शाहज्यादा पारसका कारण राजसंस्था र राजपरिवारको दिन–प्रतिदिन बदनाम भइरहेको महसुस राजा वीरेन्द्रले गरेका थिए । युवराज दीपेन्द्र र शाहज्यादा पारसबीचको घनिष्टताबारे पनि राजालाई जानकारी थियो । तर, आफूले भनेको दीपेन्द्रले मान्ने स्थिति नभएपछि राजाले दीपेन्द्रबाट पारसलाई कसरी छुटाउने भन्ने विषयमा सोच्न थालेका थिए । यस्तैमा एक रात शाहज्यादा पारसले चलाएको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार गायक प्रवीण गुरुङको निधन हुन पुग्यो । यस घटनाका कारण पारसप्रति मात्र नभई राजदरबारप्रति नै जनआक्रोश बढ्न थालेको महसुस राजाले गरे ।
वि.सं. ०५७ (सन् २०००) को पुसमा राजा वीरेन्द्रले तात्कालिक मालेका नेता वामदेवलाई राजदरबारमा बोलाई विभिन्न विषयमा छलफल गर्ने क्रममा पारसका कारण आफूहरुले व्यहोर्नुपरेको सास्तीबारे पनि ‘शेयर’ गरे । राजा वीरेन्द्रसँगको लामो तर सौहार्दपूर्ण कुराकानीपश्चात् वामदेव राजाको सहजताका लागि केही गर्ने आश्वासन दिएर दरबारबाट बाहिरिए । त्यसको केही दिनमै वामदेवले पारसको ‘श्री ५’ पदवी हटाउन माग गर्दै राजधानीमा हस्ताक्षर अभियान चलाए । करिब पाँच लाख हस्ताक्षर पुगेपछि
पारसमाथि कारबाहीको माग गर्दै दरबारमा एक निवेदन दर्ता गराइयो । राजा वीरेन्द्रले पाँच लाखजनाको हस्ताक्षरसहितको उक्त निवेदन आफ्नो कार्यालयमा बेग्लै फाइल बनाएर राखेका थिए । वि.सं. ०५७ (सन् २००१) माघको तेस्रो शुक्रबार राजदरबारमा आयोजित नियमित रात्रिभोजका क्रममा राजा वीरेन्द्रले आफ्ना भाइ अधिराजकुमार ज्ञानेन्द्रसँग पारसका विरुद्ध पाँच लाख हस्ताक्षरसहितको बिन्तीपत्र प्राप्त भएको जिकिर गर्दै भने, ‘पारसका कारण समस्या आउन थाल्यो, तिमी एकपटक उसलाई राम्रोसँग सम्झाऊ ।’
दाजुको कुरा सुन्नेबित्तिकै अधिराजकुमार ज्ञानेन्द्रको अनुहार रातो भयो । उनले हातमा भएको वाइनको गिलास टेबुलमा राख्दै भने, ‘त्यस्तो होइन, मैले पनि बुझिरहेको छु सबै कुरा, मेरो छोराभन्दा युवराज दीपेन्द्र नै बढी एब्नर्मल छ, दीपेन्द्रका बदमासीलाई मेरो छोराले काँध थाप्नु परिरहेको छ । बरु दीपेन्द्रलाई नै सम्झाउनु राम्रो हुन्छ ।’ भाइको ओठेजवाफले राजा वीरेन्द्रलाई क्रूद्ध बनायो । अलिक क्रोधमिश्रित आवाजमा वीरेन्द्रले भने, ‘हेर तिमीले छोरालाई सम्झाऊ, यहाँ ममाथि पारसको ‘श्री ५’ पदवी हटाउन दबाब परिरहेको छ, पाँच लाख जनताले त हस्ताक्षर नै गरेर दिइसकेका छन् । यदि तिमी उसलाई सम्झाएर ठीक ठाउँमा राख्न सक्दैनौ“ भने म उसको ‘श्री ५’ को पदवी हटाउन बाध्य हुनुपर्नेछ ।’
