काठमाडौं, १० पुस – पञ्चायतको जगजगी थियो । राजनीतिक पार्टीहरु प्रतिबन्धित थिए । उनीहरु भूमिगत रुपमा सङ्गठन गर्थे । को काङ्ग्रेस हो र को कम्युनिस्ट, चिन्न गाह्रो पर्थ्यो । म कम्युनिस्ट खोज्दै बल्कोटको हाइस्कुलमा पढ्न पुगेको थिएँ । तर पनि मैले कुनै कम्युनिस्टलाई भेट्न सकिरहेको थिइनँ । छ कक्षाबाट फड्केर आठ कक्षामा पुगेको थिएँ । पढ्न थालेपछि मैले थाहा पाएँ— हामीलाई पढाउने ज्ञानु (ज्ञानराज पौडेल) सर कम्युनिस्ट पार्टीमा हुनुहुन्छ । पढाउने कामका साथै उहाँले भूमिगत रुपमा त्यस भेगमा पार्टी सङ्गठनको जिम्मा लिनुभएको रहेछ भन्ने पनि थाहा भयो । अघिल्लो वर्षसम्म केशरमणि पोखरेलले पनि बल्कोटकै हाइस्कुलमा पढाउनुभएको रहेछ । म भर्ना हुँदा उहाँले स्कुल छाडिसक्नुभएको थियो । अनिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को स्थापना भइसकेको थियो । अनेरास्ववियुको सदस्यतालाई ‘अखिलको टिकट’ भन्ने चलन थियो । ज्ञानु सरसँगको भेटपछि मैले ‘अखिलको टिकट’ लिएँ । गुल्मी र अर्घाखाँचीको पार्टी एउटै थियो, सङ्गठन पनि एउटै । कम्युनिस्ट गुरूहरुसँग भेट भएपछि म विद्यार्थी राजनीतिमा सक्रिय हुन थालेँ । आठ कक्षा सकिने बेलासम्म म अनेरास्ववियुको जिल्ला समितिमा पुगिसकेको थिएँ।
जिल्ला समितिमा के पुगेको थिएँ, पार्टीले भन्यो, ‘अब तपाईंले बल्कोट होइन, चुत्राबेसी गएर भर्ना हुनुपर्छ । त्यहाँ गएर पढेपछि सङ्गठनको काम गर्न सहज हुन्छ ।’ पार्टीको आदेश मलाई शिरोपर थियो । नौ कक्षा पढ्न चुत्राबेसी गएँ । बुबालाई कन्भिन्स गर्न नयाँ जुक्ति निकालेँ । भनेँ, ‘चुत्राबेसीमा पढाइ राम्रो छ रे ! त्यहाँ मास्टर पनि राम्रा छन् रे ! त्यसैले म चुत्राबेसी जान्छु ।’ मेरा कुरामा बुबा कन्भिन्स त हुनुभयो, तर सचेत गराउन छाड्नुभएन । छोरो पार्टीमा लागिसकेको छ भन्ने कुराबाट अनभिज्ञ हुनुहुन्थ्यो उहाँ । भन्नुभयो, ‘चुत्राबेसीमा पनि धेरै कम्निस्ट छन् रे ! पार्टीमा नलाग्नू । तेरो काम पढ्ने हो; खुरूखुरू पढ्नू ।’ बल्कोटमा जस्तै चुत्राबेसीमा पनि कम्युनिस्टहरुको दबदबा थियो । अधिकांश शिक्षक कम्युनिस्ट विचारधाराप्रति सहमत थिए । विद्यालय सञ्चालक समितिमा पनि कम्युनिस्टहरुको वर्चस्व थियो ।
जब म स्कुलबाट घर फर्किन्थेँ, काङ्ग्रेसीहरु ‘ऊ खरानी आयो; फुक्फुक्’ भन्दै उडाउने गर्थे । खरानीको अर्थ थियो— गरीब हुनु । यज्ञमूर्ति बन्जाडेले कम्युनिस्टलाई पातेबुङ्गा भनेर त्यही सङ्केत गर्नुभएको थियो । अर्थात्, गरीबहरुको पार्टी ।
