हामी किन बोल्छौं झूट ? (रिपोर्टसहित)

काठमाडौँ – झूट बोल्ने कलामा हामी सबै कुनै न कुनै हिसाबमा पारंगत छौं । ठूलो/सानो, अपरिचित, साथीहरू वा प्रेमी सबैलाई सजिलै ढाँटिदिन सक्छौं । आखिर किन झूट बोल्छौं त हामी ? ‘नेसनल जियोग्राफी म्यागजिन’ मा प्रकाशित रिपोर्टको अनुवाद :

सन् १९८९ शरदमा प्रिन्सटन विश्वविद्यालयको भर्ना कमिटीले एलेक्सी सान्ताना नाम गरेका नयाँ विद्यार्थीलाई स्वागत गर्‍यो । कमिटी उक्त युवकको जीवनकथाबाट निकै प्रभावित भएको थियो ।

सान्तानाले औपचारिक शिक्षा प्राप्त गरेका थिएनन् । आफ्नो तरुण अवस्था उटाह भन्ने स्थानमा एक्लै बिताएका थिए । त्यहाँ उनी गाई चराउँथे, भेडा हुर्काउँथे र दर्शनशास्त्रको अध्ययन गर्थे । मोहाभे मरुभूमिमा दौडिने अभ्यास गरेर उनले आफूलाई म्याराथन धावकका रूपमा तयार पारेका थिए ।

उनको यो कथाका कारण विश्वविद्यालयमा उनी चाँडै नै चर्चित भए । शैक्षिक रूपमा पनि उनले राम्रै गरिरहेका थिए । उनी हरेक विषयमा ‘ए’ ग्रेड ल्याउँथे । उनको भिन्न पृष्ठभूमिका कारण प्राय: सबै जना उनीप्रति आकर्षित थिए ।

एक दिन सान्तानाको अपार्टमेन्ट पार्टनरले सोधेछन्, ‘तिम्रो खाट कसरी सधैं यति चिटिक्क हुन्छ ?’ उनको उत्तर थियो, ‘म भुइँमा सुत्छु ।’ हुन पनि आफ्नो जीवनको अधिकांश समय घरबाहिरै सुतेकालाई खाटको मोह हुँदैन ।

सान्तानाको सबैभन्दा रोचक पक्ष भनेको उनको सम्पूर्ण जीवनकथा झूटो थियो । विश्वविद्यालयमा लगभग १८ महिना अध्ययन गरिसकेपछि एक दिन एक महिलाले उनी सान्ताना नभएर जे हन्टस्म्यान भएको भेद खोलिदिइन् । ती महिलाले ६ वर्षअघि उनलाई क्यालिफोर्नियाको पालो अल्टो उच्च माध्यमिक विद्यालयमा देखेको दाबी गरिन् । पछि खोज्दै जाँदा त्यो पनि उनको वास्तविक नाम होइन रहेछ ।

प्रिन्सटनका अधिकारीहरूका अनुसार उनको वास्तविक नाम जेम्स हग रहेछ । उनी ३१ वर्षका रहेछन् र उटाहमा मोटरसाइकलको पार्टपुर्जा चोरी गरेको आरोपमा जेल सजाय काटेका रहेछन् । उनलाई पछि विश्वविद्यालयबाटै पक्राउ गरियो ।
त्यसपछि पनि उनी चोरीको आरोपमा धेरैपटक पक्राउ परे । र, कतिपटक उनले आफ्नो झूटो परिचय दिएर छुटे पनि ।

मानव इतिहासमा अत्यन्तै तीक्ष्ण र झूटो बोल्न निपुण व्यक्तिहरूका गाथा पनि लेखिएको छ । झूट बोल्नेहरूमध्ये धेरै जना अपराधी छन्, जो आर्थिक उपार्जनका लागि त्यसो गरिरहेका हुन्छन् । एक कहलिएका आर्थिक अपराधी बर्नी म्याडअफ तीमध्येकै एक हुन् । उनको फर्जी स्किमका बारे लगानीकर्ताहरूले भेउ पाउँदासम्ममा उनले करोडौं डलर कुम्ल्याउन सफल भइसकेका थिए ।