यसरी महाराजाधिराज र अधिराजकुमारबीचको संवाद तात्दै गयो । दाजुको कुराले भाइ ज्ञानेन्द्रलाई निकै क्रूद्ध र दुःखी तुल्यायो । उनले हातमा लिइरहेको वाइन त्यहीँ फालिदिए र ‘अबदेखि यो ठाउँमा कहिल्यै आउँदिनँ’ भन्दै भोजस्थलबाट बाहिरिए । त्यसपछि अधिराजकुमार ज्ञानेन्द्र शुक्रबारे भोजमा सहभागी हुन कहिल्यै नारायणहिटीमा गएनन् । वि.सं. ०५७ (सन् २००१ फेब्रुअरी) माघपछिका हरेक शुक्रबार भएका रात्रिभोजमा उनको उपस्थिति भएन । वि.सं. ०५८ जेठ १९ गते (सन् २००१ जुन ३ मा) पनि ज्ञानेन्द्र भोजमा सरिक भएनन् । उनलाई उपस्थित गराउन दीपेन्द्रले फोनबाट निकै अनुनयविनय गरेका थिए ।
चितवनमा नीराजनसँगै रहेका काका ज्ञानेन्द्रलाई पटक–पटक आग्रह गर्दा पनि दीपेन्द्रको केही लागेन । बरु नीराजनलाई काठमाडौं पठाएर अधिराजकुमार ज्ञानेन्द्र पोखरातिर हिँडेका थिए ।
बडामहारानी ऐश्वर्यले आफूनजिकका सहेली, नातेदार तथा सहयोगीहरुलाई हरेक बुधबार नारायणहिटी राजदरबारमा आमन्त्रण गरेर रात्रिभोज खुवाउने गरेकी थिइन् । त्यस्तै मुमा बडामहारानी रत्नले भने सोही प्रकारको रात्रिभोज प्रत्येक बिहीबार आयोजना गर्ने गर्दथिन् । एकप्रकारले त्यो परम्पराजस्तै बनिसकेको थियो । दुई भोजमा सहभागी हुनेहरुलाई बुधबारे गु्रप र बिहीबारे गु्रपका रुपमा पनि चिन्न थालिएको थियो ।यसप्रकारका भोजका क्रममा महारानीहरुले बाहिरका विभिन्न सूचनाहरु प्राप्त गर्ने गर्थे भने आपसी सुखदुःखका कुरा पनि त्यस अवसरमा हुन्थे ।
पछिल्लो समयका भोजहरुमा दीपेन्द्रको व्यवहार, उनको विवाह र प्रिया तथा दिव्याका बारेमा बढी कुराकानी हुने गर्दथे । महारानी ऐश्वर्यलाई स्वकीय सचिव पे्रमा सिंह र केहीले दीपेन्द्रका बारेमा पहिलेदेखि नै ज्योतिषीले भन्दै आएका कुराको स्मरण गराउँदै उनीसँग होसियार हुनुपर्ने सुझाव दिने गर्थे । वि.सं. ०५८ (सन् २००१ जुन १) को जेठ १७ गते बुधबार त्यस्तै भोजको समयमा बडामहारानी ऐश्वर्यले पे्रमा सिंहलाई भनिन्, ‘प्रेमा, तिमीले ज्योतिषीका कुरा गरेकी थियौ नि, त्यो ज्योतिषी कृष्णबाजेलाई यहाँ लिएर आऊ है ।’ ‘जो हुकुम सरकार’ प्रेमाले भनेकी थिइन् ।
भोलिपल्ट बिहीबारे भोज र पर्सिपल्ट जेठ १९ गते शुक्रबार युवराजाधिराजकै आयोजनाको भोज परेकोले अर्को साता कृष्णबाजेलाई दरबारमा लिएर जाने योजना प्रेमाले बनाएकी थिइन् ।
बुधबारको रात्रिभोजमा बडामहारानी ऐश्वर्य अलिक गम्भीर देखिएकी थिइन् । दीपेन्द्रको व्यवहारमा आएको परिवर्तनले उनलाई चिन्तित तुल्याएको थियो र सहेलीहरुसँग महारानीले त्यस साँझ दीपेन्द्रबारे अलिक खुलेरै कुरा गरेकी थिइन् । आफूहरुसँग दीपेन्द्रले सामान्य संवादसमेत गर्न छोडेको, आफूलाई जे मन लाग्छ त्यही गर्ने गरेको, बरालिएर हिँड्ने गरेको, अमर्यादित र अभद्र व्यवहार प्रस्तुत गर्ने गरेको जस्ता कुरा महारानीले प्रकट गरेपछि महारानीका सहेलीहरुले उनलाई दीपेन्द्र जन्मनुअघि ज्योतिषीले भनेको कुरा स्मरण गराउँदै दीपेन्द्रसँग सचेत रहन सुझाव दिएका थिए । यस्तै कुराकानीका क्रममा बडामहारानी ऐश्वर्यले पे्रमा सिंहलाई ज्योतिषी कृष्णबाजेलाई दरबारमा लिएर आउन अह्राएकी थिइन् ।