खासमा चुत्राबेसी कम्युनिस्टहरुको केन्द्र जस्तै थियो । विद्यालय सञ्चालक समितिदेखि शिक्षकहरुसम्म रहेको कम्युनिस्टहरुको वर्चस्व तोड्न काङ्ग्रेस समर्थकहरु कस्सिएर लागिरहेका थिए । यही विषयलाई लिएर बेलाबेला दुई पक्षबीचको झडपले चुत्राबेसी तनावग्रस्त हुन्थ्यो । हाइस्कुलहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुन्थ्यो । चुनावलाई काङ्ग्रेस–कम्युनिस्ट दुवैले प्रतिष्ठाको विषय बनाउँथे । दुवै पक्ष स्ववियुमा कब्जा जमाउने होडमा हुन्थे । त्यसैले झडप सिर्जना हुन्थ्यो । चुनाव स्कुलमा भए पनि भिडन्तमा गाउँले शक्ति प्रयोग हुन्थ्यो ।
राजनीतिक रुपमा विभाजित विद्यार्थीहरुबीचमा वैचारिक र भौतिक खालका भिडन्त हुने गरे पनि प्रशासनले त्यति चासो दिन्नथ्यो । सन्धिखर्कदेखि वारिको वाङ्ला डाँडामा काङ्ग्रेस समर्थकहरुको बाहुल्य थियो । मेरो जन्मगाउँ अर्घातोष पनि काङ्ग्रेसको प्रभावक्षेत्रभित्र पथ्र्याे । म दश कक्षा पुग्दासम्म पनि हाम्रो गाउँमा मबाहेक अर्को कोही कम्युनिस्ट थिएन ।
बन्जाडे परिवार सम्पन्न पनि थियो र पढालेखा पनि । उनीहरु काङ्ग्रेस थिए । गाउँमा उनीहरुको वर्चस्व थियो । आचार्यहरु पनि काङ्ग्रेस थिए । पाण्डेहरुसमेत काङ्ग्रेसलाई नै समर्थन गर्थे ।
काङ्ग्रेसको प्रभावक्षेत्र भएकाले विद्यार्थीहरु पनि काङ्ग्रेस पक्षधर नै धेरै हुने भइहाले । एक्लो कम्युनिस्ट भएकाले मलाई गाउँमा काङ्ग्रेसहरुले हेप्थे; अनेक उपमा भिराएर हतोत्साही पार्न खोज्थे । जब म स्कुलबाट घर फर्किन्थेँ, काङ्ग्रेसीहरु ‘ऊ खरानी आयो; फुक्फुक्’ भन्दै उडाउने गर्थे । खरानीको अर्थ थियो— गरीब हुनु । यज्ञमूर्ति बन्जाडेले कम्युनिस्टलाई पातेबुङ्गा भनेर त्यही सङ्केत गर्नुभएको थियो । अर्थात्, गरीबहरुको पार्टी । गाउँलेहरु आफू सम्पन्न भएकामा अत्यधिक गर्व गर्थे । र, कम्युनिस्टहरुलाई हेय दृष्टिले हेर्थे । उनीहरुले मलाई खरानी र पातेबुङ्गो भन्न छाडेनन् । उनीहरुलाई आर्थिक रुपमा सम्पन्न भएकामा अभिमान थियो; मलाई भने आफू कम्युनिस्ट हुन पाएकामा गर्व थियो ।
हामी किशोर र युवा पुस्ता अनेक डर र उपहास सहँदै पार्टीमा हिँडिरहेकै थियौँ । तर, कोहीकोही नेताहरु आपसी खिचातानमा पनि अलमलिएका थिए । बिस्तारै पार्टीमा विभाजन आउन थालिरहेको थियो । लुम्बिनी अञ्चलमा भने पुष्पलाल श्रेष्ठले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै दबदबा थियो । अञ्चलका मुख्य नेताहरु सबै पुष्पलालजीसँग निकट थिए । त्यसैले म शुरुदेखि नै पुष्पलालजी नेतृत्वकै पार्टीमा रहेँ । ज्ञानु सर पनि शिक्षण पेशा छाडेर पुष्पलालजीकै नेतृत्वको पार्टीमा पूर्णकालीन कार्यकर्ता भइसक्नुभएको थियो ।
यसका विपरीत कम्युनिस्ट पार्टीको सदस्यता लिएपछि अन्डा खान परहेज गर्नु हुन्नथ्यो । जनै पनि छिनाल्नुपर्थ्यो । सबैभन्दा अचम्म कुरा त, कम्युनिस्ट पार्टीको सदस्यता लिनेले सबैभन्दा पहिले रक्सी खानुपर्थ्यो !
