खुसी

balkrishna-subedi
लेखक : बालकृष्ण सुबेदी

मानिस पनि प्रकृतिको एउटा अंश हो, त्यसैले त उ घुम्न, रम्न अनि स्पर्श गर्न चाहन्छ प्रकृतिलाई । सधैँ अनवरत रुपमा बहने नारायणीले चितवन र नवलपरासी लाई छुट्टाउने काम मात्र गरेको थिएन, दिउँसोको गर्मीमा शितलता प्रदान गर्नुको साथै सबैलाई आफ्नो अँगालोमा बाँधेर स्वर्गिय आनन्द पनि प्रदान गरिरहेको थियो ।
केहि समय अघिसम्म नारायणी किनारमा मान्छे देख्नको लागि मेला,जात्रा,महोत्सव आदि कुर्नुपथ्र्यो तर अहिले हरेक साँझ—बिहान दुवै बेला कुनै मेला, जात्रा, महोत्सवमा जत्तिकै मानिसको उपस्थिति देखिन्छ ।

आजकल मेरो देवघाट जाने क्रम बाक्लिएको थियो । पढाई अनि जागिरको व्यस्तताबाट थोरै फुर्सद हुनसाथ देवघाटतिर दगुरिहाल्न मन लाग्ने भईसकको थियो । म देवघाट जाँदा जहिले पनि आँपटारीतिर बाट गाडिमा नगईकन पोखरा बसपार्क बाट भित्र छिरेर नहर हुँदै बागेश्वरी निस्केर जाने गर्थँे । यो बाटो हिड्दा कत्तिको आनन्द आँउछ भन्नेकुरा नहर पारी नदि किनारमा रहेको सम्भावित पार्कमा उपस्थित युगल जोडिहरुको संख्याबाट पनि आँकलन गर्न सकिन्छ । देवघाट पुग्नुभन्दा अगाडि घाटतिर र बसपार्कतिर जाने गरि बाटो चिरिएको छ, ठिक त्यहिँ चोकको चौतारामा जोडिएको घुम्तिमा किराना पसल छ—चुरोट,सुर्ति,गुट्का खानेहरुका लागि उपयुक्त ठाउँ । हरेक पटक देवघाट जाँदा म त्यहि चौतारामा बसेर घाटतिर हेरेर घण्टौँसम्म सोचिरहन्थेँ अनि अचम्म लाग्थ्यो, मानिसकोे विचार र ब्यबहार देखेर ।

मानिस जन्मेपछि मृत्यु निश्चित छ । जब कसैको मृत्युपश्चात दाहसंस्कारका लागि घाटमा ल्याईन्छ, त्यतिबेला सबै मानिसले देखेको हुन्छ , भोगेको हुन्छ, एकदिन आफुपनि यसरीनै यहि बाटो हुदै यहि आउनुपर्छ भन्नेकुरा तर त्यसलाई आफैले व्यवहारमा ल्याउन सक्दैन । सत्य बोल्न सक्दैन । जाने, सके र भ्याएसम्म ठगिरहेको हुन्छ । झुट बोलिरहेको हुन्छ । आखिर त्यहि पैसाको लागि गरिरहेछ यो सबै । सबका सब दौडिरहेका छन् पैसा कमाउने दौडमा । दौडिरहन्छ सानोतिनो मर्काई, भचाई, र दुखाईमा पनि । जब खुट्टा भाँचिएर असहृय पिडा हुन्छ तबमात्र रोकिन्छ अनि अगाडि पुगेका साथिहरुलाई देखेर जीवनभर पछुतो मानिरहन्छ तर एकपटक पनि आफुभन्दा पछाडि रहेका लाखौँ मानिसहरुलाई हेरेर चित्त बुझाउन सक्दैन, यहि हो मानविय प्रवृति । जीवनमा नदौडिनुको विकल्प पनि छैन तर मेरो भन्नुको मतलव दौडिदा दायाँबायाँ अगाडि पछाडि हेरेर दौडियौँ, कोहि कमजोर छ भने सहयोग गरौ, सँगै लिएर दौडियौँ अनिमात्र प्राप्त गर्न सकिन्छ हामीले चाहेको खुसी, हामीले चाहेको आनन्द, यस्तै यस्तै सोचिरहन्थेँ ।