भोलि जेठ १९ गते, परिवारका सबै सदस्य एकै ठाउँमा भेला भई खानुको मज्जा बेग्लै ।
राजा वीरेन्द्र परिवारभित्र कुनै समस्या उत्पन्न भए–नभएको, कसैका बीचमा मनमुटाब रहे–नरहेको र दरबारभन्दा बाहिरको स्थितिबारे परिवारका सदस्यहरु के–कति जानकार छन् भन्ने सूचना प्राप्त गर्ने एउटा माध्यमका रुपमा पनि यस्ता जमघटहरुलाई बुझ्ने गर्दथे । प्रत्येक महिनाको कम्तिमा एकपटक हुने यसप्रकारको भोजका लागि दरबारका कर्मचारीले विशेष तयारी गर्नुपर्ने हुन्थ्यो । यद्यपि, खाना दरबारभित्र बनाउनुपर्ने थिएन, होटेलबाट सोझै डायनिङ टेबुलसम्म आइपुग्ने व्यवस्था मिलाइएको हुन्थ्यो । कार्यालयको कामबाट फर्केपछि श्री ५ महाराजाधिराजले बडामहारानीसमक्ष चासो राखिबक्स्यो, ‘भोलि दीपेन्द्रको रात्रिभोज होइन ? के–कस्तो तयारी भइरहेको छ, बुझेकी छ्यौ ?’
‘ऊ आफै“ निकै सक्रिय भएर लागिपरेको छ । खै किन हो, दीपेन्द्र यसरी रात्रिभोजलाई लिएर यति धेरै उत्साहित भएको महसुस मैले कहिल्यै गरेकी थिइनँ । मलाई जेठ १९ गते साँझ अरु कुनै कार्यक्रम राखिएको भए रद्द गरिदिनुप¥यो भनेर अनेकौँ पटक आग्रह ग¥यो । निकै मधुर वाणीमा प्रस्तुत भइरहेको छ । मलाई चार–पाँचपटक सोध्यो, ‘अरु कुनै कार्यक्रम राखिएको त छैन नि’ भनेर । माइलाबाबु र निरुलाई चितवनमा फोन गरेर कर गरेको हुनाले पोखराको कार्यक्रममा माइलाबाबु मात्र गएर निरु यही“ आउने भएछ । आज किन–किन दीपेन्द्र केही बदलिएको अनुभूति भइरहेको छ मलाई,’ बडामहारानी ऐश्वर्यले एकै सासमा भनिन् ।
‘दीपेन्द्रसँगै तिमी पनि त निकै प्रफुल्ल देखिएकी छ्यौ नि ?’ फिस्स हाँस्दै वीरेन्द्रले प्रश्नको जवाफी प्रतिक्रिया दिए । मुस्कुराउँदै बडामहारानीले भनिन्, ‘दीपेन्द्रमा सकारात्मक परिवर्तन आउन खोजेजस्तो छ, कहिल्यै लाडिएर मसँग नबोल्ने ऊ आज बिहान निकै लाडिएर प्रस्तुत हुँदै थियो । फेरिँदै छ ऊ, त्यसैले मैले भोलि बालाजुमा राखिएको रात्रिभोज खारेज गरिदिएँ । विश्वविक्रम शाहले निकै दुःख प्रकट गरे । छोराले आयोजना गरेको भोजको कुरा गरेपछि मात्र उनी मान्न बाध्य भए ।
‘अनि दीपेन्द्र फेरिँदा म मात्र हो र, सरकार हजुर पनि त खुशी होइबक्सेला नि ।’
‘ल, ल, अहिले नै त्यति धेरै प्रसन्न हुनुपर्दैन, केही दिन अझै उसको व्यवहार हेर्नुपर्छ । मलाई त त्यो श्रुतिलाई चुल्ठोमा समातेर सबका अघिल्तिर हातपात गरेको घटनापछि यो मान्छेप्रति सकारात्मक भाव पैदा हुनै सकेको छैन । रियल्ली आई हेट हिम’ वीरेन्द्रले आफ्नो असन्तुष्टि पोखे ।
देवप्रकाश त्रिपाठीद्वारा लिखित प्रकाशोन्मुख कृति ‘महानिशा’ उपन्यासबाट