कत्तै एक गेडा चामल छैन्, कत्तै राख्ने ठाउँ छैन

हेमन्त केसी                                                                                                                             पुस, ९ जाजरकोट । यहाँको सदरमुकाममा रहेको नेपाल खाद्य संस्थानमा चामल बिक्री हुनसकेको छैन । बजारमा पाइने चामल र संस्थानमा पाइने चामलको मूल्य एकै भएपछि चामल बिक्री नभएको संस्थानले जनाएको छ । गाउँका खाद्य डिपो भने रित्तै छन् ।                                                                                                                           जिल्लाका नायकवाडाको घाट, पजारुको घोगी र दसेराका खाद्य अहिले रित्तै छन् । ढुवानी जिम्मा लिएका ठेकेदारले समयमै डिपोमा चामल नपु¥याउँदा यस्तो अवस्था आएको हो । गाउँका स्थानीयवासीले संस्थानले बिक्री गर्ने सहुलियतको चामल पाउन सकेका छैनन् । सदरमुकाम खलङ्गामा रहेको संस्थानको गोदाममा बिक्री नहुँदा दुई हजार १७२ क्वीन्टल चामल मौज्दात छ । चालू आर्थिक वर्षमा ३०० क्वीन्टल चामल मात्र ढुवानी भएको छ । चालु आवका लागि स्वीकृत तीन हजार १०० क्वीन्टल चामल ढुवानी हुन बाँकी नै रहेको संस्थानले जानकारी दिएको छ ।

सबै स्वीकृत चामल आएमा राख्ने ठाउँको समेत समस्या हुने संस्थान प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा जिल्लाका तीन डिपोमा भने चालु आवमा चामल पुग्न सकेको छैन । नायकवाडा खाद्य डिपोमा चामल ढुवानी गर्ने जिम्मा लिएका लक्ष्मण निर्माण सेवाका भक्तबहादुर बस्नेतले चालु आवमा तीन क्वीन्टल मात्र चामल ढुवानी गरेका छन् । नायकवाडामा माग अत्यधिक रहे पनि ठेकेदारले समयमा चामल ढुवानी नगर्दा समस्या भएको स्थानीय प्रेम शाहीले बताउनुभयो ।

ठेकेदारलाई डिपोमा चामल लिन ताकेता गरिए पनि कतिपयले अटेरी गर्दा समस्या भएको खाद्य संस्थान प्रमुख धर्मबहादुर बस्नेतको भनाइ छ । उत्ता दसेरा र पजारु खाद्य डिपोमा खाद्यान्नको अत्यन्त माग भए पनि गत वर्ष ढुवानीको जिम्मा लिएका विकेन्द्र कन्स्ट्रक्सनएन्ड विकेन्द्र सप्लायर्सले ताकिएको दुई हजारमध्ये १०० क्वीन्टल मात्र ढुवानी गर्दा स्थानीयवासीले चामल खाना पाएका थिएनन् । यी दुई डिपोका लागि संस्थानको अञ्चल कार्यालय नेपालगन्जले ढुवानी गराउँदै आएको छ ।

चालु आवमा पनि दसेरामा खाद्यान्न ढुवानी जिम्मा लिएको आइडी सप्लायर्स कोहलपुर– ४ बाँकेले चामल ढुवानी नगरेको खाससंस्थानले जनाएको छ । त्यस्तै पजारुका लागि पहिलो पटक खोलिएको बोलपत्र अस्वीकृत भएपछि पुनः खोलिएको र केही दिनमै ढुवानीकर्ता छनोट हुने अञ्चल कार्यालय नेपालगञ्जका प्रमुख मोतीराज ज्ञवालीले बताउनुभयो । दसेरामा तत्काल चामल ढुवानी गर्न संस्थानले सप्लायर्सलाई ताकेता गरिरहेको उहाँले जानकारी दिनुभयो । संस्थानले चारवटै डिपोमा एक ,एक हजार क्विन्टलका दरले चामलको कोटा निर्धारण गरेको छ । तर, सदरमुकाममा गतवर्षकै चामल बिक्री नभएपछि चार हजार क्विन्टल कोटाबाट तीन हजार एक सयमा सीमित भएको छ ।

जिल्लाका सवै ठाउँमा यातायात सुविधा नपुगेका कारण यहाँका स्थानीयले भनेको समयमा खाद्यान्न ढुवानी गर्न मुस्किल छ । जिल्ला सदरमुकाममा जतिसुकै चामल थन्किएपनि गाउँमा भने सधै खाद्यान्न अभाव नै हुँने गरेको छ । सिचाई योग्य जमिन कम , वर्षेनी उत्पादनमा आएको गिरावटले गर्दा यो समस्या आएको हो । रासस

प्रकाशित : शनिबार, पुष ०९, २०७३१४:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सामाजिक कार्यमा तडक–भडक : एक बिकृति