नेपाली राहदानीको दुरूपयोग र सिङ्गो नेपालको स्वाभिमानमाथि नै खिल्ली

लेखक हुम सुनारी मगर

नेपाली राहदानीको चरम दुरूपयोग, विश्व मै बदनाम। एउटी नेपाली मूलकी भारतीय महिला दाङ कि इन्द्र कुमारी गिरीको राहदानीमा उनको फोटो टाँसेर दिल्लीबाट ६ बर्षअगाडी साउदी अरेवीया छिरेकी रहेछिन्। तीनदिन अगाडी उनि उद्धार गराईपाऊ भनेर नेपाली दूताबास, रियादमा शरण पर्न आएकी रहेछिन्। दूताबासले उनको बारेमा सबै अनुसन्धान गर्दा उनि पश्चिम बङ्गाल भारत (दार्जिलिङ्ग) को रहेको थाहा भयो।

तीनदिनसम्म उनलाई दूताबास कै शेल्टरमा राखेर खानबस्न दिईयो। उनि नेपाली नभएको प्रमाणित भएपछि उनलाई दूताबासले उद्धार प्रक्रिया अगाडी बढाउँन नसक्नेभयो। दूताबासपरिसर वरिपरि बस्नु, साउदी सुरक्षाकर्मीले तिमीलाई उद्धार गरेर भारत निर्वासन गर्नेछ भन्ने सल्लाह उनलाई दिईयो र उनि दूताबासको मूलढोकाभन्दा केहिपर एउटा रूखको छहारीमा हिजो बिहानदेखि बस्दै रहेछिन्।


नरेन्द्र बम्जन (ट्याक्सी चालक) ले उनलाई हिजो बिहान त्यसरी दूताबास बाहिर बसिरहेको देखेछ। किन यहाँ बसेको भनि सोधियो। म नेपाली नभएर भारतीय नागरिक भएकोले मलाई नेपाली दूताबासमा शरण पर्न नसक्ने भनिएकोले हिजो साँझदेखि यहिँ बाहिर बसिरहेको छु भनिन्, ति महिलाले।

नरेन्द्र बम्जनले मलाई तुरुन्तै फोनसम्पर्क गरेर सबै विवरण सुनायो। हुन्छ, म दूताबासका सरहरूसँग बुझ्छु भनेँ। तुरुन्तै दूताबासमा सम्पर्क गरेर ति महिलाबारे बुझेँ। उनि नेपाली नभएको पुष्टि भएपछि उनलाई नेपाली दूताबासले शरण दिनु नमिल्ने र भारतीय नागरिकलाई उद्धार गरेर नेपाल पठाउन पनि नमिल्ने भन्ने सटिक र सान्दर्भिक जवाफ भयो।

२ घण्टापछि अर्को ट्याक्सी चालक केसीले सोहि महिलाको बिषय मै फोन गर्यो, मलाई। हिजो साँझदेखि रोडमा बसेको रे, नेपाली महिला रहेछिन् – लौ जसरिपनि इनलाई उद्धार गर्नुपर्यो भन्ने अनुरोध भयो।

जुन देशको भएपनि एकपटक भेटेर बुझौं भन्ने मलाई लाग्यो। १० मिनेट मै त्यहाँ पुगेँ। दूताबासको मूलढोका भन्दा ६० मिटर पर एउटा रूखको छहारीमा ति महिला बसिरहेको देखेँ।

नजिकै गएर उनीबारे बुझ्ने प्रयास गरेँ। उनि प्रष्ट नेपाली बोलिन्। म काठमाडौँबासी हुँ। मेरो राहदानी नविकरण गर्न यहाँ नेपाली दूताबास आएको भनिन्। तपाई सत्य कुरा बोल्नुभयो भने सहयोग गर्छु नत्र सहयोग गर्न सकिदैन भनेँ, उनलाई। केहि बेरपछि आफ्नो सबै वृतान्त सुनाइन्, उनले। तुरून्तै दूताबासका उपनियोग प्रमुख आनन्द शर्माज्यूलाई फोन गरेँ। वहाँले ति महिलालाई लिएर वहाँको कार्यालय मै बोलाउँनु भयो।

ति महिलालाई लिएर म उपनियोग प्रमुखको कार्यालय छिरेँ। सबै कुरा बुझ्दा उनि तीनदिनदेखि नेपाली दूताबास कै शेल्टरमा रहेको बुझियो। उनि नेपाली नभएर भारतीय नागरिक भएकोले उनलाई भारतीय दूताबास जानु भनेर दूताबासबाट पठाएको बुझियो। मलाई पनि पछि ति महिलाले आफू भारतीय नै भएको कबुल गरिन्।

उनि निकै समयदेखि बाहिर खुलासडकमा बसेकोले कुनैपनि घटना घट्न सक्छ। त्यसैले, मानवीयताको आधारमा दूताबासले ति महिलालाई साउदी सुरक्षाकर्मीको जिम्मा लगाईदिनु हुन अनुरोध गरें। सुरक्षाकर्मी नआउँन्जेलसम्म इनलाई दूताबास परिसरभित्रै राखिदिनु होला भन्ने अनुरोध पनि गरेँ। उपनियोग प्रमुख शर्माज्यूले सोहि अनुसार व्यवस्था मिलाउँनु भयो।

अति संवेदनशील र महत्वपूर्ण बिषय के रहयो भने नेपाली राहदानीको यसरि दुरूपयोग हुनुमा नेपाली कै हात नभईकन यो सम्भव छैन। त्यसै पनि नेपालका उच्च सम्भ्रान्त व्यक्तित्वहरू विदेश भ्रमण गर्दा उनीहरूमाथिपनि विदेशको अध्यागमनमा नेपाली नागरिक भएकै कारणले दुर्व्यवहार भएको समचारहरू सार्जनिक हुन्छ। सर्वसाधारण नेपालीहरूको राहदानी यसरि अर्कै देशका मानवतस्करहरूले दुरूपयोग गरेर विश्व मै नेपालको बदनाम गरिरहेका छन्। यसो हुनुमा नेपाली दलालहरू कै प्रत्यक्ष संलग्नता भएको पुष्टि हुन्छ।

यो संलग्न राहदानीको प्रतिलिपिको आधारमा सम्बन्धित निकायले इन्द्र कुमारी गिरीलाई भेटेर उनि मार्फत उनको राहदानी दुरूपयोग गर्ने व्यक्तिको पहिचान गरि नेपाली र सिङ्गो नेपालको स्वाभिमानमाथि नै खिल्ली उडाएको अभियोगमा त्यसलाई कडा भन्दा कडा सजाए दिईयोस्।

प्रकाशित : बिहिबार, साउन १२, २०७४०९:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मनमोहन अस्पताल राज्यलाई बेचिदिउँ : प्रदीप ज्ञवाली