शिव मानसपूजा स्तोत्र
हे दीनबन्धु, दयानिधे, हे देव पशुपतिनाथ ।
गर्न बसेँ म पूजा तिम्रो, छैन सामाग्री साथ ।।
रुप सम्झदैँ मनले तिम्रो, भक्ति गर्छु प्रभो ।
यो सब पूजा–मानसिक हो, ग्रहण गर शम्भो ।।१।।
तिम्रो लागि स्वर्ण सिँहासन, मनमै कल्पी बनाएँ ।
शीतल हिमालयको जलले, तिम्रो स्नान गराएँ ।।
रत्न जडेको बस्त्राभूषण– पहि¥याउन ल्याएँ प्रभो ।
यो सब पूजा–मानसिक हो, ग्रहण गर शम्भो ।।२।।
शुद्ध श्रीखण्ड र कस्तुरी हाली ,
चन्दन लेप बनाएँ ।
अनेकन पुष्प र बेलपत्रको,
पुष्पाञ्जलि चढाएँ ।।
धूप, दीप सहित शङ्ख बजाई,
आरती गर्छु प्रभो ।
यो सब पूजा–मानसिक हो,
ग्रहण गर शम्भो ।।३।।
स्वर्णपात्रमा दहि, दुध, घिउ र
सर्वत हाली ल्याएँ ।
जे–जति सम्झेँ – व्यञ्जन सारा,
तिम्रै लागि बनाएँ ।।
पान, सुपारी र फल पनि ल्याई,
चढाउँदैछु प्रभो ।
यो सब पूजा–मानसिक हो,
ग्रहण गर शम्भो ।।४।।
छत्र, चवँर अनि दर्पण पङ्खा,
कल्पी–कल्पी बनाएँ ।
मृदङ्ग, वीणा, दुन्दुभी बाजा,
जानी–नजानी बजाएँ ।।
नाच–गान अनि गरि प्रणाम,
स्तुति पनि गर्छु प्रभो ।
यो सब पूजा–मानसिक हो,
ग्रहण गर शम्भो ।।५।।
मेरो “आत्मा” शिव तिमी नै हौ,
“बुद्धि” पार्वती माता ।
तिम्रा गणहरु “प्राण” मेरा,
तिमी नै मेरो “बिधाता” ।।
शरीर यो मेरो “तिम्रै मन्दिर”,
बास बसिदेऊ प्रभो ।
यो सब पूजा–मानसिक हो,
ग्रहण गर शम्भो ।।६।।
म जति हिँड्छु “परिक्रमा” होस्,
बोली “पाठ” बनोस् ।
बिषयभोग सबै नै “पूजा” तिम्रो,
निन्द्रा “समाधि” बनोस् ।।
जे–जति कर्म गर्दछु मैले,
“आराधना” होस् प्रभो ।
यो सब पूजा–मानसिक हो,
ग्रहण गर शम्भो ।।७।।
हात–पाउ अनि बोली, शरीर,
आँखा, कान र कर्मले ।
जानी–नजानी जसरी भएपनि,
मैले गरेको कुकर्मले ।।
पोल्यो मलाई, क्षमा गरिदेऊ,
माफी माग्छु प्रभो ।
यो सब पूजा–मानसिक हो,
ग्रहण गर शम्भो ।।८।।
———
उमामहेश्वर मार्ग, कुमारीगाल, का.म.पा.- ७