एक पत्रकारले दशै नजिकिदै गर्दा गाउँका आमा दीदी र भाउजूहरुका नाममा लेखेको पत्र

आदरणीय आमा, दिदी , भाउजू
सादर ढोग, प्रणाम
यता म आराम छु, त्यता हजुरहरुलाई पनि यसै मुताबिक होला भन्ने आशा लिएको छु । खासै लेख्नुपर्ने बिशेष सुसमाचार त केही पनि थिएन दशै नजिकीदै गर्दा हजुहरुको याद र चिन्ताले सताइरहेकोले खाम बन्दी नगरिकनै एउटा यो पत्र लेखेको छु । पेसाले म पत्रकार रेडियोको जागिर छ समाचार लेख्दै पढ्दै रिपोटिङ्ग गर्दै गर्दा दिन बिति रहेका छन् । अब त दशैँ पनि नजिकियो है । गाउँमा मुग्लान पसेकाहरु पनि आए होलान् अनि कति आउँदै होलान् बिस्तारै बिस्तारै गाउँघर पनि रमाइलो हुँदै गएहोला ।
नेपालीहरुको महान पर्व दशैँ नजिकिँदै गर्दा ग्रामीण भेगमा घर पोत्नेको चटारो पनि अबत शुरु भइसकेहोला । तराईको तुलनामा पहाडी जिल्लामा अझ बढी धुमधाम छ होला । दसैं, तिहार र गौरालगायतका पर्वमा रातो माटो र सेतो कमेरोले घर लिपपोत गर्ने, कतै कतै पहेँलाे माटाेले लिपेर घर चिटिक्क पार्ने पूरानो चलन अझै पनि धेरै गाउमा उस्तै छ है । तर दुखको कुरा यही चलनले वर्षेनी कैयौंको ज्यान लिने गरेको छ अहिले पनि प्रमुख समस्या बनेको छ ।
खासगरी घर लिपपोतका लागि रातो र चिम्ट्याइलो माटो खोज्दा पहाडी जिल्लामा कैयौंले ज्यान गुमाउँछन् । यो पङ्तीकारले रेडियोमा वर्षेनी यस्ता समाचार पढेको छ । समाचार पढ्दा नजाती लाग्छ । दशैँ लाग्दा अनि नयाँ वर्ष आउने बेला घरपोत्ने माटो खन्दा वर्षेनी दर्जनौको मृत्यु हुने गरेको समाचार आउँछ । सायद यसपाली पनि त उस्तै होला । फेरी कति त्यस्ता समाचारहरु पढ्नु पर्ने हो लेख्नुपर्ने हो ?
देशका पहाडि जिल्लामा वर्षेनी यस्ता घटना हुने गरेका छन् । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । सुदूरपश्चिममा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर प्रत्येक वर्ष १०/१२ जनाको मृत्यु हुने गरेको तथ्यांक छ । मध्यपश्चिम, पश्चिम र पूर्वका जिल्लामा पनि उस्तै छ । आज पनि वर्षेनी दर्जनौले यसरी ज्यान गुमाउन बाध्य छन् ।
बर्षेनी विकराल समस्याका रूपमा देखिन थाले पनि यसको रोकथामका लागि स्थानीय प्रशासन वा प्रहरीबाट अहिलेसम्म खासै पहल भएको देखिँदैन । ग्रामीण भेगमा रहेका सामुदायिक वन तथा अन्य संघसंस्थाले पनि यस विषयलाई गम्भीरतासाथ नलिँदा समस्याले विकराल रूप लिँदै गएको छ ।
मध्य तथा सुदुर पश्चिमाका पहाडी जिल्लामा आफ्ना लागि मात्रै नभई बेचबिखनका लागि पनि रातो माटो खन्ने चलन रहेछ । त्यसैले पनि दशैँ र नयाँ वर्ष नजिकीदै गर्दा सधै जसो सामुदायिक वन र बाँझो जमिनमा कता राम्रो माटो पाइन्छ भन्दै खोज्दै महिला र बालबालिकाहरु लर्काे लागेर जान्छन् भन्ने सुनेको छु । मेरो गाउँ जिल्ला तिर पनि त्यस्तै हो आमा, दिदी, बहिनी अनि भाउजू, फूपुहरु नै माटो लिन जानुहुन्छ । भन्छन् पहाडमा माटो खन्दै जाँदा जतिभित्र पस्यो त्यति राम्रो र चिम्ट्याइलो निस्कन्छ रे । त्यही भएर सुरुङ जस्तै बनाएर माटो खन्ने गरिन्छ ।
संस्कृति, परम्परा र ग्रामीण भेगको गरिबीले निम्त्याएको समस्या भएकाले समाधान गर्न निकै चुनौती छ । प्रहरीले यसै भन्छ, माटो खन्न रोक लगाउन पनि मिल्दैन । तर वर्षेनी हुने यस्ता घटना नियन्त्रणका लागि जनचेतना बाहेक अरु के नै बिकल्प छ र ? के नै पो गर्न सकिन्छ र ? त्यसैले मैले दशै नजिकिँदै गर्दा आज यो पत्र लेखेर आग्रह गरेको छु । माटो खन्न जाँदा साह्रै ख्याल गर्नुस है । सकेसम्म त जाँदै नजानुस् ।
हुन त आमा, दीदी, भाउजु अनि फुपू
