पैसा भए २० रुपैयाँ दिनुस्, नत्र फ्रीमा खानुस्

[sharethis-inline-buttons]
Leaderboard Banner

आनन्द पोखरेल 
देश यति बेला महाविपत्तिमा छ । गत वैशाख १२ दिउँसो ११ः५६ बजे गएको विनाशकारी महाभूकम्पका कारण राजधानी लगयत देशका अधिकांश भौतिक संरचनामा क्षति पुगेको छ । मानिसहरुमा अझै पनि भूकम्पको सन्त्रास बाँकी नै छ । भूकम्प महसुर गरेका देशबासीहरुहा मानसिक, शारीरिक रुपमा अझै पनि त्रास छ । यीनै पीडाहरुको बाबजुत कालोबजारी गर्नेहरु भने मौका छोप्दै गरेको गुनासो आउन थालेको छ ।

आफूले प्रत्यक्ष रुपमा भूकम्प पीडितको लागि सधैँ सहयोग गर्न असमर्थ छु, तर अप्रत्यक्ष रुपमा सहयोग भने अवस्य पु¥याउन सक्छु । मलाई थाहा छ कि हामी जो जहाँ छौँ त्यहि स्थानबाट हामीले भूकम्प पीडितको लागि सहयोग गर्न सक्छौँ । मंगलबार जिल्लामा सर्बदलीय र सर्ब पक्षीय बैठक बस्यो । बैठकमा उठेको गम्भीर विषय थियो, राजधानीबाट चितवन भएर जाने यात्रु बहाक बसले यात्रुलाई भाडामा ठग्ने गरेको ।

यस विषयमा चितवनका सबै राजनीतिक दलहरुले मनपरी भाडा असुल्नेलाई अनुगमन थाल्ने बताए । हामी युवाहरु बुधबार बिहानैदेखि मुग्लिङ नारायणगढ सडक खण्डमा पर्ने नारायणगढको आँपटारीमा अनुगमनमा जुट्यौँ ।
अनुगमनका क्रममा हामीले प्रत्येक बसलाई रोक्दै यात्रुहरुसँग सोधपुछ गरेका थियौँ । यात्रुहरु नआत्तिउन् भनेर सुरुमा हामीले आफ्नो परिचय दिएका थियौँ । ‘तपाईँ कहाँ सम्म जाँदै हुनुहुन्छ ?’, ‘तपाईँले कति रुपैयाँ भाडा तिर्नुभयो ?’ यात्रुले भाडा तिरेको सम्बन्धमा फरक फरक विचार आएपछि हामीलाई शङ्का लागेको अवस्थामा ती सवारीहरु प्रहरीलाई बुझाएका थियौँ । हाम्रो भाडा अनुगमनका क्रममा कुनै यात्रुले गुनासो गर्ने गरेका थिए, –‘बाबु हामीले मुग्लिङमा सादा खाना खाँदा दुई सय रुपैयाँ तिर्यौँ ।’ कोहि भन्दै थिए १५ रुपैयाँको चाउचाउलाई ५० रुपैयाँ तिर्यौँ । मलाई लाग्थ्यो एउटा नेपालीलाई पीडा परेको बेलामा अर्को नेपालीले साथ दिन्छ । तर होइन रहेछ मेरो त्यो सोच गलत भएको महसुस गर्न थालेँ । सबै नेपाली दयावन् नहुँदा रैछन् ।

त्यस्ता कालाबजारी गर्नेलाई सरकार किन कारबाही गर्दैन हँ ? कारबाही गर्छु भन्छ तर प्रहरी चौकीकै नजिकै ब्रह्मलुट भइरहेको हुन्छ प्रहरी मुकदर्शक भएर हेरेको पनि मैले देखेको छु । जो सँग धन हुन्छ त्यो मान्छे ‘मख्खीचुस’ हुनेरैछ, मेरो अनुभवले बताएको कुरा । तर जोसँग धन हुँदैन उसको मन हुन्छ । अरुलाई दिउँ, खाउँ, आफू दुखी भएपनि अरुलाई पनि सहयोग गरौँ भन्ने भावना भएका मान्छे पनि हुँदा रैछन् ।

हामीले अनुगमनका क्रममा करिब १० बजेपछि यात्रु बहाक बसहरु ओइरीन थाले यसै क्रममा कोहि यात्रुहरु भोक लागेको छ यता केहि खाने कुरा पाइँदैन भन्दै थिए । सबैको आफ्नै आफ्नै पीडा । धेरैले हामीले गरेको कामको प्रशंसा गरेका थिए भने केहीले हामीलाई गाली पनि गर्दै थिए । मैले बुझेँ जसले हामीलाई गाली गर्दैछ त्यो पनि कुनै व्यापारी घरानाको मान्छे थियो । उसले पनि लुट मच्चाउथ्यो, र कारबाही भोगेको थियो ।