मेरो मावल अर्घा–धरमपानीमा थियो, चुत्राबेसीबाट नजिकै ।
चुत्राबेसीमा पढ्न गएपछि शुरुमा म छात्रावासमा बसेँ । छात्रावासमा बस्दा आफैँ पकाउने–खाने गर्नुपर्थ्यो । पढ्दै गरेको नाति मावलनजिकै छात्रावासमा बसेकामा हजुरबुबालाई ननिको लागेछ ।
एक दिन हजुरबुबाले भन्नुभयो, ‘तैँले धेरै दुःख पाइस्, नाति ! मावल यति नजिकै छ । यहाँ बसे आफैँ खाना पकाउनुपर्दैन । दुःख पनि हुन्न । आइज यतै । आखिर सबैले यहीँबाट चुत्राबेसी आवतजावत गरिरा’छन् । तँ पनि त्यसै गर् ।’ घर गएका बेला मैले बुबालाई यो कुरा सुनाएँ । उहाँ मान्नुभएन । उहाँको चिन्ता बेग्लै थियो— छोरो मावल बसेर पढेपछि आफू आर्थिक रुपमा कमजोर भएको सन्देश जान्छ । उहाँले मलाई आदेश दिनुभयो, ‘मावल बसेर होइन, त्यहीँ छात्रावासमा बसेर पढ् ।’
बुबाको आज्ञा मान्नुबाहेक मसँग अर्काे विकल्प थिएन ।
म विद्यार्थी सङ्गठनमा छँदै थिएँ; चुत्राबेसीमा पढ्दै गर्दा अब पार्टीका काममा पनि सक्रिय हुन थालेँ । राजनीतिमा सक्रिय भए पनि पढाइमा उत्तिकै ध्यान दिइरहेको थिएँ ।
त्यो बेला लुम्बिनी अञ्चलका रुपन्देही, नवलपरासी, पाल्पा लगायतका जिल्लामा पार्टीको सङ्गठन राम्रो थियो । गुल्मी र अर्घाखाँचीमा पनि सङ्गठन बलियो थियो । म पुष्पलालको नेतृत्वको नेकपाको गण्डक ब्युरो कार्यालयसँग जोडिएँ । त्यसको इन्चार्ज केशरमणि पोखरेल हुनुहुन्थ्यो ।
यतिन्जेल बुबालाई म पार्टीमा सक्रिय हुन थालेको थाहा भइसकेको थियो । उहाँ चिन्तित हुनुहुन्थ्यो । राजनीति त मन नपर्ने बुबालाई छोरोले कम्युनिस्ट पार्टी छनौट गरेको झन् मन परेको थिएन । बेलाबेला भन्नुहुन्थ्यो, ‘पार्टीमा नलाग् । यो भनेको पढ्ने बेला हो । तिमी फिस्टे केटाहरुले राजा फाल्न कहाँ सक्छौ ? राजाका सेना छन्; प्रहरी छन्; कर्मचारी छन्; पैसा छ । तिमीहरुले केही गर्न सक्दैनौ । तिमीहरुलाई लगेर थुनिदिन्छ । जिन्दगी सत्यानाश मात्र हुन्छ ।’
मैले आल्पिनले दुवै बूढी औंलाको चक्रमा खोपेर रगत निकालेँ । त्यही रगतको ल्याप्चे लगाएर ‘पार्टी सदस्यता पाऊँ’ भन्दै २०२८ सालको बीचतिर निवेदन दिएको थिएँ ।
उहाँको कुराले मलाई छुने कुरै थिएन । म राजनीतिमा प्रतिबद्ध भएर लागिसकेको थिएँ ।
उहाँ त्यति कठोर चाहिँ हुनुहुन्नथ्यो, जसबाट मैले राजनीति नै परित्याग गर्ने परिस्थिति उत्पन्न होस् ।
राजनीतिक मात्र होइन, सामाजिक परिवेश पनि कठोर थियो । बाहुनका घरमा कुखुरासम्म पालिँदैनथे । बाहुनहरुले अन्डा खानु भनेको अपराध गरेसरह थियो । बाहुनहरुका काँधमा छड्के जनै हुनैपर्थ्यो । जनै नलगाउनु भनेको जातबाट च्युत भए बराबर थियो । बाहुनले रक्सी, कुखुराको अन्डा, पाडाको मासु खाएको भेटियो भने गाउँनिकाला गर्न बेर लगाइँदैनथ्यो ।यसका विपरीत कम्युनिस्ट पार्टीको सदस्यता लिएपछि अन्डा खान परहेज गर्नु हुन्नथ्यो । जनै पनि छिनाल्नुपर्थ्यो । सबैभन्दा अचम्म कुरा त, कम्युनिस्ट पार्टीको सदस्यता लिनेले सबैभन्दा पहिले रक्सी खानुपर्थ्यो !
