मैले खोजेको नेविसंघ र मेरो उमेद्दवारीको अर्थ –
प्रेम जोशी – एउटा गौरवमय इतिहास बोकेको नेपाल विद्यार्थी संघले मात्र समग्र विद्यार्थी आन्दोलन र प्रजातान्त्रिक संस्कार निर्माणको नेतृत्व लिनसक्छ । जसका लागि पहिले नेविसंघ आफै बलियो नेतृत्वसाथ आउनुपर्छ भन्ने सामान्य बुझाई हो मेरो । त्यसमाथि राष्ट्र नै पुर्नसंरचना भइरहेको बेला नेपाली कांग्रेसले कसरी प्रजातन्त्र, समाजवाद, खुलापनजस्ता आफ्ना आदर्शलाई ‘कम्प्रमाइज’ नगरी अगाडि बढ्ने भन्ने सवालमा यो संगठनले आड, भरोसा र अलोचनात्मक सुझाव दिन आवश्यक छ ।
नेपालको शिक्षा प्रणालीलाई कसरी शैक्षिक माफियाहरुले आफ्नो जालोमा फसाईरहेका छन्, नाकाबन्दीजस्तो राष्ट्रको स्वाधिनता जोडिएको सवालमा समेत विद्यार्थी आन्दोलन कमजोर हुँदा किन सशक्त आन्दोलन र अभियान हुन सकेन भन्नेबारे मैले यसअघिको यो लेख (किन मौन विद्यार्थी ?) मा उल्लेख गरिसकेको छु । समग्र देशको राजनीतिक संयन्त्र यसमा दोषी छ तर नेविसंघले यसको जिम्मेवारी एउटा प्रमुख र पुरानो विद्यार्थी संगठनका आधारमा लिनुपर्छ ।
संविधानको सर्वस्वीकार्यता, संघीयता कार्यान्वयन र शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन ११औं महाधिवेसनबाट नेविसंघ पुर्नताजगीसाथ आउनुपर्छ । ११औं महाधिवेसनसम्म आइपुग्दा संगठनले नयाँ दिशा लिने ११ सर्तहरुसहितका आफ्नो भिजन र धारणा मैले यसअघि इकान्तिपुर (नेविसंघलाई अघि बढाउने ११ सर्त)मा दिइसकेको छु ।
यसर्थ संगठनभित्र स्वस्थ निर्वाचन प्रक्रियाबाट आउने नेतृत्वले सहि दिशा र एजेण्डा ल्याई विद्यार्थी आन्दोलनलाई हाँक्न सक्छ, भन्ने मलाई लागेको छ । मेरो उमेद्दवारी यी र यस्ता यावत विषयमा हुन् जसको चर्चा मैले नविन सन्देससँगको अन्तरवार्तामा विस्तृतमा व्याख्या गरेको छु । जसको लागि यहाँहरुको अमूल्य मत, साथ र आलोचनात्मक सुझाव/प्रतिक्रियाको आशा राख्दछु । जय नेपाल ।