“नारी शिक्षामा सात दशक”

काठमाडौँ, १९ माघ – मानवले आदिमयुग देखि नै बिभिन्न किसिमहरुबाट सिक्दै आएको छ र, यो क्रम कुनै न कुनै रुपमा जीवनपर्यन्त नै निरन्तर रुपमा चलिरहन्छ । मानवको यहि सिक्ने क्रमलाई हामी अहिलेको भाषामा शिक्षा भन्ने गर्दछौ । बालकको पहिलो पाठशाला भनेको घर हो, उस्ले आफ्नी आमारुपी शिक्षिकाबाट सिक्ने क्रमको सुरुवात गर्दछ । दार्शनिक ईमर्सनले भनेका छन्– “आमाले जस्तो बनाउंछिन् मानिस त्यस्तै बन्छ”। अर्थात् आमालाई एक कुशल कुमालेको रुपमा बुझ्न सकिन्छ जस्ले कांचो माटो रुपी बालक लाई एउटा सुन्दर र आकर्षकरुप प्रदान गरि योग्य बनाउंछिन । यसैबाट नारी शिक्षाको महत्व प्रष्ट हुन्छ ।

लेखक – मुरारीराज मिश्र

महिलाहरुले घर बाहिर नै निस्कनु हुंदैन भन्ने सामाजिक सोच रहेको तत्कालिन समयमा “एक पुरुषलाई शिक्षा दिनु एकजनालाई शिक्षित पार्नु हो तर एक महिलालाई शिक्षा दिनु पुरै परिवारलाई शिक्षित पार्नु हो” भन्ने भावनाले प्रेरित भई, “जनताहरु शिक्षित भएमा आफुहरुको शासन धेरै टिक्दैन तसर्थ विद्यालय खोल्नु उचित हुन्न भन्ने आफ्ना भाई भारदारहरुको सुझावको वेवास्ता गर्दै” तत्कालिन राणा प्रधानमन्त्री पद्मशम्शेर जवराले आफ्नै निजी जग्गा र भवनमा बिक्रम सम्वत २००४ सालमा स्थापना गरेको (पछि सरकारी स्वामित्वमा हस्तान्तरण भएको) पद्मकन्या उच्च माद्यमिक बिद्यालय देशकै सवैभन्दा पुराना बिद्यालयहरु मध्येको एक विद्यालय हो । स्थापनाकालमा यसको सञ्चालन दरवार हाई स्कूलको माथिल्लो तल्लामा भएको भएतापनि २००४ सालमा यस विद्यालय लाई हालःको स्थानमा सारिएको हो । जुन कुरा विद्यालयमा रहेको शीलालेखमा उल्लेखित छ ।

आफ्नो स्थापनाकाल देखि हालः सम्म हजारौ योग्य र सक्षम नारीजनशक्तिहरु उत्पादन गरि राष्ट्रलाई समर्पित गरिसकेको यस विद्यालयले नारी शिक्षाको क्षेत्रमा दिएको योगदान अतुलनीय छ । यस विद्यालयको पहिलो प्रधानाध्यापक वानी हाजरा नामक भारतीय महिला थिईन् भने त्यस पछि क्रमशः देवीप्रसाद रिमाल, तीर्थप्रसाद ढुङ्गाना, पुरन बुढाथोकी, तुलसीबहादुर सिंह, ईश्वरराज अर्याल, गौरीप्रसाद राजभण्डारी, निलमप्रभा शिवाकोटी, शारदा श्रेष्ठ, ईश्वरप्रसाद सापकोटा र राधा ढुंगानाले यस विद्यालयमा प्रधानाध्यापकको रुपमा योगदान गरि सक्नु भएको छ भने चार वर्ष अघि देखि रीता तिवारी प्रधानाध्यापकको रुपमा विद्यालयको शैक्षिक उत्थानमा सक्रिय र समर्पित हुनुहुन्छ ।

एक पुरुषलाई शिक्षा दिनु एकजनालाई शिक्षित पार्नु हो तर एक महिलालाई शिक्षा दिनु पुरै परिवारलाई शिक्षित पार्नु हो”

यसै गरि, अंगुरवावा जोशी, भुवन सिंह, पुण्यप्रभादेवी ढुङ्गाना, प्रा.आनन्ददेव भट्ट, डा.तुलसीप्रसाद भट्टराई, भद्राकुमारी घले, प्रा.सीताराम अधिकारी, प्रा.डा. बिष्णुहरि नेपाल र राजराजेश्वरी सिंहजस्ता बिद्वान–बिदुषीहरुले अध्यक्षको रुपमा बिद्यालयको बिकासमा महत्वपूर्ण योगदान दिनु भएको छ । शिक्षा ऐनको संशोधन लागू भए पश्चात शिक्षाविद् प्रा. सुनिलकुमार पौडेलको अध्यक्षतामा हालै विद्यालय व्यवस्थापन समिति गठन भएको छ । यस बिद्यालय आजको अवस्थासम्म आईपुग्नुमा विद्यालयको बिकासमा तत्कालिन सहायक प्रधानाध्यापक माधवप्रसाद अर्यालले भवन लगायत अन्य भौतिक संरचना र शैक्षिक उन्नतिमा पुर्याउनु भएको अद्वितिय योगदान पनि उल्लेखनीय छ ।