हामीले पनि स्कुलमा जनै छिनाल्ने अभियान चलायौँ । थुप्रै साथीका जनै छिनालिदियौँ । अरुका जनै छिनाउने हाम्रा काँधबाट जनै त्यसअघि नै हराइसकेका थिए ।रक्सी कि मगरका घरमा बनेको हुन्थ्यो कि दलितहरुका घरमा । जसले दलितको घरमा गएर रक्सी खान्थ्यो, त्यही सबैभन्दा खाँटी कम्युनिस्ट मानिन्थ्यो; क्रान्तिकारी कहलाइन्थ्यो । यो त्यो बेलाको सांस्कृतिक क्रान्तिको एउटा रुप थियो । पुराना संस्कृतिलाई चुनौती दिन यसो गरिएको थियो ।
धरमपानी क्षेत्रमा काङ्ग्रेसको पकड थियो । तैपनि मैले स्कुलमा सदस्यता अभियान चलाउन छाडिनँ । टोमबहादुर बीसी, विष्णु भुसाल, गोविन्द आचार्यलगायतलाई अनेरास्ववियुको सदस्यता दिलाएँ । यी साथीहरु आठ कक्षामा पढ्थे, म नौमा ।साथीहरु अनेरास्ववियुमा आएपछि हामीबीच बहस र छलफल अलि बाक्लै हुन थाल्यो । अब क्रान्तिकारी बन्न रक्सी खानुपर्छ भन्ने भयो । मैले पनि रक्सी खान सिकेँ । बेल्टारी भन्ने ठाउँमा दशैंतिहारको मेलाका बेला रक्सी खाइयो । टोमबहादुरको घरमै रक्सी बनाउने चलन थियो । ‘यत्ति खाम् । चाखम्, के हुन्छ र ?’ भन्दै उनले हामीलाई उक्साएका थिए ।
आजकल कम्युनिस्ट आन्दोलनमा रक्सी खानुलाई त्यति निको मानिँदैन । माओवादी जनयुद्धका बेला त रक्सी खानेलाई कारबाही नै गरियो । यसो गर्नु स्वाभाविक पनि थियो । किनभने, रक्सीले धेरैको घरबार बिगारेको थियो; परिस्थिति अचेल पनि त्यति फरक छैन । धेरैलाई भ्रष्ट बनाएको छ । जे कुरा पनि अति भएपछि नराम्रो हुन्छ । रक्सीको लतले हाम्रो समाजलाई नराम्ररी बिगारेको छ ।
उति बेला कम्युनिस्टहरुले पुरानो संस्कृतिलाई चुनौती दिन रक्सीको प्रयोग गरेका थिए । त्यही कारण हो, वामपन्थी आन्दोलनमा लागेका पुराना पुस्ताका शिक्षकहरु, जसले पहाडी भेगमा सङ्गठन गरेका थिए, उनीहरु अहिले पनि रक्सी खान्छन् । कति त रक्सी अति धेरै खाएर बिग्रेका पनि छन् । विद्यार्थी राजनीतिका अलावा पार्टीमा पनि सक्रियता बढ्दै गएपछि मैले सदस्यताका लागि निवेदन दिएँ । पार्टी सदस्यताको निवेदन दिन रगतको हस्ताक्षर आवश्यक पर्थ्यो । मैले आल्पिनले दुवै बूढी औंलाको चक्रमा खोपेर रगत निकालेँ । त्यही रगतको ल्याप्चे लगाएर ‘पार्टी सदस्यता पाऊँ’ भन्दै २०२८ सालको बीचतिर निवेदन दिएको थिएँ ।
सदस्यता आवेदनका लागि पहिल्यै ड्राफ्ट गरिएको निवेदन हुन्थ्यो । त्यसलाई आवेदन फारम भनिन्थ्यो । यो स्थायी प्रकारको ड्राफ्ट हुन्थ्यो । यही फारममा रगतको ल्याप्चे लगाइन्थ्यो । सदस्यता सम्बन्धी निर्णय पार्टीको केन्द्रीय समितिले नै गर्थ्यो । नेत्र पन्थी जिल्ला सचिव हुनुहुन्थ्यो । कात्तिक लागिसकेको थियो । एक दिन उहाँले भन्नुभयो, ‘तपाईं अब कम्युनिस्ट पार्टीको सदस्य बन्नुभयो । तपाईंले दिनुभएको निवेदन पार्टी केन्द्रले स्वीकृत गरेको छ । तपाईं आजैका मितिदेखि कम्युनिस्ट पार्टीको सदस्य हुनुभएको छ ।’
सदस्यता मूर्तरुपको हुन्नथ्यो । पार्टीसँग को-को सदस्य हुन्न भन्ने रेकर्ड मात्र हुन्थ्यो । फलानो व्यक्तिले पार्टी सदस्यताका लागि दिएको निवेदन बैठकले स्वीकृत गरेको छ भनेर निर्णय भएपछि त्यो व्यक्ति स्वतः पार्टीको सदस्य मानिन्थ्यो । पार्टीको निर्णय मौखिक रुपमा दिइन्थ्यो ।
(माओवादी द्वन्द्वमा पार्टीका लागि हतियार पैठारीको जिम्मेवारी बहन गरेका स्वर्गीय भक्ति पाण्डेको प्रकाशोन्मुख पुस्तक ‘चाचा’ को अंश । सांग्रिला बुकद्वारा प्रकाशित यो पुस्तक भोलि सोमबार सार्वजनिक हुँदैछ ।)