यात्रा अनुभव: ईश्वर छन !

रामु ओली
रामु ओली

तिहारको भोलि पल्टै घर छोडेर हिंड्नु पर्दाको नरमाइलो मनमा छदैथियो । देउसिभैलो बाट उठेको रकमले साथिहरु पोखरा भ्रमणको तयारी गर्दै थिए । आफू घुमन्ते न परियो , दुइचार टोलिको भैलिमा हाजिर लाउदै हिडेको थिए । निम्तो नआउने कुरै थिएन । टिकाको दिन अन्तिम देउसी खेल्दा नै सल्लाह भएको थियो , पोखरा जाने ।

एउटा भैली टोलिको त भोलि नै पार्टी छ  , गाउकै खोलामा । खसी काट्ने रे , टन्न दारु खाने र गाउको चोकमा आएर रातभरि नाच्ने । साथीले फोन पनि गरिसकेको थियो ।

तर मलाइ त्यसमा खासै दिलचस्पी थिएन । सबै डाङ्ग्रा मात्रै , के रमाइलो हुनु !!! मैले आउदैन होला भनेको थिए , हिजो मात्रै ।

झुटनै भए पनि केही बोलीहरु पूरा हुन्छन भनेको सुनेको थिए । त्यस्तै भयो । अकस्मात साच्चिकै काम पर्यो , एक महिनाको लागि नेपालगन्ज छोड्नै पर्ने भयो ।

यहि कुराले खिन्नता छायो । बाकी भैली टोलिको पार्टी र भ्रमणको खासै वास्ता थिएन । तर पोखरा जाने टोलि संग जान नपाउने कुराले चाहिँ मनमा खिन्नता छायो , टाउको गोल गोल घुमिरह्यो , चक्करनै आए झै ।

सधै पोखरा जादा दिक्क लाग्थ्यो , त्यति लामो बसको यात्रा , सोच्दैमा बोमिट आउला झै हुन्छ , बसमा त चार पाँचवटा पोलेथिन ब्यागनै भरिन्थ्यो , गरेका बोमिटले । बसका खलासी र कन्डक्टर नै आजित हुन्थे ।

भैली टोलि संग जान नपाउदा भने मन खिन्न थियो । खिन्नताको कारण पनि थियो । कारण भने उहीँ न हो ! माया

माया पनि के भन्नू भैलिमै हो पहिलो चोटि देखेको । र बोलेको पनि , त्यस्तै तीन दिनमा पाँच मिनेट जति

 मान्छेहरु लभको लागि युद्ध लडे रे !, घर परिवार छोडे रे ! आकाशको तारा र चन्द्रमा त झार्न पछि परेनन । म पनि त त्यही मनुष्य जाती मै पर्थे , यति खिन्नता नआउने कुरै थिएन । त्यो पनि एकोहोरो माया । केही गरि पोखरा जादा पट्याइहाल्छु कि भन्ने आशा थियो । साथीहरूले सिक्वाइन्स मिलाइदिन्छु पनि भनेका थिए । त्यसैले पनि अलि धेरै नै आशाबादी थिए । तर आशा निरासामा बदलियो , यहि आजको यात्राले ।

पुष्पलाल चोकमा गाडी लागिरहेको थियो । गाडी स्टाफहरु सुर्खेत , दैलेख , बुटवल भन्दै कराउदै मान्छेका झोलाहरु समाउनै आउथे  । खसिबाख्राको बजार जस्तो ।

तानातान गर्ने गाडी स्टाफहरु , झोला बोकेर लुखुर लुखुर गरेको मलाइ देख्दा मुर्गानै सोचे होलान । सबै झम्टिनै आए ।

” होइन भाइ म सुर्खेत जाने हो ” – भने पछि भने बाकी सबैले छोडे । तर सुर्खेत हिंड्नै लागेको गाडिको स्टाफले भने लोट्री नै परे झै नाक मुख चुमुक्कै पार्यो , गुटखा खाएर खैरो बनाएको दात देखायो । मेरो झोला उठायो र भन्यो ” जाउ दाइ , अब हिडिहाल्छ “

उ यसरी भन्दै थियो कि , मानौ उ मलाइ नै कुरेको थियो ।

” तर भाइ … सिट ? “

” तपाईं चिन्तै नमान्नुस , अगाडी नै बस्नु होला , केटी संग बस्ने हो भने पनि खाली छ , राम्री छिन दाइ , बस्ने हो ?

