त्यो किताब मैले पाथिभराको आलमारीमा चडाएर दण्डवत् गरें

निर्मल भट्टराई

                      “पाथीभराको आलमारी”  

काठमाडौँ, २९ माघ – तेह्रथुम जिल्लाको सदरमुकाम म्याङ्गलुङ्गको पुर्वपट्टी खोरुङ्गा खोला बग्दछ । त्यस खोलाको पर्वपट्टीको भिरालो पाखो मेरो जन्म थलो हो । सिंचाईको असुविधा र बलौटे माटो भएका कारण उब्जनी कम हुने भएकोले जति खनी खोस्री गरे पनि बाह्रै महिना हात मुख जोड्न धौ धौ पर्दथ्यो । आजको जस्तो आय श्रोतका अन्य बाटा नहँुदा आफ्नो मात्र जग्गा जमीनको उब्जनीले बाच्न प्रायःअसम्भव हुन्थ्यो ।

मेरो जस्तो बाहुन परिवारका लोग्ने मानिसहरु दार्जिलिङ्ग पाती पढ्न जाने गर्दथे । कर्मकाण्डका सामान्य किताब पढेपछि पाती पढ्न पारङ्गत हुन्थे बाहुनहरु ।अग्रजसंग जानेले त्यत्तिकै पनि सिक्दथे । कर्मकाण्डका किताब प्रायः घरैमा पढिन्थ्यो । कोही कोही मात्र वृन्दावनतिर अध्ययन गर्न जान्थे र पण्डित बनेर आउँथे । धार्मिक र आध्यात्मिक समाजमा उनीहरुको हैसियत र आम्दानी दुवै राम्रो हुन्थ्यो । व्यासमा बस्ने पण्डित ठुला मान्छे मानिन्थे । मावलीमा लगाएको सप्ताहमा पण्डितको धारा प्रवाह प्रवचन सुनेर आमाले भन्नुहुन्थ्यो– यो केटो पनि यस्तै पण्डित भए पो ।
विद्यालयहरु खुले पनि वालवालिकालाई विद्यालय पठाउने चेतनाको राम्रो विकास भएको थिएन । गाउँभर एस. एल. सी पास गर्नेको संख्या अत्यन्तै न्युन थियो । एकाद तिनै ब्यक्तिहरु शिक्षित र गन्यमान्य कहलाइन्थे । गाउँको न्याय, निसाफ तिनकै हातमा हुन्थ्यो ।त्यति मात्र होइन, चिट्ठी पत्र पढ्ने र लेखिदिने काम तिनै एस.एल. सी पास गर्नेले गर्नु पर्दथ्यो । तिनै शिक्षित युवाहरुको पहलमा गाउँका भुरा पढाउन शुुरु गरेका थिए । पौष माघको समय ।

बाह्र ठाउँमा टालेको भोटो र धोक्रो जत्रो हाफ प्यान्ट लगाएर म पनि सामेल भएँ । धुलौटोमा छेस्काले लेखेर क,ख सिक्नुपर्दथ्यो । कपि कलम खरीद गर्ने हाम्रो सामथ्र्य थिएन । भोकमरीबाट बच्न खडा गरिएको धर्म भकारी भवनमा गुन्द्री ओछ्याएर हाम्रो पढाइ शुरु भयो । क ,ख सिक्न शुरु गर्ने हामीहरुको समान उमेर थिएन । कोही छ,सात बर्षका थिए भने कोही जँुगाको रेखी बसिसकेका युवाहरु एकै समुहमा थिए । म शारीरिक रुपमा मरन्च्याँसे र उमेरमा सानो भए पनि ती जुँगाको रेखी बसेका विद्यार्थीभन्दा चाँडो क,ख सिकें । हाम्रा क,ख पढाउने सर पनि सानो कदका नै थिए । क,ख चिन्ने प्रतियोगिता मैले जितें । पुरस्कार स्वरुप मैले मभन्दा धेरै अग्लो साथीलाई गालामा चड्कन लगाउनु पर्ने भयो । मैले उसको गाला नभेट्ने । सरले मलाई उचालेर चड्कन लगाउन लगाउनु भयो । अध्ययनको सिलसिलामा मैले पाएको प्रथम पुरस्कार थियो त्यो । चड्कन खानेको त्यही दिनदेखि पढाइमा पुर्ण विराम लाग्यो सदाका लागि ।
जाडोमा स्यु स्यु गरेर सिकेको क, ख गर्मी चढेपछि घरको र मेलापातको कामले बिर्सिहालिन्थ्यो । केही बर्ष अक्षर चिन्ने र बिर्सिने क्रम चलिरह्यो । एकदिन छिमेकीको विवाहको कार्यक्रम चलिरहँदा मेरो तीक्ष्ण दिमागको हामीलाई धर्म भकारीमा क, ख सिकाउने सरले ठुलो प्रशंसा गर्नुभयो ।त्यसले मेरा बुबालाई मलाई स्कुल भर्ना गर्न कर लाग्यो । फलस्वरुप म त्यही शैक्षिक सत्रदेखि विद्यालयमा भर्ना भएँ । छिमेकीले दिएको एक टुक्रो पेन्सिल र सोह्र पन्ने कपि लिएर स्कुल गएको अझै मेरो मष्तिष्कमा ताजै छ । टालेको भोटो,धोक्रो जस्तो प्यान्ट , टुप्पी निस्कने टोपी र खाली खुट्टा ।