यस्तै, पूर्वअमेरिकी राष्ट्रपति रिचर्ड निक्सनजस्ता राजनीतिज्ञहरू पनि छन्, जो सत्ता प्राप्तिका लागि वा सत्तामा टिकिरहनका लागि झूटो बोल्थे । उनले सुरुमा वाटरगेट काण्डमा आफ्नो संलग्नता नभएको दाबी गरेका थिए ।

कहिलेकाहीं मानिसहरू आफ्नो छवि धूमिल हुनबाट जोगाउन पनि झूटो बोल्छन् । जस्तै, वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामाको पहिलो शपथग्रहण समारोहमा भन्दा आफ्नोमा धेरै मानिस आएको ठोकुवा नै गरेका थिए ।

मानिसहरू आफ्नो गलत व्यवहार लुकाउन पनि झूटो बोल्छन् । जस्तै, अमेरिकी स्विमर रायन लोच्तेले सन् २०१६ को ओलम्पिक्समा आफू र आफ्ना साथीहरू लुटिएको भनी हौवा फैलाए । तर, पछि पत्ता लाग्यो उनीहरूले रक्सीको सुरमा झगडा गर्दै तोडफोड गर्न थालेपछि होटलका सशस्त्र सुरक्षाकर्मीहरूले उनीहरूलाई नियन्त्रणमा लिएका थिए ।

विज्ञानमा अध्ययन–अनुसन्धान गरेर जीवन बिताउनेहरू हरदम कुनै न कुनै प्रकारको सत्यको खोजीमा हुन्छन् । तर उनीहरूमाझ पनि झूटा व्यक्ति भेटिन्छन् । भौतिक विज्ञानका विज्ञ ज्यान हेन्ड्रिक स्कोन तीमध्येका एक हुन् । जसको मलिक्युलर सेमिकन्डक्टरमा भएको नयाँ खोज तथ्यहीन थियो ।

यी झूटा व्यक्तिहरू कुख्यातमा दरिए किनभने उनीहरूले बोलेको झूट धेरै भयानक र दुष्प्रभावी थियो । तर उनीहरूको झूटले उनीहरूलाई हामीले सोचे जति असामान्य भने बनाउँदैन । युगौंयुगदेखिको मानवीय स्वभावका आधारमा बहुरूपिया, घोटालेबाज र गफाडी राजनीतिज्ञहरूले बोल्ने झूट मुस्किलले मात्रै असत्यको चुचुरोमा बस्छ । झूट बोल्ने कलामा हामी सबै कुनै न कुनै हिसाबमा पारंगत छौं ।

हामी सहजताका साथ ठूलो/सानो, अपरिचितसँग, साथीहरूसँग वा प्रेमीसँग झूट बोल्न सक्छौं । हाम्रो झूट बोल्ने क्षमता, हामीले अरूलाई विश्वास गर्ने क्षमतासँग नै मिल्दोजुल्दो हुन्छ । त्यसैले हामीलाई अरू कसैले बोलेको झूट थाहा पाउन निकै कठिन हुन्छ । झूट बोल्नु यति धेरै सामान्य हो कि, झूट बोल्नु भनेकै मानव हुनु हो भन्ने भनाइ सत्य ठहर्छ ।

क्यालिफोर्निया विश्वविद्यालयकी बेला डेपाउले र उनका सहकर्मीहरूले दुई दशक पहिला सर्वप्रथम झूट बोल्नेहरूको तहलाई प्रणालीबद्ध रूपमा मापन गरकी थिइन् । उनीहरूले १ सय ७४ जना वयस्कलाई उनीहरूले हप्ताको कतिपटक कसैसँग झूट बोल्छन् भनेर अध्ययन गरेका थिए । उनीहरूको अध्ययनले एक व्यक्तिले दिनमा एक/दुईपटक झूट बोल्छ भन्ने तथ्य अगाडि सारेको थियो । धेरैजसो यस्ता झूट कसैलाई पनि हानि पुर्‍याउने खालको भने थिएन । उनीहरूले आफ्नो कमजोरी लुकाउन वा कसैको भावनालाई ठेस नपुर्‍याउन यस्तो झूट बोलेको देखिएको थियो ।