” भयो भाइ जो संग बसाय पनि बसाउ तर , आन्टिहरु संग भने बसाउने काम नगर ।”

” किन दाइ ? आन्टिहरु संग त झन मजा आउछनि !”

उ यस्तै के के बोल्दै थियो । मलाइ भने आन्टी संग बस्नु सजाय भन्दा कम लाग्थेन । अझ मोटि परिन भने त सत्यानास नै हुन्थ्यो पुरै यात्रा ।

आरामले सिटमा नबसौ भने आफुलाइ दुख हुने , आरमले बस्ने होर , आन्टिहरुको जिउले सिटनै कहाँ बाकी हुन्थ्यो र ! त्यसैमा केही गरि छुइयो भने अर्को बखेडा खडा गर्छन , हातपातको आरोप पनि नआउला भन्न नसकिने ।

अन्तिम तिरै भए पनि दुबै सिट खाली थियो , त्यही बसायो । तर ढुक्क हुने ठाउँ भने थिएन । एउटा सिट खालिनै थियो , जो पनि आउन सक्थे । म भने केटानै आउन भनेर प्राथनानै गरे ।

केटा बसेको सिटमा  राम्री केटी आउने चान्स कमै हुन्थ्यो । आए पनि कि आन्टिनै आउथे कित बच्चाको झाम्टाझुम्टी बोकेर दिदिहरु नै आउथे । साथमा मामा भन्दै काखमा बस्ने भान्जा भान्जी बोनसकै साथ । त्यो भन्दा त केटानै आएको राम्रो । केही असजिलो गर्यो भने पनि आँखा तरे पुग्ने ।

तर मेरो किस्मत पनि के कम थियो र ! पोखरा जान नपाउने कुराले खिन्नता महसुस गरेको मन लाई खुसी पार्न , पोखरा जाने कारण नै आफ्नो सिटमा बसाई दियो ।

” भैलीमा त यति सारी राम्री थिइनन् , एक्कासि यति बिघ्न किन सुन्दर ” , मनले भन्दै थियो ।

आखामा गाजल दलेकी , फिक्का हरियो चुरिदार सुट , शरिरमा टिपिक्क मिलेकै थियो ।  झरना बगेझै लाग्ने सिल्की कपाल र पतलो मिलेको ओठको समिश्रणले उनलाइ परि या अप्सराको उपमा दिन , मेरो मनलाइ  कुनै समय नै लागेन । अझ उस्तै गोरो छाला , एकछिन त यस्तो लाग्यो  – उनी यो बसमा बसेर गल्ती गर्दै छिन , यिनी त आफ्नो वायु पंखले उड्दै जानू पर्ने हो । यहाँ फगतका धुलो खाने उनको भागमा होइन ।

फेरि सोच्यो त्यही मनले -” मेरो लागि नै आएकी होलिन , सायद ईश्वरले मेरो खिन्नता बुझे जस्तो छ , त्यसैले त उनै परिलाइ म संगै पठाए । मेरो अधुरो प्रेमलाइ पूरा गर्न । ”

लाग्यो ईश्वर साच्चिकै छन , कसले भन्छ , ईश्वर छैनन्  भनेर ? एक्कासि नास्तिकहरु प्रती रिस भरिएर आयो ।

एक धन्यवाद त बन्छ , बन्छ ।

बसको छत तिर फर्के र मनमनै धन्यवाद चढाए । उनै ईश्वर लाई ।

 

प्रकाशित : बिहिबार, कार्तिक ०४, २०७३०१:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवेकसिल शक्ति अबको बिकल्प : चेतनाथ निरौला