क,ख लटरपटर जान्ने हुनाले कक्षा दुईमा भर्ना गर्ने निधो भयो ।
“नाम के हो?”सरले सोध्नुभयो ।
“खोमप्रसाद, खोमप्रसाद भट्टराई”,मैले चिनाको नाम बताएँ ।
“अहिलेको जमानामा त्यस्तो नाम सुहाउदैन, तिम्रो नाम निर्मल”,सरले मेरो दोश्रो न्वारान गरिदिनुभयो ।
घरमा आमा र म बाहेक कोही थिएन । बुबा र दाई दार्जिलिङ्गतिर पाती पढ्न हिडिहाल्नु भयो । बस्तुभाउ र खेतीपाती समाल्दा समाल्दै बिहान घाम माथि आइपुग्थे । मेरो विद्यालय हिड्ने वेलामा भर्खर चुल्हो बल्न शुरु हुन्थ्यो । मसंग दुई विकल्प थिए । कि स्कुल छोडेर भात कुरेर बस्ने या भोकै स्कुल जाने । मैले विना द्विविधा दोेश्रो विकल्प रोजें । मेरो पढाइ शुरु भयो । लेकको स्कुल, पौष माघको जाडो । ध्यान पढाइमा भन्दा जाडोमा हुन्थ्यो । घाम लागेको चौरमा बस्ने वा जङ्गलबाट दाउरा ल्याएर आगो ताप्ने । हाजिर लिएपछि जङ्गलमा दाउरा खोज्न दौडादौड हुन्थ्यो हामी विद्यार्थीको । सबै सर र विद्यार्थी बडेमानको आगो अगाडि झुम्मिन्थ्यौं । यत्तिकैमा दिन घर्किन्थ्यो । सरहरु नजिकैको लिम्बु दाईको पसलमा खाजा खान जानुहुन्थ्यो । एकजना संस्कृत पढाउने सरहरुको त्यो समुहमा थिएनन् ती सर प्रायः संस्कृतका श्लोक गुन्गुनाई रहन्थे । धेरै बर्षपछि मात्र मलाई उनले गुन्गुनाएको त्यो श्लोक बताए–
लालयत् पञ्चबर्षाणि दशबर्षाणि ताडयत् ।
प्राप्तेषु षोडशे बर्षे पुत्रमित्रवदाचरेत् ।।
कानसम्म त्रिशुले चन्दन लगाउने ती सरसंग पछिसम्म आगो तापिन्थ्यो । कपाल र लुगाभरि खरानी भरिभराउ । अनुहारभरी ध्वाँसो ।
“तिमी चाहिँ खाजा खान नजाने सार?” एक दिन लाहुरेको छोरोले सोध्योे ।
“आम्मोइ,लिम्बुको घरमा म खाजा खान जाने ?” सरले रिसाउदै भन्नुभयो ।
“किन हामी लिम्बुहरुकोमा सारले खाजा खान नहुने? त्यो अबोध लिम्बुले फेरि प्रश्न तेस्र्यायो ।
“तँलाई के मतलव? कि चुपचाप आगो ताप कि घर जा”
ऊ रिसाहा अनुहार बनाएर घर हिड्यो ।
“खाजा” भनेपछि आफ्नो घरको भुटेको मकै, कोदाको रोटीको सम्झना आउथ्यो । कपि पेन्सिल च्यापेर घरतिर कुद्थ्यौं हामी । बाटोमा सरहरु खुट्टा लरबराउदै घर फर्केको भेट्थ्यौ ।कोही कोही साथीहरु लरबराउदै हिडेका सरहरुलाई जिस्क्याउदै भाग्थे । घँघरु खाँदै हामी घरतिर लाग्थ्यौं ।
स्कुलमा प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप हुन्थ्यो । अतिरिक्त क्रियाकलापका एकाद घटनाको याद आउँछ । एक शुक्रबार हाजिरीजवाफ प्रतियोगिता हुदैथियो । म पनि एक टोलीको सदस्य थिएँ । टोली नेता जनक थियो । हाम्रो टोलीलाई यस्तो प्रश्न पर्यो–“क को बाबु ख हो तर ख को छोरो क होइन, उनीहरुको साइनो के हो ? उत्तर मलाई आउँथ्यो मैले टोली नेतालाई कानमा “बाबुछोरी” भनें । उसले हतपत उठेर “बाउजेरी” भनेर करायो !

