नयाँ शक्ति पार्टी, नेपाल निर्माणको प्रक्रियामै छ । विचारको प्रारम्भिक खाका जनसमक्ष आईसकेको छ भने पूर्ण लोकतान्त्रिक विधानको कार्यान्वयन शुरु भएको छ । विचार निर्माण गर्दा नयाँ शक्ति विगतमा अरु पार्टीहरुले गर्ने गरेको सिद्धान्तको कपी पेस्ट प्रणालीको अन्त्य गर्दै पाँच ूसूको मौलिक प्रस्तावना अघि सार्यो, आर्थिक पारदर्शिताको कार्यविधि बनायो, जथाभावी चन्दा नउठाउने ऐलान गर्यो,वक्ताहरुलाई विषय केन्द्रित भएर १५देखि २० मिनेटभित्र आफ्ना भनाई सक्न निर्देशन गर्यो,अरु पार्टीले अपनाउदै आएको प्रतिनिधित्वको असमावेशी सिन्डिकेट प्रणालीको विकल्पमा समावेशी प्रत्यक्ष लोकतन्त्रको प्रावधान सहितको विधान बनायो, शिक्षक, प्राध्यापक र कर्मचारीमा देखिएको अति पार्टीकरण र राजनीतिकरणको विकल्पमा सो क्षेत्रमा आफ्ना आङ्गिक संगठन नबनाउने निर्णय गर्यो, मा.वि. तहदेखि नै विद्यार्थी संगठन बनाउने र ५० बर्षसम्म विद्यार्थी राजनीति गर्ने परम्परालाई तोड्न स्नातकभन्दा तल कुनै विद्यार्थी संगठन नबनाउने तथा विद्यार्थी राजनीतिको लागि उमेर हद तोक्ने निर्णय गर्यो । यी नेपालको राजनीतिमा ऐतिहासिक निर्णय थिए । के निर्णयमात्र पर्याप्त छन् ? निर्णय त जे पनि गर्न सकिन्छ । भोलि नै चन्द्रमामा पुग्ने भनेर गफ पनि दिन सकिन्छ ।
कुनै गाउँका सबै मानिस जम्मा भएर गाउँको विचमा दूधको पोखरी बनाउने निर्णय गरे । पोखरीको खाल्डो खनिसके पछिको रातमा सबैले एक एक बाल्टी दूध सो खाल्डोमा खन्याउने सहमति भयो । विडम्वना,प्रत्येक गाउँलेले यो सोचे कि अरु सबैले दूध हालीहाल्छन् मैले किन सित्तैमा एक बाल्टी दूध खेर फाल्नु । परिणाम पानीको पोखरी बन्यो ।
हो, निर्णयमात्र प्रयाप्त छैनन् । निर्णय कार्यान्वयन हुन नसक्नुमा नयाँ शक्तिमा आवद्ध नेता कार्यकर्ताको पुराना राजनीतिक बानी जिम्मेवार छन् । तय गरेको नयाँ विचारले नेता कार्यकर्ताको व्यवहारलाई निर्देशित गर्नु पर्नेमा सो हुन सकेको छैन । नयाँ शक्ति निर्माणको क्रममा मिसिएका प्रमुख चार प्रवृतिको सही विश्लेषण नगरी नयाँ शक्तिमा देखिन सक्ने अन्तरविरोधलाई हल गर्न सकिदैन ।
नयाँ शक्तिको नेतृत्व तहमा सेवानिवृत्त उच्च पदस्थ कर्मचारीहरुको समूह छ । दुई तीन दशक देशको ऐन, नियमभित्र बसेर देशको सेवा गरेका उनीहरु नयाँ शक्तिलाई विधिविधान अनुसार चलाउनु पर्ने धारणामा अडिग देखिन्छन् । फिल्डमा परिणाम निकाल्ने त्यति धेरै समय र कौशल नभए पनि उनीहरुले पार्टीको नीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छन्
नयाँ शक्ति निर्माणको क्रममा नेपाली कांग्रेस, एमाले लगायतबाट ठूलो संख्यामा राजनीतिज्ञहरु समावेश भएका छन् । विभिन्न राजकीय उच्च ओहदामा काम गरिसकेका उनीहरु जुनसुकै राजनीतिक जिम्मेवारी बहन गर्ने योग्यता राख्दछन् । समावेशीकरण र प्रत्यक्ष लोकतन्त्र तर्फको यात्रा सहज बनाउन उनीहरुको अनुभवले महत्वपूर्ण भूमिका खेल्नेछ । आलोचना सहन सक्ने क्षमता अत्यधिक भएका उनीहरुको नेतृत्वमा भर गर्ने ठाउँ छ ।