हामी आँपटारी चेक पोष्ट नजिकै सवारी अनुगमन गर्दै थियौँ । त्यहाँ मकै पानी बेच्ने मान्छेहरु दैनिक हुन्छन्, यो बाटो भएर यात्रा गर्ने धेरैले याद गरेको हुन सक्छ । हामीले भाडा अनुगमन गरिरहँदा त्यहाँ मकै बेच्ने दुई जना दाइहरु भन्दै थिए, –‘यदी तपाईँसँग पैसा छ भने एउटाको २० रुपैयाँ दिनुस् छैन भने सित्तैमा खानुस् ।’ हो अर्काले भन्दै थिए, –‘पैसा भए २० रुपैयाँ नत्र फ्रीमा ।’ बिहान बेलुका मकै बेचेर दुई पैसा जोडेर परीवार पाल्नको लागि संघर्ष गरेका मान्छेले यात्रुलाई सित्तैमा मकै खुवाएको देख्दा म भने अचम्ममा परेँ ।

नारायणगढ मुग्लिङ सडकखण्डमा पर्ने नारायणगढको आँपटारीमा मकै बेच्दै गरेका तुलसीराम पुडासैनी ।

यहाँ पैसा हुनेले लुट्दै गएका सुनेको अनि देखेको पनि छु मैले । तर दुई छाक खानको लागि काँचो मकै किनेर अनि पोल्दै बेच्ने मान्छेले सित्तैमा मकै बाँडेको पनि देखेँ मैले । सोचेँ यिनीहरुको दिमागी अवस्था त ठीक छ ? वरिपरी भएका मान्छेलाई सोधेँ, जवाफ आयो एकदम ठीक छन् । भुईचालो गएकै दोस्रो दिनदेखि यिनीहरु यसरी नै मकै बेच्दै आएका छन् । उनीहरुको व्यवहारले मन छोयो । त्यो कुराले मन छोयो कि हामी यात्रुलाई भाडा ठगीनुभयो कि भनेर सोध्दै थियौँ, तर उनीहरु खाना खानुभयो भनेर भन्दै थिए । ‘खाना खानु भयो ? खाना नखाएको भए मकै खानुस्, छ भने २० रुपैयाँ दिनुस्, छैन भने, मेरो तर्फबाट सहयोग भयो ।’

ती दुई व्यक्ति थिए तुलसीराम पुडासैनी र भरत खाती उनीहरु बिहानदेखि आफू भोकै थिए तर पीडामा परेर फर्किएका नेपालीलाई सोध्दै थिए, –‘खाना खानु भयो ?’

निकै नै हँसिला मुद्रामा देखिएका पुडासैनीसँग कुरा गर्न मन लाग्यो मलाई । मैले उनीसँग करिब पाँच मिनेट कुरा गरेँ, सार थियो, –‘तपाईले किनेर ल्याएको मकै यसरी वितरण गर्दा बेलुका के खानुहुन्छ ?’ उनी मुसुक्क हाँस्दै भने, –‘कति नेपालीहरु धेरै दिनदेखि खानकै तड्पीएका छन् मैले एक दुई छाक नखाएर के हुन्छ र ? साँच्चै उनको बोलीमा कुनै कृतिमता थिएन । उनी जे बोल्दै थिए त्यसलाई व्यवहारमा पनि देखाएका थिए । पुडासैनीसँग कुरा गरेपछि मैले भरतसँग पनि कुरा गर्ने विचार गरेँ । उमेरले अलि पाका थिए । अझ भनौँ मेरा बुबाको उमेरका थिए उनी ।

नारायणगढ मुग्लिङ सडकखण्डमा पर्ने नारायणगढको आँपटारीमा मकै बेच्दै गरेका भरत खाती ।

खातीको कुरा पनि पुडासैनी दाइकै जस्तो थियो । उनी भन्दै थिए, –‘मैले मकै सित्तैमा खुवाएर मलाई धेरै घाटा परे पाँच सय रुपैयाँ घाटा पर्ला, तर एउटा भोको नेपालीले त पेट भर्न पायो ।’ अरुले खाएको अवस्थामा आफूलाई सन्तुष्टि मिल्ने खातीले बताएका थिए मसँग । एउटा नेपालीको पीडामा अर्को नेपालीले मल्हम लगाउन सक्नुपर्ने खातीको भनाइ थियो ।
आफू धनले गरिब भएपनि मनको गरिब नभएको प्रमाणित गर्दै दुवै जना । खासमा उनीहरु सुकुम्बासी बस्तीमा बस्दै आएका थिए । उनीहरु सम्पन्न भएर अरुलाई सहयोग गरेका रहेन्छन् । सेवा गर्न धन होइन मन भए पुग्छ भन्ने सन्देश दिएका थिए ती दुई व्यक्तिले । मकै बेचेर गरेको आम्दानीले परीवार पाल्दै बालबच्चालाई विद्यालय पढाउने जिम्मेवारी पनि थियो उनीहरुको । तर यो विपद्को बेलामा उनीहरुले सबै कुरा बिर्सेर भोकालाई खाना खुवाउने प्रयास गर्दै थिए । ती दुई व्यक्तिबाट हामीले पनि केहि सिकेर अरुलाई सहयोग गर्ने कि ? दुखमा परेका नेपालीको पीडालाई आफ्नै सम्झेर थोरै भए पनि राहत प्रदान गर्ने कि ?

प्रकाशित : शनिबार, कार्तिक ११, २०७४१०:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

योग्य उम्मेदवारको छनोट र मताधिकारको सदुपयोग