केही झूटहरू बहाना बनाउनका लागि भनिएको थियो भने केही आफ्नो छविलाई उच्च राख्न । तर पाउलेले नै गरेको त्यस्तै खालको अर्को अध्ययनमा भने धेरैले जीवनको कुनै न कुनै कालखण्डमा आफ्नो अनैतिक सम्बन्ध लुकाउन पनि झूट बोलेको पाइएको थियो ।

विश्वभरकै मानिसहरूले एकअर्कालाई झुक्याउन बोलेको झूटबाट आश्चर्यमा पर्नु पर्दैन । शोधकर्ताहरूका अनुसार भाषाको विकाससँगै मानिसहरूले झूट बोल्न थालेको देखिन्छ । आफूले चाहेको वस्तु प्राप्त गर्नका लागि झूट बोल्नु सबैभन्दा सजिलो तरिका हो । ‘झूट बोलेर शक्ति प्राप्त गर्नु निकै सहज हुन्छ,’ हार्वर्ड विश्वविद्यालयका नैतिकविज्ञ सिसेला बोक भन्छिन्, ‘हिंसा वा मारकाट गरेर कसैको सम्पत्ति वा पैसा पाउनभन्दा झूटो बोलेर पाउन सजिलो छ ।’
बच्चाहरूले आफ्नो विकाससँगै झूटो पनि बोल्न थाल्छन् । धेरैपटक उनीहरूले बोल्ने झूट निर्दोष र मायालाग्दो हुन्छ । तर उनीहरूका बाबुआमालाई भने त्यो निकै डर लाग्दो लाग्छ । तर, टोरोन्टो विश्वविद्यालयकी मानोवैज्ञानिक काङ लीका अनुसार बालबालिकाको यो व्यवहार उनीहरूको मानसिक विकासको गति सामान्य छ भन्ने सूचक हो ।

बालबालिकामा ढाँट्ने शैलीको अध्ययन गर्न ली र उनका सहकर्मीहरूले बच्चाहरूलाई आवाजको भरमा खेलौनाहरूको पहिचान गर्न लगाएका थिए । जसमा सुरुमा उनीहरूले सामान्य आवाजहरू सुनाए— भुक्यो भने कुकुर, म्याउ गर्‍यो भने बिरालो । बच्चाहरूले त्यसको जवाफ सजिलै दिए । त्यसपछि उनीहरूले खेलौनासँग सरोकार नै नभएको आवाज सुनाए ।

‘हामीले बेथओभेनको गीत बजायौं,’ लीले भनिन्, ‘त्यसपछि हामीले फोना आएको बहाना गर्दै कोठाबाट बाहिर गयौं र बच्चाहरूलाई कुन खेलौना हो नचियाउन भन्यौं ।’ केही बेरपछि फर्केर बच्चाहरूलाई उनीहरूले हेरे कि हेरेनन् भनेर सोधियो ।
धेरै बच्चाहरूले आफूलाई रोक्न सकेनन् र चियाएर हेरे । जुन ली र उनको टिमले बाहिर बसेर हेरिरहेको थियो । तर चियाएर हेर्ने बच्चाको प्रतिशत भने उनीहरूको उमेरमा भर परेको देखियो । दुई वर्षसम्मका ३० प्रतिशतले मात्रै झूटो बोले भने तीन वर्षका ५० प्रतिशतले भूटो बोले र ८ वर्षका ८० प्रतिशतले झूटो बोले ।
बच्चाहरूको बढ्दो उमेरसँगै उनीहरूको झूटो बोल्ने क्षमतामा पनि विकास हुँदै जान्छ । तीन/चार वर्षका बच्चाहरूले आफ्नो झूट पक्रिने कुनै भयबिना नै झूट बोले भने सात/आठ वर्षका बच्चाले भने आफ्नो झूटलाई सकेसम्म लुकाउने प्रयत्न गर्दै झूटो बोले । सात/आठ वर्षकाले पहिलो उत्तर गलत दिएर वा सोचेको जस्तो गरेर उत्तर दिए ।