सबै गलल्ल हाँसे । हाम्रो उत्तर मिलेन । अर्को एक शुक्रबार गायन प्रतियोगिता हुदैंथियो । संयोगवस बाटोमा कसैले राम्रो अक्षरमा लेखिएको छ हरफको गीत फेला पारेको थिएँ । नयाँ गीत भेटिएकोले प्रतियोगिता जित्नेमा म ढुक्क थिएँ । म न्वारान देखिको बल निकालेर लय निकालेर गाउँन थालें । आमाले गाएको संगिनी र भजन बाहेक मैले खास कुनै गीत सुनेको थिइन । सबै हाँस्न थाले । कुरा के रहेछ भने त्यो गीत त नारायण गोपालको प्रसिद्ध गीत “यौटा फुल द्यौरालीमा” पो रहेछ । मैले कहिल्यै त्यो गीत सुनेको थिइँन । घरमा रेडियो भए पो । बडो मेहनतका साथ एक शुक्रबार म्युजिकल चेयर खेलमा मैले प्रथम पुरस्कार जितेको थिएँ । पुरस्कार गोरखा पत्रले बेरेर निक्कै आकर्षक बनाइएको थियो । घरमा लगेर मात्र खोल्नु भन्ने सरको आदेश मानेर घरमा लगेर आमालाई देखाएँ । आमा पनि छोराले जितेको पुरस्कार देखेर फुरुङ्ग पर्नु भयो । खोल्दा त पत्रिकाले आँगन ढाकिसक्दा पनि पुरस्कार भेटिएन । अन्त्यमा अलि गरुगो कागजको डल्लो फेला पर्यो ।त्यो पनि कोट्याउँदा बल्ल पुरस्कार भेट्टियो । गमले मेहनतसाथ कागज टाँसिएको ताजा फर्सीको गट्टो । आमा पुरस्कार सम्झेर पछिसम्म हासिरहनु भयो ।
त्यसबेला राजाका जन्मजयन्ती र जन्मोत्सव आईरहन्थे । सबै अनिवार्य उपस्थित हुनुपर्ने । जन्मोत्सव र जयन्तीमा नारा जुलुस सहित नजिकैको औंशीबजार परिक्रमा गर्नु पथ्र्यो । अनि पञ्चहरुले आयोजना गरेको सभामा भाग लिनुपथ्र्यो । फागुन ७ गते त्यस्तै क्रार्यक्रम थियो । सरहरु हातमा लट्ठी लिएर भेडा बाख्रा डोहोर्याएभै हामीलाई औशीबजार तिर लैजानु भयो । “श्री ५ त्रिभुवन अमर रहुन्” एक जना सर जुलुसको अग्रपक्तिंबाट जोडले कराए । भर्खर भर्ना भएका विद्यार्थीले जोडले नारा लगाए–“आम्माओ आओ आओ” । सरहरुले हावामा लट्ठी घुमाउदै नारा सुधार्नु परेको थियो । स्कुल नजिकैको ठुलो चौरमा भेडा गोठालोको र सरहरुको हातमा दिनभरि जसो नै लट्ठी हुने गथ्र्यो । थरी थरीका लट्ठी ।
म कक्षा ६ मा पढ्दै गर्दा ताप्लेजुङ्ग जिल्लाको प्रसिद्ध पाथिभरा मन्दिर लैजान आमाले तयारी गर्नु भएछ । त्यहा पुग्न र आउन एक हप्ता घर छोड्नु आमालाई सहज थिएन । तर त्यो उहाको बाध्यता थियो । म दुई महिनाको हुदा निमोनियाले आलस तालस भएछु । दिनभरी फेदाङ्गवाले मुन्दुम र धामीले झारफुक गरेछन् । राती करीब २ बजे म सिकिस्त भएछु । घर एकान्तमा भएकोले अरुको सहयोग माग्ने संभावना थिएन । मलाई बचाउन आमाले एकै पटक दुईवटा आपदकालीन उपचार शुरु गर्नुभएछ । पहिलो, सुन्तलाको बोक्रो,कमेरो र दुबो सिलौटामा पिधेर उपलब्ध सफा रुमालले छानेर एक दुई थोपा मेरो मुखमा राखिदिनु भएछ । दोश्रो, म बाचिहाले भने म हिड्न सक्ने भएपछि पाथिभरा लैजाने भाकल गनु भएछ।