चौतारामा धुम्रपान, मद्यपानका अम्मलिहरुको बाक्लो उपस्थिति देखिन्थ्यो । पसले दिदीको व्यापार राम्रै चलिरहेको थियो । एकजना बुढा बा ले चुरोट एकतमासले तानिरहेका थिए । अरु मानिसहरु पनि आफ्नै सुरमा गफ गरिरहेका थिए । कसैको बिचमा चिनजान पनि थिएन, मतलव पनि थिएन । यत्तिकैमा एउटी बुढी आमा आईन्, चौतारामा कूनै चिज हराएजस्तो गरी खोजिरहिन् । बुढा बा ले गफ चुटिरहेका थिए, म भने बुढी आमाको व्यवहार नियालिरहेको थिँए । केहि समयपछि बुढा बा ले आफुले सल्काईरहेको चुरोट तिनै बुढी आमालाई दिए । बुढी आमा मुस्कुराईन अनि चौताराको कुनातिरको ठाउँ हातले पुछेजस्तो गरी सफा गरिन् । त्यसपछी चुरोटको आगो निभाएर चुरोटभित्रको सुर्तीजस्तो धुलो त्यहीँ भूँईमा निकालिन् अनि हातमा थुक लगाउँदै चाट्न थालिन् । म अचम्मित भएँ । चुरोट सल्काएर धुवाँ तानेको त देखेको थिएँ तर धुलो निकालेर चाटेको भने पहिलो पटक देखेको थिएँ । त्यसै गरी सबै चुरोट चाटेर भ्याईन–आमाले । एकछिनपछि १५–१६ बर्षे केटा बसपार्कतिर जाँदै थियो, बुढी आमाभन्दा करिब ५० मिटरजति हिँडेपछि फर्केर आयो र खल्तिबाट चुरोट निकालेर भन्यो “लिनुस आमा”। बुुढी आमाले “भो–भो पर्दैन लैजा” भन्दै थिईन तर पछि केटाले धेरै कर गरेपछि खुसि हँुदै लिइन् । समयसँग लड्डदा लड्डदै दक्ष भईसकेकी बुढी आमाले आफ्नो क्षणीक खुसी, आनन्द प्राप्तिको लागि मृत्युसँग सम्झौता गर्न देखाएको आतुरताले मलाई भने अचम्मित बनायो ।

म पनि झोलुङ्गे पुलबाट पारी गएँ । सधैँझै काली र त्रिशुलि बेजोडले सुसाईरहेका थिए । एकछिन हेरिरहेँ नदिको त्यो अटल साहस अनि अपार शक्तिलाई । साँझ पर्न लागिसकेको थियो त्यसैले हतार–हतार कोठातिर लागेँ । खाना खाएर सुत्ने बेलामा बुढी आमाको याद आईरह्यो । कामको व्यस्तताले ३–४ दिनपछि बुढी आमाको त्यहि चौतारामा व्यग्र प्रतिक्षा गरिरहेको थिएँ । एकछिनपछि आमा आईन अनि चौतारामा त्यसरिनै केहि हराएजस्तो गरि खोजिरहिन् तर यतिबेला त्यहाँ नत ति बुढा बा थिए नत त्यो केटा नै, थियौँ त केवल बुढी आमा, म र घुम्ति पसले दिदी । मलाई उनले चुरोट खोजेकि हुन भन्नेकुरा बुझ्न बेर लागेन, आफु त्यसको कट्टर विरोधी भएपनि कसैको खुसीको अगाडि झुक्न बाध्य भएँ अनि एक प्याकेट चुरोट किनेर दिएँ आमालाई । बुढी आमा त्यसरिनै कुनै ठुलै युद्घ जितेजस्तो गरी मुस्कुराईन् म भने चङ्गा भए, वडा आनन्द आयो । आमासँग धेरै कुराकानी गर्ने मन हुँदाहुँदै पनि साँझ पर्न लागिसकेकोले कोठामा फर्कन बाध्य भएँ । फेरी ५–६ दिनको अन्तरालपछि आमासँग जसरी पनि कुरा गर्ने निधो गरेर छिटोछिटो त्यहिँ चौतारामा घण्टौ कुँरे तरपनि आईनन् , त्यसपछि घुम्ति पसले दिदीलाई सोधेँ, उनले पनि २ दिनदेखी नदेखेको बताइन् । भोलिपल्ट फेरी कुरीरहेँ तरपनि आइनन् । हरेकपटक देवघाट जाँदा घुम्ति पसले दिदीलाई सोधिरहन्थँे , उनी कहाँबाट, किन, कसरी आईपुगिन् होला भन्ने कुरा चाँहि मनमानै रहिरह्यो ।

मानिसले गरेका हरेक कामको पछाडि उसको ईच्छाशक्ति लुकेको हुन्छ । खुसी, आनन्द प्राप्तिको लागि जीवनभर भौतारिरहन्छ मानिस । म पनि त्यसरीनै भौतारिएर हिँडेको मान्छे , त्यहि आनन्द प्राप्तिको लागि पद्यमासनमा बसेर घण्टौँसम्म आँखा चिम्लेर मन्त्र जपिरहेँ, साथीभाईहरुसँग प्रकृतिले भरिपुर्ण रमणीय ठाउँमा गएर थुप्रै रातहरु बिताएँ तर पनि तीनै बुढी आमाको मन्द मुस्कानमा पाएको जति आनन्द कहिँ पाउन सकिन अनि मैले सबैभन्दा बढी खुसी अरुलाई सहयोग गर्नुमा र अरुको खुसीमा रमाउनुमा हुँदोरहेछ भन्ने कुरा पनि तिनै आमाबाट सिकेको थिएँ ।

प्रकाशित : आइतबार, भदौ २६, २०७३०४:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी हुन्छ प्रहरी महानिरीक्षक बन्न ५ महिना पहिलेनै अस्वस्थ प्रतिस्पर्धा