बालबालिकाको ढाँट्ने क्षमताले उनीहरू अर्को व्यक्तिको अवस्थालाई कसरी आकलन गर्न सक्छ भन्ने दर्साउने शोधका परिणामहरूले देखाएका छन् । दिमागको सिद्धान्तका अनुसार झूटले हामीलाई अरूको विश्वास, सोच र विज्ञताबारे जान्न सजिलो बनाइदिन्छ । यस्तै झूट बोल्नुको मौलिकता भनेको यो मस्तिष्कको प्रमुख काम पनि हो, किनभने यसमा योजना बनाउने, सूक्ष्म रूपमा विश्लेषण गर्ने र धैर्यको आवश्यकता हुन्छ ।

लीको अनुसन्धानमा भाग लिएका दुई वर्षका बच्चाहरू जसले झूट बोले उनीहरूले दिमागको सिद्धान्तमा आधारित टेस्टहरू झूट नबोलेका बच्चाहरूले भन्दा राम्रो गरे । १६ वर्षेमा पनि जसले झूट बोल्नेहरूले झूट नबोल्नेहरूभन्दा निकै राम्रो प्रदर्शन गरे ।

विश्वमै झूटको विज्ञ मानिएका ड्युक विश्वविद्यालयका मनोवैज्ञानिक डान एयर्ली हुन् । १५ वर्षअघि लामो दूरीको हवाई यात्राका बेला उनले किताबमा एउटा प्रश्नोत्तरको खेल फेला पारे । त्यो खेल्दै गर्दा उनले पछाडि लेखेको उत्तर पनि हेर्दै भरे र सबै मिलाए । पछि उनलाई त्यसमा ग्लानि महसुस भयो । ‘जब मैले त्यो सकें । आफैंले आफैंलाई ठगेको महसुस भयो,’ उनले भने, ‘मलाई म आफू कति तीक्ष्ण छु भनेर जाँच्न मन थियो र म तीक्ष्ण छु भनेर आफैंलाई देखाउन पनि मन थियो ।’ यही अनुभवले उनलाई झूटका बारे अध्ययन र अनुसन्धान गर्न प्रेरित गर्‍यो ।

एक परीक्षणमा उनी र उनका सहकर्मीहरू विभिन्न कलेजमा जान्थे र विद्यार्थीहरूलाई गणितका २० वटा सामान्य प्रश्नको उत्तर दिन लगाउँथे । उनीहरूले त्यसको उत्तर ५ मिनेटमा दिइसक्नुपथ्र्यो र जसले जतिवटाको उत्तर दियो त्यति नै पैसा दिइन्थ्यो । तर उनीहरूले कतिवटाको उत्तर दिए भनेर भन्नुपूर्व उक्त पत्रलाई कागज च्यात्ने मेसिनमा हाल्न लगाइन्थ्यो । तर उक्त मेसिनले कागज भने च्यात्दैन थियो । प्राय: सबै विद्यार्थीले झूट बोले । उनीहरूले औसतमा छवटा मिलाएका बताउँथे तर प्राय:ले चारवटा मात्र मिलाएका हुन्थे । यसको परिणाम विभिन्न संस्कृति भएकाहरूमा समान देखियो । हामी सबैले प्राय: झूट बोल्छौं, तर थोरै ।

किन धेरै जना झूट बोल्छन्, तर ठूलो मात्राको झूट बोल्दैनन् भन्ने प्रश्न एयर्लीलाई रोचक लाग्छ । विद्यार्थीहरूलाई सही उत्तरका लागि दिइने रकमलाई तुलनात्मक रूपमा वृद्धि गर्दा पनि उनीहरूले झूट बोल्ने संख्या भने बढेन । ‘हामीले मान्छेलाई ठूलो रकम चोरी गर्ने अवसर दिए पनि उनीहरूले थोरै मात्र चोर्छन् । धेरैलाई केही चीजले रोक्छ,’ उनले भने ।

उनका अनुसार त्यसो हुनुको पछाडि हामी आफूलाई केही हदसम्म सच्चा छौं भनेर प्रमाणित गर्न चाहन्छौं जुन हामीलाई समाजले सिकाएको हुन्छ । त्यसैले अपराधी मानसिकताबाट ग्रसित व्यक्तिबाहेक अन्यले एक परिधिभित्र रहेर झूट बोल्छन् ।
एयर्ली र अन्यको अनुसन्धानबाट हामी कुन हदसम्मको झूटलाई सहज मान्छौं भन्ने थाहा हुन्छ । जस्तै : अफिसबाट केही पेन्सिल घर लिएर जानुलाई हामी कुनै गलत काम मान्दैनौं ।

