३४ वर्षपछि छठ पूजामा जुर्यो यस्तो संयोग, यस्तो छ पूजा गर्ने सुभ साइत 

कार्तिक ७ – सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि खान नहुने धार्मिक मान्यता छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ ।कात्तिक शुक्ल पक्षमा सूर्यको पूजा एवं आराधना गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएकाले यो कुनै क्षेत्र विशेषको मात्र पर्व नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

“विशेषगरी तराई क्षेत्रका मानिसले मनाउने भएकाले यसलाई क्षेत्रीय पर्व भनिएको हुनसक्छ, तर यो सूर्यको उपासना गर्ने शास्त्रीय पर्व हो”, उहाँले भन्नुभयो । सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर वधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको संख्या पनि धेरै छ । यो पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीको समेत सहभागिता रहने गरेको विसं २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आउनुभएका राजेन्द्र सिंहले बताउनुभयो ।

पौराणिक कालमा छठीमाताले सूर्यदेवलाई खुशी पारेकीले यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए । पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन शुरु गरिएको एकथरि मत छ ।

सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले गरेको छठ व्रतको फलस्वरूप उनको अटल सौभाग्य र पतिबाट सदव्यवहार हुन थालेकाले त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात् भएको अर्काथरिको भनाइ छ । साथै यो पटकको छठ पर्व निकै नै  महत्वपूर्ण  रहेको ज्योतिषशास्त्रले बताएको छ । ३४ वर्षपछि एउटा महासंयोग बन्न लागेको छ । छठ पूजाको अघिल्लो दिन सूर्यको रवियोग बन्न लागेको हुनाले यसलाई निकै महत्वपूर्ण समय मानिएको छ  । शास्त्रअनुसार रवियोगमा छठ पूजा शुरू गर्दा  सूर्यदेवले आफ्नो भक्तको मनोकामना पुरा गर्ने विश्वास रहेको छ । साथै यदि कुनै व्यक्तिको कुण्डलीमा सूर्यको दशा खराब चलिरहेको छ भने सूर्य पूजा गर्नाले सबै दोषहरु हराएर जाने शास्त्रमा उल्लेख छ ।

छठ पूजा को शुभ साईत:

छठ पूजा को दिन सूर्यादय – ६:३६  बजे बिहान।

छठ पूजा को दिन सूर्यास्त-  ५:५० बजे साझ।

 

प्रकाशित : मङ्गलबार, कार्तिक ०७, २०७४१३:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलिदेखि शनि ग्रहले ३ वर्षको लागि घर परिवर्तन गर्दै, यस्ता व्यक्तिलाई यस्तो खतरा हुने,