आफ्नो स्तरोन्नति गर्ने क्रममा गतः २०६४ साल देखि यस विद्यालयले शिक्षा, मानविकी र व्यवस्थापन बिषयमा उच्च माद्यमिक कक्षा सञ्चालन गर्दै आएको छ । छात्राहरुलाई प्राविधिक शिक्षा दिने उद्धेश्यले यसै बर्ष देखि शिक्षा बिभागको स्वीकृतिमा कक्षा ९ बाट सिभिल ईञ्जिनियरिङ्ग बिषयको पढाईको थालनी गरेको छ भने स–साना नानीहरुको लागि शिशु कक्षाको समेत यहां व्यवस्था छ । आगामी शैक्षिक बर्ष देखि के.जी. कक्षा सञ्चालन हुँदैछ । कक्षा ३ सम्म ग्रेड टिचिगं गराईन्छ । विद्यार्थीहरुको समग्र क्षमता विकासको लागि विद्यालयमा स्काउट, जुनियर रेड्क्रस, ईको क्लव र बाल क्लव जस्ता सामाजिक संस्थाहरु समेत सञ्चालित हुंदै आएका छन् । छात्राहरुको सुविधाको लागि भारतीय राजदुतावासको करिव ४ करोडको आर्थिक सहयोगमा जिल्ला बिकास समितिको कार्यालयको रेखदेखमा विद्यालयहातामा सांढे तीन तल्लाको ४४ कोठे महिला छात्रावास भवन हालः निर्माणाधिन रहेको छ ।

राजधानी काठमाण्डौंको मुटु डिल्लीवजारमा, आफ्नै करिव १३ रोपनी जग्गा र तीन ब्लकमा बिभाजत २ तल्ले भवनहरु सहितको यस बिद्यालय, विकासका पर्याप्त पूर्वाधारहरु जस्तैः सडक, सञ्चार, सुरक्षा, स्वास्थ्य, शिक्षा र यातायात लगायतका सम्पूर्ण सुविधा उपलव्ध भएको स्थानमा अवस्थित छ । देशका बिभिन्न भाग बाट राजधानी आएका सवै जात–जाती, संस्कृति, भाषा र रहन–सहन भएका करिव एकहजार छात्राहरु (शिशु कक्षा देखि १२ कक्षा सम्म) अध्ययनरत रहेका यस बिद्यालयका छात्राहरु मध्ये करिव १० प्रतिशत छात्राहरु मात्र आर्थिक रुपले सक्षम भएको पाईन्छन् भने, करिव ४० प्रतिशत मध्यमस्तरका र ५० प्रतिशत विपन्न तथा निम्नवर्गका भएकाले अरुको आश्रयमा रहि आफ्नो श्रम द्वारा मुस्किलले जिविकोपार्जन गर्ने वर्गमा पर्दछन् ।                                           यस्ता वर्गका छात्राहरु, (जो बिद्यालय शिक्षाको लक्षित वर्ग भित्र पनि पर्दछन्) लाई अहिलेको समयानुकूल शिक्षा प्रदान गरि उनीहरुमा समय संगै अघि बढ्न सक्ने क्षमता, योग्यता, र शीपको बिकास गर्नु अत्यावश्यक भएको कुरा विद्यालयले महसूस गरेको छ । त्यसैले “बर्तमान समयमा नारीलाई शिक्षित मात्र पारेर पुग्दैन योग्य, सक्षम, स्वावलम्वी र आत्मनिर्भर समेत बनाउनु पर्छ जस्को लागि प्राविधिक शीप र शिक्षा दिनु पर्छ । नारी शिक्षित भए पुरा परिवार शिक्षित हुन्छ, शिक्षित परिवार मिलेर समाज र समग्र राष्ट्र नै शिक्षित बन्छ” भन्ने उद्देश्यले प्रेरित भई आफ्नो सिमित आर्थिक श्रोत र साधनको अभावको वावजुद पनि बिद्यालयले छात्राहरुलाई आधुनिक प्रविधिको ज्ञान दिने उद्देश्यले कम्प्यूटर शिक्षाको कार्यक्रम सञ्चालन गरेको छ ।

बिद्यालयको आफ्नै भवन, पर्याप्त कोठा र कम्पाउण्ड भएको भए तापनि सिमित र अपर्याप्त श्रोत–साधनको कारणले गर्दा, विद्यालयले उचित र आधुनिक प्रविधि तथा चाहे जति शैक्षिक सामाग्रीको व्यवस्था गर्न सकेको छैन् । विद्यालयमा शिशु कक्षा देखि १० सम्म मासिक पढाई शुल्क लिने गरिएको छैन् । तर यति हुंदा हुंदै पनि विद्यालयले कुनै माशिक शुल्क बिना नै मा.वि. तह सम्म सरकारी पाठ्यक्रम बाहेक अंग्रेजी, गणित र कम्प्यूटर बिषयका थप पुस्तकहरु पढाउंदै आएको छ । र कक्षा ९ सम्म नेपाली तथा अंग्रेजी दुवै माध्यममा पढाईने गरिएको छ जुन एउटा महत्वपूर्ण पक्ष हो ।

आगामी दिनमा आफ्ना विद्यार्थीहरुलाई गुणस्तरीय र जीवनोपयोगि शिक्षा प्रदान गर्नमा विद्यालय सफल होस्, स्थापनाको ७० औं बर्ष प्रवेश को अवसरमा समस्त बिद्यालय परिवारहरुमा शुभ–कामना ।

(लेखक, २०४१ साल देखि पद्मकन्या विद्याश्रम मा.वि.मा कार्यरत हुनुहुन्छ)
ईमेलः [email protected]

प्रकाशित : बुधबार, माघ १९, २०७३१३:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

“आखिर कहिलेसम्म श्रीमतीहरुले जिऊँदै जलिरहनु पर्ने हो ?” आफ्नै श्रीमानबाट