मैले तपाईँको घरको अवस्था के छ त्यो बुझ्न नसकुँला देख्न नसकुँला तर खासै महङ्गो पनि पर्दैन बजारमा आजकल रातो माटो र कमेरोको बिकल्पमा गेरु चुना र लगाएतका रङ्गहरु पाइन्छन् । बजारबाट त्यही ल्याएर घर लिप्नुस है । होइन बजार टाढा छ भने पनि किन्न जाने अवस्था छैन भनेपनि माटो नै लिन परे सजिलो ठाउँमा अनि नजिकै जानुहोला बेस्सरी राम्रो खोज्जे बहानामा यस पटकदेखि सुरुङ्ग जसरी नखन्नु होला, एक्लै नजानुहोला, टाढाको बन एकान्त ठाउँमा पनि नजानुहोला कति पटक कति ठाउँमा बेलैमा उद्धार हुन नसक्दा पनि यसरी माटो खन्दा पुरिएकाहरुको ज्यानै जाने गरेको छ ।
तपाईलाई थाहा छ पोहोर साल पनि धेरैले यसै गरी ज्यान गुमाएका हुन् । नुवाकोट खड्गभञ्ज्याङ गाविस–३ फिर्केप कोटकी ६८ वर्षीया जुनकिरी थापामगरले पोहोर साल दशैका लागि घर पोत्न घरनजिकै रहेको खानीमा माटो झिक्न जाँदा ढिस्कोले पुरिएर ज्यान गुमाउनु भएको थियो । उता बझाङमा ३ जना महिलाको माटोको ढिस्कोमा पुरिएर ज्यान गएको थियो । घर पोत्नका लागि माटो खन्न गएका खिरागडी २ की ४० वर्षिया कान्तामती कार्की, २८ वर्षिया विष्णादेवि पन्त र ३६ वर्षिया पशुपति कार्कीले पनि ज्यान गुमाएका थिए । बैतडीको श्रीकोट–६ सिल्लेगाडाकी २३ बर्षीया पशुपति भुलको पनि माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
गुल्मी हुँगाकी २५ वर्षे चम्पा परियारको पनि घर लिप्नमाटो लिन जाँदा ढिस्कोले पुरेर ज्यान गएको थियो । यी त प्रतिनिधि घटना मात्र हुन् वर्षेनी यस्ता घटना त कति हुन्छन् कति । उता सिराहामा पनि घर लिप्न भनेर माटो लिन गएको सुखीपुर नगरपालिका–६ सिलौरापछवारीकी ३४ वर्षीया सञ्जीना खातुन र ३४ वर्षीया छेकनी मुखियाको मृत्यु भएको थियो । उदयपुरको त्रियुगा नगरपालिका–१३ हाडेटारकी शारदा भट्टराईले पनि दशैमा घर लिप्ने माटो लिन गएका बेला ज्यान गुमाउनु परेको थियो ।
यी बाहेक यस्ता कति छन् छन् कति ती घटना बारे सुनाई साध्य छैन । सधै नेताको भाषणको समाचार पढ्दा र रिपोटिङ्ग गदा वाक्क लागेको बेला यस्ता समाचारले झन् मन धक्क भएर आउँछ । पेसा यही छ धर्म निभाउनै पर्‍यो मन रोए पनि समाचार पढ्नु पर्छ । मन नलागेर के गर्नु चाड पर्वका बेला हुने दुर्घटनाका समाचारले निकै मर्माहत बनाउँछ ।
आशा छ यसपटक यस्ता दुर्घटनाको समाचार पढ्न पर्ने छैन बिगतका वर्षमा जस्तो । हुन त कति घर पक्की बनेका छन् गाउँघर तिर । अझै पनि बाँकी पुराना घरको परम्परा र समस्या उस्तै छ । कति समाचार बने कति बनेनन् । समाचार नबनेका कति छन् कति । यसबाहेक घर लिप्दा भर्‍याङबाट लडेर कति घाइते हुन्छन् । कति घरको धुरीमा लिप्न जाँदा लड्छन् र अङ्गभङ्ग हुन्छन् तिनका कुनै लेखाजोखा नै छैन । त्यसैले भन्छु माटोको बिकल्प खोज्नुस है अनि भर्‍याङबाट लडिएला ध्यान दिनुहोला । सक्नुहुन्न भने धुरीमा जाने जोड नगर्नुहोला । माटो लिन जानै परे साथी सँगीहरुसँग जानुहोला टाढा नजानुस एकान्तमा नजानुस बरु नजिकै जस्तो छ त्यसैलाई प्रयोग गर्नुस यत्ति भन्छु अरु जान्ने बुझ्ने हजुरहरु नै हुनुहुन्छ । हुन त मैले यसरी नभने पनि हुने थियो तर मनले मानेन खसखस लागि रह्यो दशै नजिकीदै गर्दा कमसेकम मैले यत्ति भए पनि सम्झाइदिन सके भने पनि, कसैलाई सतर्क र सचेत बनाउँन त सकुँला भनेर मात्रै हो ।
त्यसो त गोरखा, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, काभ्रे, धादिङ लगाएतका बिनासकारी गोरखा भूकम्पले प्रभावित प्रमूख १४ जिल्लामा अझै घर बन्न सकेको छैन । ब्यथा अर्कै छ फेरी । पिडा अर्कै छ । खैर जे होस दशै जसो तसो मनाउँला आफ्नो ख्याल गर्नुस् है । दशैमा घर लिपेर चिटिक्क पारौँला, रमाइलो गरौँला निधारभरी टिका लगाउँला अनि लिङ्गे पिङ्ग खेलौँला चचचहुइइइइइइइइइइइइइइ…..
भवदिय
युव मगर
नयाँ वानेश्वर, काठमाडौँ

letter-of-yuba-magar

प्रकाशित : आइतबार, असोज ०९, २०७३०९:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हामी कसरी स्वतन्त्र छौँ ?