लस एन्जलस काउन्टीका न्यायाधीश प्याट्रिक काउवेनबर्गलाई त्यहाँको अदालतले अमेरिकी हिरो मान्थ्यो । प्याट्रिकका अनुसार उनी भियतनाम युद्धमा देखाएको बहादुरीका लागि सर्वोच्च सैन्य पदकमध्येको एक ‘पर्पल हर्ट’ बाट सम्मानित थिए । यस्तै उनी सीआईएको खुफिया कारबाहीहरूमा पनि सम्मिलित थिए । उनको शैक्षिक पृष्ठभूमि पनि निकै राम्रो थियो । उनले भौतिक विज्ञानमा स्तानक गरेका थिए भने मनोविज्ञानमा स्नातकोत्तर गरेका थिए । तर यो कुनै पनि सत्य थिएन । तर जब उनीविरुद्ध मुद्दा चल्यो उनको पक्षका वकिलहरूले उनी ‘स्युडोलोजिया फ्यान्टास्टिका’ नामक मानिसक रोगबाट ग्रस्त रहको बताए । तर उनलाई त्यसले कारबाहीबाट भने जोगाउन सकेन ।

मनोचिकित्सकहरूबीच मानसिक स्वास्थ्य र झूटबीच सम्बन्ध हुन्छ भन्नेमा एक मत छैन । यद्यपि केही मानसिक रोगीहरूमा झूटो बोल्ने प्रवृत्ति देखापर्छ । असामाजिक व्यक्तित्व भएका रोगीहरूले झूट बोलेर आफ्नो छविलाई उच्च राख्ने वा आफ्नो कुकृत्य लुकाउने प्रयास गरिरहेका हुन्छन् ।
यस्तै लन्डन विश्वविद्यालयका स्नायु वैज्ञानिक ताली सारोतका अनुसार झूटो बोल्नेहरूले एउटा झूट लुकाउनका लागि मात्रै थुप्रै झूट बोल्छन् । यस्तो अवस्थामा उनीहरूको मस्तिष्कमा निकै तनाव उत्पन्न हुन्छ जसका कारण झूटो बोल्ने व्यक्तिको दिमागमा भावनालाई नियन्त्रण गर्ने भाग कमजोर हुँदै जान्छ र उनीहरू झन् धेरै झूट बोल्न थाल्छन्, जुन पहिलाको भन्दा ठूलो हुन्छ ।

विभिन्न अध्ययनहरूले देखाएअनुसार मानिसहरू कसले के झूट बोल्छ भनेर कुरेर नबस्ने भएकै कारण पनि सबैले बोलेको झूट सबैले सहजै पत्याउँछन् । त्यसमा पनि २१ औं शताब्दीमा प्रविधिको पहुँचका कारण कुनै एउटा सानो झूटले ठूलो रूप लिन समय नलागेको हो । त्यो चाहे ओबामा अमेरिकी होइन भन्ने झूट होस् या ट्रम्पको शपथग्रहणमा धेरै मान्छे थिए भन्ने झूट ।

यस्तै मानिसहरूले तथ्यलाई मात्र आधार मानेर भन्दा पनि कसले भनेको हो र उनीहरू कुन समाज र संस्कृतिमा हुर्केका हुन् भन्ने कुराले पनि बोलिने झूट वा पत्याउने तरिकामा भर पर्ने देखाएको छ । तसर्थ युगौंदेखि चल्दै आएको को झूट र को सच्चा भन्ने बहस २१ औं शताब्दीमा पनि निरन्तर चलिरहने देखिन्छ ।

(युधिजित भट्टचार्जीको यस लेखको अनुवाद स्वरुप आचार्यले गरेका हुन्)

 

प्रकाशित : शनिबार, जेठ २७, २०७४११:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजै देखि छोड्दिनुस् साङ्ला मार्न बरु अब कमाउनुस् साङ्ला बेचेर लाखौं !