शायद औषधीको प्रभावले होला, म बौरिएछु । आमालाई त्यो भाकल सुत्ने ओछ्यानमाथि त्यान्द्रे डोरीले झुण्ड्याएको जांतो सरह हुनु स्वभाविक थियो । अरुवेला पनि त्यो भाकलबारे आमा गम्भीर भएर चर्चा गर्नुहुन्थ्यो । पाथिभरामा कुनै किताब चडाए पढ्न खुव आउछ रे कुनै चढाउने किताब बोक है भन्ने आमाको आग्रह आयो । कुन किताब चढाउने? कोर्सको किताब चढाएर के पढ्ने? मलाई धर्मसंकट पर्यो । घरमा किताब खोज्न थालें । छानामा घुरारेको माउले प्वालै प्वाल पारेको एउटा किताब फेला पर्यो ।माउले खाएर बाकी ठाउमा पढ्न थाले । थुप्रै उटिपट्रयाङ्ग कुराहरु थिए त्यसमा । एउटा हरफ यस्तो थियो – घोडाको मुत कराहीमा तताए कहिल्यै तात्तैन ⁄ म किताब खोज्न काकाको घरतिर लागें । काका अलि पढेलेखेको हुनुहुन्थ्यो ।

हाम्रो वडाको वडा अध्यक्ष हुनुहुन्थ्यो उहा ।
”आमाले भनेको पाथिभरामा चढाउन एउटा किताब दिनु रे ।” मैले डराई डराई भनें ।
”चढाउने किताब? काका गलल्ल हास्नुभो ।“किताब त पढ्ने पो चढाउने हो र?”
म जिल्ल परें ।किताब दाबीगर्ने मेरो तर्क थिएन । न तागत नै । काकाले एकछिन सोचेर किताब राखेको आलमारीबाट एउटा किताब निकालेर दिनुभयो । मैले जीवनमा त्यति राम्रो किताब देखेको थिइन । हतार हतार घर आएर आमालाई किताब देखाएं । किताब देखेर आमा पनि लोभिनुभयो । “ आज राती पढिसकेस् , किताब राम्रो रहेछ । ”
किताबको जिल्लामा एउटा राई लिम्बुजस्तो देखिने मान्छेको फोटो र फोटोको पुछारमा लेखिएको थियो –किम इल सुङ्ग । टुकी बत्तीमा बडो उत्साहका साथ पढें तर मेरो कलिलो दिमागमा केही पनि घुसेन ।

माक्र्सवाद,लेनीनवाद, अमेरिकी साम्राज्यवाद, जुछे विचारधाराजस्ता शब्दावली मेरा पहुँचमा थिएनन् । किताब जति सुन्दर भए पनि चढाउनु सिवाय मलाई त्यो किताबको कुनै उपयोगिता थिएन । कुम्लो कुटुरोमा सातु सामल बोकेर हामी पाथिभरातर्फ लाग्यौं । त्यो किताब पाथिभराको आलमारीमा चडाएर दण्डवत् गरें । किम इल सुङ्गको जीवनी समेटिएको त्यो किताबले पाच रुपैयाको नोट च्यापेर पाथिभरा मन्दिरको आलमारीमा कति बर्ष बस्यो कुन्नि ?

(यो लेखकको संस्मरणात्मक लेख हो । उनि नयाँ शक्ति नेपालका अभियान्ता पनि हुन् )

प्रकाशित : शनिबार, माघ २९, २०७३१४:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ज्येष्ठ नागरिकको सारथी बन्दै ज्येष्ठ नागरिक मिलन केन्द्र