु भन्ने सानो आशा थियो । यसरी म थुप्रै नेपालीसँगै एकदिन इजरायल गएँ । परदेशको जीवन सजिलो नभए पनि एकदम गार्‍हो भने लागेन कारण त्यो भन्दा ठूलो दु:ख भोगेर म पाकिसकेकी थिएँ । घरभित्र काम गर्नुपर्ने नोकरजस्तै । हप्ताको एकदिन छुट्टी हुन्थ्यो । त्यो दिन नजिकै पार्कमा नेपालीहरू भेला हुन्थ्यौं । आफ्नो देशमै भएजस्तो लाग्थ्यो । भाइले फेरि पढाइ सुरु गरेको थियो । उसले मेरो दु:खअनुसार पढाइमा खुबै प्रगति गरेर देखायो । सबै कुरा ठीकै थियो । तर एकदिन लुटेराहरूले भाइलाई नराम्रोसँग पिटेछन् । मार्ने थिए तर त्यति नै बेला एकजना सज्जनले देखेर अस्पताल पुर्‍याएछन् । त्यो कुरा थाहा पाएपछि म सबै काम छोडेर नेपाल फर्किएँ । मेरो भाइ पीडा सहँदै अस्पतालको बिछ्यौनामा पल्टिरहेको थियो ।

भाइलाई अस्पतालबाट निकालेपछि उसलाई छोडेर इजरायल फर्किन मनले मानेन । अनि मैले नेपालमै सानोतिनो व्यापार सुरु गरें । बाँच्नलाई धेरै दु:ख गर्नुपर्दो रहेछ. । फुटपाथमा पसल गर्दा धेरै दु:ख सहंे । पुलिसले देख्नै नसहने । यो छोरीमान्छेको जातलाई साह्रै अप्ठेरो रहेछ । सामानभन्दा मेरो बैस किन्न खोज्नेहरू धेरै आउँथे । मेरो दु:ख कसैले बुझेनन् दाइ ।’ ईशाराको आँखा अँासुले भरियो । उनी भक्कानिएर रुन थालिन् । आफूलाई सम्हाल ईशारा, रोएर कमजोर नबनाऊ । मैले सम्झाउने प्रयास गरें । उनले आँसु पुछ्दै भनिन्-‘म कमजोर छैन दाजु । अब त म समयलाई गलाउने गरी बलियी भैसकेकी छु ।’ मेरो कथा यतिमै सकिँदैन दाजु । मैले त्यो व्यापार पनि छोडिदिएँ र पोहोर साल फेरि अरब आएँ । अरबमा त मैले कुकुरले नपाएको दु:ख पाएँ । मैले काम पाएको घरका मान्छे सार्‍है क्रुर थिए । जानेबित्तिकै मेरो पासपोर्ट खोसेर राखे । बाहिर जाने अनुमति थिएन । तीन तल्लाको १२ कोठा मैले हेर्ने संसार थियो । खाना पकाउनुपर्ने, खाएका जुठा थाल सफा गर्नुपर्ने, मैला कपडा धुनुपर्ने, सुत्ने बिछ्यौना मिलाउनुपर्ने । दास भएर के गरिन मैले ? कोठा-कोठामा फूल रोपंे, पानी हालंे, हेर्दाहेर्दै मेरो पसिना फूल भएर फुल्यो । फूलले कोठा-कोठा मग्मगायो-त्यो मरुभूमिको घरमा, तर म फुल्न सकिन । म त सुक्दै गएकी थिएँ । कति रात त म अनिँदै बस्नुपथ्र्यो । मध्यरातसम्म पनि म भोकै हुन्थें । किचेनको साँघुरो टेबलमै हातलाई सिरानी बनाएर निदाउँथें म । सहरको अलि बाहिर रहेको त्यो घरमा म कैदीजस्तै बाँचिरहेकी थिएँ । टाढा सहरमा बलेको बत्तीसँग रहर आउँथ्यो । म कहालिएर रुन्थें । यस्तैमा मसँगै काम गर्न आएकी रमा भन्ने साथीले मलाई चिठी लेखिन् । मलाई त जीवनमा एकदमै ठूलो कुरा पाएझैं लाग्यो । त्यसमा उनले भोगिरहेको दु:खको बेलिबिस्तार थियो । सँगै डोल्मा भन्ने नेपाली छोरीले आफूलाई बलात्कार गर्न खोज्नेलाई मारेको कुरा पनि थियो । रमाले आफूले दु:ख भोगेर बस्नुभन्दा भाग्ने योजना बनाएको अनि सहरमा बस्ने एकजना सहयोगी नेपाली दाइको ठेगाना समेत चिठीमा लेखी पठाएकी थिइन् । मलाई बन्धनबाट मुक्त हुन जुक्ति मिलेको अनुभूति भयो । मैले पनि एक रात त्यो घर छोडें । मसँग केही थिएन सिवाय एकसरो कपडा । पासपोर्ट हुने त कुरै थिएन । घरको गेटबाट निस्किएपछि नै मैले उन्मुक्तिको सास फेरें । अनि रातभर रोडको छेउछेउ बालुवा-बालुवा हिँडें । त्यत्रो रातभर हिँड्दा पनि थकानको कुनै अनुभूति थिएन मलाई । म उज्यालो हुँदा सहरमा पुगिसकेकी थिएँ । सहरमा ट्याक्सीको सहयोग लिएर म रमाले भनेका नेपाली दाइकहाँ पुगें । सबै कथा बेलिबिस्तार लगाएँ । उहाँले नै दूतावासमार्फत पासपोर्ट दिलाउनुभयो र उहाँकै सहयोगमा म नेपाल उडेकी थिएँ । दाजु मेरो भाग्य बलियो रहेछ, तपाईंलाई भेटें ।’ जिन्दगीको कालो रात काटेर आइछौ बहिनी । अब सब ठीक हुन्छ । मैले माइतीको मन बोलंे । यसरी ईशाराको कथा सकिँदा हामी काठमाडौंको आकाशमा पुगिसकेका थियौं । प्लेनमा आरामले निदाएकाहरू बिउँझिन थालेका थिए । प्लेन अवतरण भयो र हामी एअरपोर्टबाहिर निस्कियौं । रात पर्न थालेको थियो ।

