महिलाको यौनाङ्गबाट सेतो पानी बगेको निको पार्न के गर्ने – जानी राखौँ

स्वाभाविक रूपमा योनि ओसिलो नै हुन्छ। योनिबाट सेतो पानीजस्तो पदार्थ बग्नुलाई योनिश्राव भनिन्छ, तर यसो हुनुको अर्थ सधैं रोग लागेको भन्ने लाग्दैन। हाम्रो सामान्य शरीरक्रियासँग सम्बन्धित र स्वाभाविक रूपमा पनि योनिश्राव हुन्छ। यस्तो स्वाभाविक योनिश्राव महिनावारी हुने बेलामा वा यौन उत्तेजना भएको बेलामा हुन्छ। पाठेघरको मुखबाट हुने श्राव यस्तै महिनावारी भएको एक सातापछि सुरु भएर डिम्बनिष्कासनको बेलासम्म हुन्छ। यौन उत्तेजनाका बेलामा यसरी योनिश्राव हुनुले यौन सम्पर्कलाई सजिलो बनाउनुका साथै शुक्रकीटका लागि अनुकुल स्थिति सिर्जना गर्छ। यस्ता स्वाभाविक किसिमको योनिश्रावका लागि कुनै किसिमको उपचारको आवश्यकता पर्दैन।

यीबाहेक, प्रजनन अंगका संक्रमणहरू, जसमा यौनरोग पनि पर्छ, अस्वाभाविक योनिश्राव हुने प्रमुख कारण हुन्। सामान्य रूपमा योनिबाट आउने श्रावभन्दा धेरै बढी मात्रामा आउने, गन्हाउने किसिमको वा मैलो किसिमको योनिश्राव हुन थाले त्यसलाई अस्वाभाविक योनिश्राव भनेर बुझ्नुपर्छ। गन्हाउने र छिन(छिनमा आउनेदेखि अन्य कुरा पनि हुने भए पर्याप्त जानकारी दिनु भए समस्या पहिचान गर्न सजिलो हुने थियो।

यौन अंगका सरसफाइको कमी तथा कमजोर स्वास्थ्यले पनि प्रजनन अङ्गको संक्रमणलाई बढाउँछ। कडा किसिमको साबुन वा डियोडेरान्टको प्रयोग गर्ने, आवश्यकताभन्दा बढी डूस दिएर योनि सफा गर्ने, एन्टिबायोटिकजस्ता औषधीको अनावश्यक प्रयोगले पनि यस्तो हुन सक्छ। त्यसैले यस्ता कुराको अनावश्यक प्रयोग गर्नु हुँदैन। दिनहुँ भित्री पहिरन फेर्नुपर्छ। यस्ता भित्री पहिरन सुतीको हुनु आवश्यक छ।

अस्वाभाविक योनिश्राव गन्हाउने त हुन्छ नै, तर स्वाभाविक योनिश्रावको पनि आफ्नै एक विशेष गन्ध हुन्छ। यदि त्यसैलाई गन्धरहित पार्नुपर्छ भन्ने सोच्नुभएको भए सायद सम्भव नहोला। तपाईंलाई आफूलाई असामान्य रूपमा अति नै गन्हाउने जस्तो लागे पनि अरू कसैले गन्हाएको कुरा गरेको छ वा छैन भन्ने कुरा पनि महत्त्वपूर्ण छ। तपाईंको योनिश्रावको गन्ध सामान्य भएर पनि गन्हाएजस्तो मात्र लागेको हो भने मनोवैज्ञानिक परामर्शको आवश्यकता पर्न सक्छ, तर पनि एकपल्ट पक्का हुन स्त्रीरोग विशेषज्ञको सल्लाहमा योनिश्रावको परीक्षण गराउनु बेस हुन्छ।
एजेन्सीको सहयोगमा

प्रकाशित : सोमबार, चैत ०८, २०७२०९:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यौन क्षमतालाई बढाउने यी ५ उपायहरु