मलेसिया पुगेका पूर्व जनमुक्ति सेनाले प्रधानमन्त्रीलाई लेखे खुल्लापत्र

प्रधानमन्त्रीज्यू, नमस्कार तथा अभिवादन !

म यति बेला मलेसियामा छु । त्यसैले तपाईँलाई पत्र लेख्दै छु । जनवादी राज्य सत्ताको लागि लड्ने योद्धाहरुलाई प्रहरी लगाएर पक्राउ गराउनु भयो भन्ने खबरले धेरै नै दुःख लागेको छ ।

प्रधानमन्त्रीज्यु, वर्गीय मुक्तिको लागि तपाईँकै निर्देशनमा हामीले कापी–कलम र घर परिवार छाडेर सानै उमेरमा जनयुद्धमा लाग्यौँ । लड्दा–लड्दै धेरै साथीहरु शहिद भए, घाइते भयौं । तरपनि हामी लड्दै थियो । तपाईले शान्तिपूर्ण रुपमा सत्ता स्थापना गर्ने भन्दै ब्यारेकमा बस्न भन्नुभयो । हामी बस्यौँ । सँगै लडेका योद्धाहरुलाई अयोग्य घोषणा गर्दै आफू योग्य हुनुभयो ।

हामीले लडेर ल्याएको गणतन्त्रमा त्यो ‘अयोग्य’ शब्दले ठूलो चोट परेको छ । त्यही ‘अयोग्य’ शब्दले जनयुद्धमा जुनसुकै लडाइँमा योग्य भएकाहरुलाई घर न घाट को स्थितिमा पुर्यायो । तपाईँहरु योग्य र लड्ने सेना कसरी अयोग्य ? हामीले कुन लडाइँ लड्न सकेनौँ ? त्यसको जवाफ दिनु भएन । तर, जवाफ माग्ने साथीहरुलाई प्रहरी लगाएर पक्राउ गराउनु भएको दृश्य देखियो । तपाईँलाई अभिभावक सम्झेर आफ्ना कुरा राख्नु के अपराध हो ? साथीहरुले उठाएको प्रश्नको उत्तर तपाईँ आफै पेरिसडाँडा पुगेर दिनु पर्थो तर तपाईँले प्रहरी परिचालन गरेर सारा दुनियाँ हसाउनु भयो ।

प्रधानमन्त्रीज्यू, साना–साना नानीहरुलाई रुँदै प्रहरीले भ्यानमा कोचेको दृश्यले तपाईको मन पनि दुख्नु पर्ने हो तर ‘तपाईँले उनीहरुको प्रश्नको जवाफ दिनु भएन भने ति नानीहरुले पनि भुल्ने छैनन् । पक्राउ पर्नेमा धेरै जनयुद्धमा घाइते भएका साथीहरु पनि छन् । बरु तपाईँले त औषधि उपचारको व्यस्था पो गर्नुपर्ने । कालोबजारी, भष्ट्राचारी, बलात्कारीलाई जसरी प्रहरीले प्रहरी भ्यानभित्र जनयुद्धका योद्धाहरुलाई कोच्यो ।

प्रधानमन्त्रीज्यू, सक्नुहुन्छ भने ती साथीहरुलाई प्रहरी लगाएर गिरफ्तार होइन देशमा सुतेको विकासलाई अगाडि बढाउन ती साथीहरुलाई परिचालन गर्नुस् । कालोबजारी, भष्ट्राचार, मानव तस्करी, सीमा नियन्त्रणमा युवा शक्तिलाई उपयोग गर्नुस् । उनीहरुले सीप र क्षमतालाई उपयोग गर्ने वातावरण बनाउनुस् । त्यो वातावरण नबनाएर गिरफ्तार गराउनतिर लाग्नुभयो भने यो समस्या झन्–झन् ठूलो बन्ने छ । उनीहरुले ‘अब योग्य छैनौं, फेरि युद्ध लड्नु नपरोस्’ जस्ता नाराहरुको संकेतलाई तपाईँले ख्याल गर्नुस् ।

प्रधानमन्त्रीज्यू, सक्नुहुन्छ भने ती प्रहरीलाई सीमाबाट हराएका पिलर खोज्न पठाउनुस् । चेलीलाई विदेशका गल्लीमा बेच्नेलाई ती प्रहरी परिचालन गर्नुस् । खेतबारी साहुँको जिम्मा लगाएर विदेश आएका हामीलाई नेपाल फर्कने वातावरण बनाउनुस् ।

प्रधानमन्त्रीज्यु, मृत्युलाई स्वीकार गर्न तपाईँले नै सिकाउनु भएको हो । हाम्रो लागि गुमाउनु पर्ने केही बाँकी छैन । त्यही दुःख पाइरहेको जिन्दगी मात्र हो । तर, तपाईँले धेरै गुमाउन बाँकी छ । ख्याल गर्नुहोला । ‘अयोग्य’ शब्द नहटाएसम्म योद्धाहरु यस्ता गिरफ्तारी त हजारौं पटक दिने छन् । अन्तमा पक्राउ गरिएका सम्पूर्ण साथीहरुलाई तुरुन्त रिहाईको माग गर्दै पत्रबाट विदा हुन्छ ।

टिकाराम ओली पूर्व जनमुक्ति सेना, हाल मलेसिया

प्रकाशित : शुक्रबार, मङि्सर ०३, २०७३०९:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुर्जखलिफा टावरमुनि बाट मान्य ६०१ सांसदलाई यस्तो हिर्दयविदारक चिठी