पूर्व माओवादी समूहभित्र प्रष्ट रुपमा दुई उप प्रवृत्तिहरु विद्यमान छन् । फुली दज्र्यानी चिन्ह सहित माओवादी युद्धमा कमाण्डर र कमिसारको भूमिका निभाएको एउटा सानो समुह र माओवादी शान्ति प्रक्रियामा आएपछि चुनावी प्रक्रियामा सामेल भएको ठूलो समूह । अघिल्लो समूह लडाकू छ तर निषेधकारी र एकमनावादी छ । पार्टीको निर्णयभन्दा आफनो आदेश ठूलो ठान्ने, आफ्ना आलोचकलाई देखिनसहने, उसको घेरवन्दी गर्ने , सम्पूर्ण निर्णय श्रोत साधन आफैमा केन्द्रित गर्न चाहने, आर्थिक पारदर्शी नहुने उनीहरुको पुरानो बानी हो । उनीहरुलाई आलोचना,खण्डन र बहसको माध्यमबाट नयाँ शक्तिको मूल स्पिरिटमा व्यवहारिक रुपमै अभ्यस्त गराईनु पर्छ । दोश्रो समूह त युद्धको धङ्धङी नबोकेको र जनतामा आधारित भएर काम गरिरहेको समूह हुनाले नयाँ शक्तिको मूल भावना समातेर फिल्डमा खटिरहेको छ ।
नयाँ शक्ति नेपाल–केन्दीय कार्यकर्ता पेजले खुल्ला गरेको अनलाइन आवेदन भरेर पार्टीमा आवद्ध भएका १६ देखि ४० वर्ष सम्मका कतै राजनीतिमा नलागेका पचास हजारको हाराहारीमा युवाहरुको समूह नयाँ शक्तिको सबभन्दा आसलाग्दो शक्ति हो । नवीन विचार , कार्य शैली, डा.भट्टराईको आर्थिक समृद्धिको भिजन मन पराएर पार्टीमा समाहित भएका ती युवाले छोटो अवधिमा पार्टीको विभिन्न तहको सफल नेतृत्व गरिसकेका छन् । उद्यमशीलता सहित स्वावलम्वी ती युवा सकारात्मक सोचका धनीमात्र होइन, नयाँ शक्तिको मूल मन्त्रको रुपमा स्थापित “राजनीति पेशा होइन, सेवा हो” नारालाई हुबहु आत्मसात गर्न सक्छन् । र,उनीहरु चाँडै नेता बन्न सक्छन् ।
नयाँ शक्तिको महायात्रा दूध पोखरी बनाउने निर्णय गरेर पानी पोखरी बनाएर टुङ्गिने यात्रा होइन । यो यात्रा प्रचण्डको पेलाईको प्रतिशोध साँध्न रचिएको प्रपञ्च पनि होईन । न ओली वा देउवाको नै । यो त राजनीतिको सकारात्मक परिवर्तनको लागि हो । त्यसकारण, सबैले नयाँ शक्तिको स्पिरिटसंग मेल नखाने आफ्ना पुराना बानी त्यागेर इमान्दार प्रयत्न गर्दामात्र यसको गन्तव्यको यात्रा सुनिस्चित हुन्छ । शिखर पुरुष हुनुको नाताले डा.भट्टराईले आफूले तय गरेका विचार र नीति कार्यान्वयन गर्न गराउन सबभन्दा बढी लोकतान्त्रिक,ईमान्दार र पारदर्शी प्रयत्न गर्नु पर्ने झन टड्कारो आवश्यकता छ । पार्टीभित्रका आफ्ना आलोचकलाई विश्वासमा नलिई कुनै पनि लोकतान्त्रिक चल्न सक्दैन । आफैं निति, विधि विधान बनाउने आफैं सबैभन्दा पहिले उलंघन गरेको भन्ने आरोपबाट डा. भट्टराई सर्वप्रथम मुक्त हुनु आवश्यक छ । अन्यथा पार्टीमा अरुलाई अनुशासनमा राख्न सकिदैन ।
समस्याको समाधान लोकतन्त्रको वास्तविक अभ्यासबाट मात्र संभव छ । पार्टीमा हाल देखा परेका र देखा पर्न सक्ने सबै समस्याको हल लोकतान्त्रिक तरिकाले खोज्नु पर्दछ, न कि अलोकतान्त्रिक निषेधकारी तरिकाले ।
( निर्मल भट्टराई, नेता, नयाँ शक्ति पार्टी, नेपाल )