ईशारालाई भनें, आज मेरै घरमा जाऊँ ।

हुन्न दाजु, आज त मैले भाइलाई भेट्नैपर्छ ऊ बसेको कोठामै लाग्छु बरु भोलि हामी दुवै आउनेछौं ।

मैले पनि उनको कुरा काट्न सकिन । ल भोलि भेटौं है त भन्दै म छुट्टएिँ ।

मुख धुँदा बिहानै फोनको घन्टी बज्यो । बाबाले प्रमेशको फोन मेरा लागि होल्डमा भएको कुरा बताउनुभयो । मैले तत्काल फोन उठाएँ । हेलो, प्रमेश भन, दिदीसँग कति बजे आउँदै छौ ? दाइ, तपाईं अस्पतलमा चाँडै आउनुपर्‍यो । अचानक दिदीलाई हर्टएटेक भयो । उहाँ अहिले बी.एन्ड.बी. हस्पिटलको इमरजेन्सी कक्षमा हुनुहुन्छ । म एक्लै छु, सहयोगका लागि फोन गरेको दाजु । प्रमेशको आत्तिएको स्वरले म विस्मित भएँ । मनमनमा सोच आयो, ‘हे भगवान्, यो सब के

भैरहेछ ?’ म अस्पतालतिर हान्निएँ । कस्तो संयोग, बाटोमा दुर्घटना भएर जाम । पछाडि र्फकने ठाउँ छैन, अघि जाऊँ कुनै उपाय नै छैन । एकछिन खुब भुत्भुतिएँ । बल्लतल्ल बाटो खुल्यो । अस्पताल पुग्दा हि्वल चियरमा प्रमेश रोइरहेको थियो । उसको नजिकै ईशाराको लाश थियो, मसँग बोल्ने शब्द नै थिएन । मैले प्रमेशलाई अँगालो हालें । प्रमेश कहालिएर रोयो । जिन्दगी हाम्रो हातमा छैन प्रमेश, आफूलाई सम्हाल । केही ढाडस दिन खोजें । हाम्रो वरिपरि मानिसहरू भेला भैसकेका थिए । मैले मनमनै प्रार्थना गरें, ‘ईशारा, तिम्रो आत्माले शान्ति पाओस्, गुडबाइ ईशारा ! ‘

जगत नवोदित, कान्तिपुर नारीबाट 

प्रकाशित : बुधबार, चैत २३, २०७३१४:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

स्वास्नी मान्छेको जीउ !!!